कञ्चनपुरमा बोक्सीको आरोप लगाउँदै एक महिला र उनका श्रीमानको हत्या गरेको आरोपमा ४ जना पक्राउ परेका छन्।
साउन १६ गते राति एक बजे बेलौरी नगरपालिका वडा नम्वर ७ मा घनश्याम खाती र उनकी श्रीमती बेलुदेवी खातीको धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो।
पक्राउ पर्नेमा बेलौरी नगरपालिका वडा नम्वर ७ का ५३ वर्षीय प्रकाश ऐर, ३५ वर्षीय दिनेश राना, ३६ वर्षीय होरी राना र कृष्णपुर नगरपालिका वडा नम्बर २ का भर्रा भनिने ४५ वर्षीय रबि राना रहेका छन्।
पक्राउ परेका छिमेकी प्रकाश ऐरले बोक्सीको आरोप लगाउँदै रिसिबी राखी तन्त्रमन्त्र गर्ने नाममा भर्रा भनिने रबी रानासँग मिलेर दम्पत्तीको हत्या गरेको खुल्न आएको कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताए।
छोरो घरमा नभएको मौकामा योजनाबद्ध तरिकाले वृद्ध दम्पत्तीको हत्या भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक थापाकाे भनाई छ।
बेलुदेवीको घटनास्थलमै र उनका श्रीमानको कोहलपुर मेडिकल कजेलमा उपचारका क्रममा आइतबार राति मृत्यु भएको थापाले बताए।
उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।