भरतपुरमा कोभिड-१९ परीक्षण प्रयोगशालाको स्थापना भएको ४ महिनाभन्दा बढी भयो। २०७६ सालको चैत २० गते भरतपुर महानगरपालिका र भरतपुर अस्पतालको पहलमा यो प्रयोगशाला स्थापना भएको थियो।
स्थापनाको चार महिना बितिसक्दा पनि यहाँका प्राविधिक तथा कर्मचारीहरूले सरकारले दिने भनेको प्रोत्साहन भत्ता प्राप्त गरेका छैनन्। जबकी महानगरले आफ्ना सबै कर्मचारीहरूलाई जोखिम भत्ता उपलब्ध गराइसकेको छ।
प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले आफ्ना कर्मचारीलाई उपलब्ध गराइसकेको बताए। कोरोना अस्पताल र प्रयोगशालाका कर्मचारीलाई भत्ता दिने जिम्मेवारी महानगरको नरहेको उनको भनाइ छ।
यता सरकारले पनि असारको पहिलो साता नै प्रयोगशालाको नाममा ५० लाख रूपैयाँ पठाएको थियो। त्यसबाट फ्रन्टलाइनका प्राविधिकलाई प्रोत्साहन भत्ता दिने भनिए पनि उनीहरूले पाएका भने छैनन्।
'हामीले प्रोत्साहन भत्ता अहिलेसम्म पाएका छैनौं,'कोरोना प्रयोगशालाकी इन्चार्ज डाक्टर नितु अधिकारीले भनिन्, 'सरकारले पठाएको रकम कहाँ खर्च भयो मलाई थाहा छैन।'
प्रोत्साहन भत्ताका लागि सरकारले पठाएको ५० लाख रकमबाट के गरियो आफूलाई थाहा नभएको उनले बताइन्।
उनका अनुसार, स्वास्थ्य आपतकालिन तथा विपद् व्यवस्थापन एकाइले पठाएको पत्रमा उक्त बजेटले कर्मचारीलाई भत्तासमेत उपलब्ध गराउने उल्लेख गरिएको छ। तर भरतपुर अस्पतालले उक्त रकम प्रयोगशालाकै अन्य विषयमा खर्च गरिएको उल्लेख गरेको छ।
सरकारले उक्त रकमबाट कर्मचारीलाई तलब, ओभरटाइम भत्ता तथा प्रोत्साहन भत्ता उपलब्ध गराउने भनेको थियो। साथै अन्य अत्यावश्यकीय सामग्रीहरू खरिद गर्न पनि मिल्नेगरी त्यो बजेट प्रयोगशालाका लागि आएको थियो।
मन्त्रालयबाट प्रयोगशालाको लागि आएको बजेट प्रयोगशाला र अन्य सामग्री खरिदमा खर्च भएको भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले बताए।
उनका अनुसार सरकारले भरतपुर अस्पताल र यसअन्तर्गतको प्रयोगशालाका कर्मचारीहरूका लागि जोखिम भत्ता उपलब्ध गराउन २ करोड ३२ लाख रुपैयाँ निकासा गर्दैछ। अस्पतालका विभागीय प्रमुखहरूको बैठक राखेर भत्ता वितरणको विषयमा तयारी थाल्न भनिसकेको छ।
'उक्त रकम आउन ढिला भए पनि सोधभर्ना गर्नेगरी अस्पताल विकास समितिको बजेट खर्च गर्ने तयारी भएको छ,' उनले भने, 'प्राविधिकहरूले मसँग भत्ता नपाएको भनेर विरोध गर्नुभयो। उहाँहरूको चित्तबुझाउने काम हुन्छ।'
सुरूआती दिनमा विभिन्न निकायले स्वास्थ्यकर्मीका लागि निकै ठूला वाचा गरेका थिए। त्यसमध्ये भरतपुर अस्पताल आफैं र भरतपुर महानगरपालिकाले त तलबको २५/२५ प्रतिशत जोखिम भत्ता उपलब्ध गराउने घोषणा गरेका थिए। महानगरले ५० लाख रुपैयाँ बराबरको बीमा गरिदिने भनेर स्वास्थ्यककर्मी प्राविधिकहरूलाई बीमा फारम नै भर्न लगाएको थियो। भरतपुरमा प्रयोगशालाको स्थापना गरेको जस लिने महानगरले केही हप्तामै यहाँको जिम्मेवारीबाट हात झिक्यो। त्यसपश्चात भरतपुर अस्पतालले आफूअन्तर्गतको मानेर सञ्चालन गर्दै आएको छ।
