वीरगन्ज महानगरपालिका- २ छपकैयाकी विष्णु लामालाई साउन १९ गते हल्का ज्वरो आएको थियो। उनी आफ्नी आमा र छोरीसँग बस्थिन्।
जनैपूर्णिमा परेकाले त्यो दिन उनी किनमेल गर्न बजार गएकी थिइन्। वीरगन्जमा गर्मी छ। गर्मी छल्न उनले चिसो पानी र कोक पिइन्। हल्का ज्वरो त छँदै थियो, त्यसपछि भने रूघा पनि लाग्यो।
चिसोले ज्वरो आएको होला भनेर विष्णुले नजिकैको मेडिकलबाट सिटामोल किनेर खाइन्। औषधि खाइन्जेल निको हुने, पछि फेरि ज्वरो आइरहने भयो।
विष्णुका भिनाजु रूपक सिंहका अनुसार सिटामोलले ज्वरो आउन नछाडेपछि उनी सिंगल नेपाल क्लिनकमा जाँच गर्न गइन्। उनका लक्षण हेरेर कोरोनाका लागि पिसिआर परीक्षण गर्न डाक्टरले सुझाए।
'क्वारेन्टाइनमा राखेर परीक्षण गर्न सुझाव दिए। राख्न तयार भएपछि भने डाक्टरले अहिले ठाउँ छैन, तराई हस्पिटल लैजानू भने,' रूपकले भने, 'त्यो क्लिनिकले त दबाइ पनि दिएन।'
पिसिआर परीक्षणको नतिजा हेरेर मात्रै औषधि दिन्छौं भनेकाले उनीहरूले अर्को ठाउँबाट एन्टिबायोटिक किने।
शुक्रबार दिउँसोसम्म विष्णुको अवस्था सामान्य नै थियो। तर बेलुका अचानक सास फेर्न समस्या भएपछि उनलाई राति १० बजे भिनाजु रूपक लगायतले टुकटुकेमार्फत एड्भान्स अस्पताल लगे। उनीहरू उक्त अस्पताल पुग्दा ११ बजेको थियो।
एड्भान्सले उपचार नहुने भनेपछि विष्णुलाई बयोधा अस्पताल लगियो। बयोधाका डाक्टरले कोरोना संक्रमण भएकाले उपचार गर्न नसकिने बताए। उनीहरू निराश हुँदै गण्डक हस्पिटल गए।
रूपकका अनुसार गण्डक अस्पताल पुग्दासम्म पनि विष्णु बोल्दै थिइन्। गण्डक अस्पतालले कोरोना संक्रमण पोजेटिभलाई मात्रै भर्ना गर्ने बतायो।
'त्यसपछि हामीले उनलाई तराई अस्पतालमा लग्यौं। त्यतिन्जेलसम्म पनि उनी सास फेर्न अप्ठ्यारो भयो भन्दै थिइन्,' उनले भने।
अटोलाई बाटोमै छाडेर रूपक तराई अस्पतालका डाक्टरसँग कुरा गर्न भित्र गए। अस्पतालमा खाली ठाउँ नभएको डाक्टरले बताए।
'बिरामीलाई गाह्रो भयो, आइसियू, इमर्जेन्सीमा खाली नभए अक्सिजन मात्रै भए नि लागाइदिनू,' उनीहरूले अनुरोध गरे।
डाक्टरले हात जाँच गरेर भने- यहाँ हुँदैन।
त्यसपछि विष्णुलाई भवानी अस्पताल लगियो। त्यहाँ पनि उनीहरूलाई भर्ना लिएन। अनि नेशनल मेडिकल कलेज गए।
नेशनलले बिरामीलाई हेर्दै नहेरी भन्यो- अक्सिजन छैन।
कुनै अस्पतालले पनि विष्णुलाई भर्ना नलिएपछि निराश भएका रूपकले छिमेकी साथी अजित भुजेललाई फोन गरेर समस्या सुनाए। अजितले नारायणी अस्पताल जान सुझाए र एक जना नेताको नम्बर पनि दिए। ती नेताको नाम अहिले रूपक सम्झिन्नन्।
नारायणी अस्पतालमा पुग्दा डाक्टर सुतिरहेका थिए। रूपकले डाक्टर र ती नेताको कुरा गराए। तर पनि नारायणी अस्पतालमा विष्णुको उपचार हुन सकेन।
नारायणीका डाक्टरले वीरगञ्ज हेल्थ केयर जान भने।
डाक्टरले भने बमोजिम उनीहरू हेल्थ केयरमा पनि पुगे। त्यहाँ १५ मिनेट बसे। त्यसपछि छिमेकी भुजेल र ती नेता आइपुगे। सबैले जति अनुरोध गरे पनि मेडिकलले उपचार गर्न मानेन। उनीहरूले फेरि विष्णुलाई गण्डक अस्पताल पुर्याए।
गण्डक अस्पतालपछि विष्णुलाई अर्को अस्पताल लगिरहनु परेन।
डाक्टरले नाडी छामे। विष्णुको प्राणै थिएन। त्यति बेला रातको २ बजेको थियो।
उनलाई कोरोना संक्रमण भएको ३ बजे थाहा भयो।
विष्णुको मृत्यु हुनुमा अस्पताल र डाक्टरको लापरबाही भएको पीडित परिवार बताउँछन्।
'यो सबै अस्पताल र डाक्टरको लापरबाहीले भएको हो। अहिलेसम्म वीरगन्जमा डाक्टरले उपचार गर्न नमानेर तीन जनाको ज्यान गइसकेको छ,' रूपकले भने।
विष्णुले स्कुल पढ्दा पढ्दै १५ वर्षको उमेरमा प्रेम विवाह गरेकी थिइन्। आफैं खुसी बिहे गरे पनि उनको वैवाहिक सम्बन्ध त्यति राम्रो भएन। छोरी ६ महिनाको पेटमा हुँदै आमासँग माइतमा आएर बसिन्। उनका श्रीमान अहिले विदेशमा छन्। तर उनीहरूको वास्ता गर्दैनन्।
विष्णुले आइडिया टिभी कम्पनीमा काम गर्थिन्। त्यसले घर भाडा, खान-बस्न खर्च चल्थ्यो। उनीहरू तीन जनाको जीवन सामान्य तरिकाले बितिरहेको थियो।
विष्णुलाई खास ठूलो रोग त थिएन। तर छोरी जन्मेपछि उनको महिनावारी रोकिएको रोकियै भयो। बेलाबेला नाक, कान र मुखबाट रगत आउँथ्यो। जँचाउँदा केही खराबी देखिँदैनथ्यो।
उनकै सहारामा बाँच्ने ५५ वर्षीया आमा अहिले विक्षिप्त छिन्। पाँच वर्षीया छोरीलाई आमाको मृत्यु भएको थाहा छैन। ममी खोइ भनेर सोधिरहन्छिन्।
'हामी आफैंले विष्णुको मृत्यु विश्वास गर्न सकिरहेका छैनौं,' रूपकले भने,'त्यो नाबालिका छोरीलाई के भन्ने, हामीहरूसँग जवाफ छैन।'