उपत्यकाकै अस्पतालमा लापरबाही
काठमाडौं उपत्यकाका केही अस्पतालहरूले कोरोना संक्रमितलाई दिइने खानामा लापरबाही गरेको पाइएको छ।
गत बिहीबार ललितपुरस्थित पाटन अस्पतालले संक्रमितलाई दिएको खानामा कीरा भेटिएको थियो। तर पनि संक्रमितले कहिलेकाहीँ यस्तै हो भन्ने सोचेर चित्त बुझाए। त्यसपछि फेरि खानामा प्लास्टिकको डोरी भेटियो।
'खानामा कहिले कीरा, कहिले डोरी भेटिएपछि कसरी खाने?,' ती संक्रमितले रोष पोख्दै सेतोपाटीसँग भने, 'मैले त खाना अहिले घरबाटै मगाउने गरेको छु। यस्तो लापरबाहीले त भोकै भइन्छ।'
सानेपास्थित स्टार अस्पतालले पनि खानामा लापरबाही गरेको पाइएको छ। अस्पतालले संक्रमितलाई दिएको खानामा टिनको टुक्रा भेटिएको छ। सोल्टी होटलको आइसोलेसनमा राखिएको संक्रमितलाई अस्पतालले दिएको खानामा टिनको टुक्रा भेटिएको हो।
अस्पतालले खानामा राम्रो व्यवस्थापन नगरेको संक्रमितहरूको गुनासो छ।
उपत्यका बाहिरका कोरोना संक्रमितको उपचार गरिरहेका अस्पतालहरूले पनि खानाको राम्रो व्यवस्थापन गर्न नसकेको गुनासो आइरहेको छ।
गत साता राजविराजस्थित गजेन्द्रनारायण अस्पतालको आइसोलेसनमा रहेका संक्रमितहरूलाई दिइएको खानामा कीरा भेटिएपछि संक्रमितहरू आक्रोशित बनेका थिए।
संक्रमितहरूले भने खानाको राम्रो व्यवस्थापन हुनुपर्ने माग गरेका छन्।
पाटन अस्पतालमै उपचाररत् अर्का संक्रमितले भने, 'सरकारले नै कोरोना संक्रमितले खानपिनमा राम्रो ध्यान दिनुपर्छ भनेको छ। फेरि सरकारी अस्पतालमै यस्तो हालत छ। मज्जाले खान पाइएन भने रोगसँग लड्ने शक्ति कसरी आउँछ?'
उनले खानासँगै अस्पतालमा चिकित्सा सेवा पनि राम्रो नपाएको गुनासो पोखे। अस्पतालमा डाक्टरहरू नियमित नआउने र आवश्यक परेको समयमा बोलाउँदा पनि तत्काल नआउने उनले बताए।
'कसैलाई केही पर्यो भने डाक्टर बोलाउनु पनि चिच्याउनुपर्छ झट्टै आइदिनुहुन्न,' उनले भने, 'अस्ति एक जना संक्रमित सास फेर्न गाह्रो भएर फत्र्याकफत्र्याक गर्दा पनि डक्टर एक घण्टापछि आउनुभयो।'
हामीले यसबारे पाटन अस्पतालका निर्देशक विष्णु शर्मालाई सोधेका छौं।
उनले घटनाबारे आफूलाई थाहा नभएको र यसबारे बुझ्ने बताए।
‘हामीले त राम्रै खाना दिनु भनेका छौं। कसरी त्यस्तो भएछ। ठीक छ म यसबारे बुझ्छु,’उनले भने।
स्टार अस्पतालको प्रशासनसँग कुरा गर्न खोज्दा सम्पर्क हुन सकेन।