नेपाल सरकारले घोषणा गरेको फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीका लागि २०० प्रतिशतसम्म कोरोना जोखिम भत्ताको कुरो त छँदै थियो। तर अन्य सामान्य कर्मचारीले धमाधम भत्ता बुझ्दा पनि आफूहरूले पैसा नपाएको प्राविधिकहरूको गुनासो छ।
प्रयोगशालाका डाक्टर र अन्य कर्मचारीको मुख्य चिन्ता भने भत्ताभन्दा पनि अर्कै छ। उनीहरू र प्रशासनबीच आएको मनमुटावका कारण आफूहरू निरास भएको उनीहरू बताउँछन्।
प्रशासनले आफूहरूलाई काम नगरेको भन्दै विभिन्न मिडियामार्फत् आरोप लगाउँदा आत्मसम्मानमा ठेस पुगेको एक प्राविधिकले बताए।
‘कुनै पनि सेवा सुविधा हामीले पाएका छैनौं। त्यही पनि हामी दिनरात मेहनत गरेर काम गरिरहेका छौं’,उनले भने,‘यी सब कुराहरूलाई बेवास्ता गरेर हाम्रो विषयमा अनर्गल प्रचार गरी आत्मसम्मानमा ठेस पुर्याउने काम भयो।’
अस्पतालले उनीहरूलाई शनिबारको सट्टा आइतबार बिदामा बस्न भनेको थियो। त्यहीअनुसार आइतबार बिदामा बसे। अनि प्राविधिकले कामै गरेनन् भनेर कारबाहीसम्मका कुरा सुनेपछि आफूहरू अचम्मै परेको ल्याब प्रमुख डाक्टर नितु अधिकारीले बताइन्।
‘तर एकाएक हाम्रो कारण काम नभएको भनेर समाचार आउन थाल्यो । मेसुलाई, प्रयोगशालाका प्रमुखलाई उल्लेख गरेर समाचार आएपछि हामी आश्चर्यचकित भयौं’, डा.अधिकारीले भनिन्, ‘प्रमुख जिल्ला अधिकारीले कामबाट हटाउँछौं भन्नुभयो भन्ने कुरा पो सुनियो।’
उनले अहिलेसम्म अस्पतालले भनेको जुनसुकै समयमा कामका लागि प्राविधिकहरू तयार भइरहेको भए पनि प्राविधिकका कारण समयमा काम नभएको आरोप लगाएर बदनाम गरिएको बताए।
२०७७ असार ३१ गतेसम्म निश्चित समय नतोकी दिन रात काम गर्दै आएका यहाँका प्राविधिकले त्यसयता भने शनिबार र सार्वजनिक विदाबाहेकका दिनमा कार्यालय समयमा मात्रै काम गर्दै आएको बताउँछन्।
भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.श्रीराम तिवारीको निर्देशनानुसार सूचना निकालेर तोकिएको समयमा काम गर्दै आएको प्रयोगशालाकी प्रमुख अधिकारी बताउँछन्। उक्त सूचना भरतपुर अस्पतालले आधिकारिक फेसबूक पेजमै राखेको छ। सोही सूचनाअनुसार नै प्रयोगशालामा शनिबार परीक्षणको काम बन्द गरेर संकलन र निर्मलीकरण गर्ने काम मात्र गरिएको थियो।
उक्त सूचनाअनुसार सधैंझैं गत शनिबार पनि बिदामा बस्ने तयारीमा प्राविधिकहरू थिए। तर शुक्रबार समुदायमा कोरोना संक्रमण फैलिएको विश्लेषण भएपछि भरतपुर अस्पतालको आग्रहमा प्राविधिकहरू शनिबार पनि काम गर्न तयार भए।
तर ल्याबका कर्मचारीले कामै नगरेको भन्दै सार्वजनिक भयो। जसका कारण प्राविधिक रूष्ट भएका हुन्।
‘यस्तो दिन आउला भन्ने कहिल्यै सोचिएको थिएन। राम्रो काम गर्यौं भन्ने लाग्थ्यो, जनताको सेवाका लागि भनेर घर परिवारलाई पनि नभेटी निरन्तर काम गर्दै आएका थियौं। यस्तो उपहार पाइयो,’ अर्का प्राविधिकले भने, 'जोखिम मोल्दै फ्रन्टलाइनमा बसेर स्वाब खेलाउने प्राविधिकहरूलाई प्रोत्साहन गर्नुको सट्टा मनोवल गिराउने काम भइरहेको छ।'
पैसाका लागि जोखिम मोल्न नआएको उनको भनाइ छ।
‘जनताको सेवा गरेर सन्तुष्टि कमाउला भनेर आएको बदनाम हुनुपर्ने अवस्था आयो,’ उनले भने।
प्रयोगशालाकी प्रमुख डा.अधिकारीका अनुसार हाल ७ जना कर्मचारीमात्रै बाँकी रहेकोमा तीन जना बिरामी छन्। उनीहरूमध्ये दुई जनाको दुर्घटना भएको हो।
‘तैपनि सकिनसकी काम गरिरहनुभएको छ। बिदामा बस भन्दा पनि होइन हामी भएन भने तपाईंहरूलाई बोझ बढी हुन्छ भनेर पीडा लुकाएर काम गरिरहनुभएको छ’, उनी भन्छिन्, ‘यति गर्दा पनि काम गर्न मानेन भनेर आरोप लगाउँदा उहाँहरूलाई कस्तो लागेको होला।’
उनले आफ्ना दु:खेसोहरूलाई भत्तासँग जोडेर बेइज्जत गरिएको भन्दै असन्तुष्टि पोखिन्।
‘हामीले त भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्टले भनेअनुसार नै ‘ओभर टाइम’ काम गर्न छाडेका थियौं,' उनले भनिन्, ‘तर हाम्रो बेइज्जत गर्ने गरी यिनीहरूले टेरेनन्, निकाल्नुपर्यो भनिएको रहेछ।’
उनले देश र जनताको लागि काम गरेको भन्दै एक पैसा पनि नलिइकन सेवा गर्न पनि तयार रहेको बताइन्। आफूहरूले भिख मागेको र दान दिन लागेको जस्तो प्रचार भएको भन्दै उनले कुनै पनि सुविधा नलिई जनताको सेवामा लाग्ने ताकत भएको बताइन्।
आवश्यक परे राजीनामा दिन पनि तयार रहेको भन्दै उनले भनिन्, ‘अहिले जत्तिको स्तरीय प्राविधिक ल्याएर त्यहीअनुसारको काम गरेर देखाउन चुनौती दिन्छु।’
४ महिनाको अवधिमा यहाँबाट १३ हजार जना शंकास्पदको स्वाबको नमूना परीक्षण भयो। यहीँ परीक्षण गरिएका ४ सय जनामा कोरोना भाइरस पोजेटिभ पुष्टि भयो। उनीहर मध्ये केही अझै उपचाररत छन्।
कोरोना भाइरसको महामारीसँगै प्रयोगशाला स्थापना भएपछि यहाँका प्राविधिक दिनरात काममा खटिँदै आएका छन्। उनीहरूले एकै दिनमा ६ सयवटा नमूनासम्म पनि परीक्षण गर्न भ्याएका थिए।
ती दिनमा यहाँका प्राविधिक/कर्मचारीले चौबीसै घन्टा लगातार काम पनि गरेको डाक्टर अधिकारीले बताइन्।
सबैतिरबाट प्रयोगशालाको कामको विषयमा प्रशंसा भइरहँदा प्रोत्साहन गर्नुपर्ने निकायहरूले नै बदनाम गर्ने प्रयास गरिरहेकोमा आफ्नो चित्त दु:खेको र अरू कर्मचारीको मनोjल गिरेको उनको भनाइ छ।
भरतपुर अस्पतालका अध्यक्ष डाक्टर भोजराज अधिकारी भने आफू प्राविधिकहरूको पक्षमा सदैव रहेको बताउँछन्। स्वास्थ्यकर्मी प्राविधिकहरूको मनोवल बढाउन सक्दो प्रयास गर्ने बताए।
‘उहाँहरूले मसँग भत्ता नपाएको भनेर विरोध गरेका गर्नुभएको छैन। मेडिकल सुपरिटेन्डेन्टका कुराहरूबाट असन्तुष्ट रहेकोजस्ता विषय राख्नु भएको छ,' डा.अधिकारीले भने, ‘म मेसुसँग पनि कुरा गर्छु । उहाँहरूको मनोवललाई पहिलेकै अवस्थामा फर्काउने कोसिस गर्छु।'