सुदूरपश्चिम प्रदेशमा कोरोनाका लक्षण देखिएका ७६ जना अस्पतालमा उपचाररत छन्।
ती संक्रमितहरुमा लक्षण देखिएकाले प्रदेशका विभिन्न ६ वटा स्वास्थ्य संस्थाहरुमा रहेका आइसोलेसनमा उपचार भइरहेकाे सामाजिक विकास मन्त्रालयले जनाएकाे छ।
‘ज्वरो आउने, पखाला लाग्ने, श्वास फेर्न गाह्रो हुने, रुघाखोकी जस्ता लक्षण देखिएका ७६ जना संक्रमित आइसोलेसनमा छन्,’ मन्त्रालयका स्वास्थ्य शाखा प्रमुख नरेन्द्रसिंह कार्कीले भने।
सबैभन्दा बढी कैलालीको टिकापुर अस्पतालमा ३४ जना संक्रमित उपचाररत छन्। यस्तै धनगढीको सेती प्रादेशिक अस्पतालमा ३ र मालाखेती अस्पतालमा २ जना लक्षण देखिएका संक्रमित छन्।
कञ्चनपुरको महाकाली अस्पतालमा २५, जिल्ला अस्पताल अछाममा १२ जना लक्षण देखिएका संक्रमितको उपचार भइरहेको छ। सुदूरपश्चिममा १८ वटा स्वास्थ्य संस्थामा जम्मा तीन सय १२ वेडका आइसोलेसन बनाइएका छन्।
आइसियुसहितका वेड संख्या सेती अस्पतालमा १० र महाकाली अस्पतालमा ८ गरि १८ रहेको छ भने भेन्टिलेटरसहितका वेडसंख्या १० रहेको छ।
सुदूरपश्चिममा कोरोनाका ७ सय ३४ सक्रिय संक्रमित रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। एक्टिभ केश कैलाली जिल्लामा सबैभन्दा बढी दुई सय ३७, बझाङमा एक सय ७४, डोटीमा एक सय ६७, अछाममा ५०, कञ्चनपुरमा ३५, दार्चुलामा ३०, बैतडीमा १८, बाजुरामा १५ र डडेल्धुरामा ५ छन्।
प्रदेशभर जम्मा संक्रमितको संख्या चार हजार सात सय ९५ पुगेकोमा चार हजार ५५ जना निको भइसकेका छन्। प्रदेशमा कोरोना संक्रमित नौ जनाको मृत्यु भएको छ।
कोरोनाबाट मृत्यु हुनेमा कैलालीका चार, बाजुरा र बझाङका दुई/दुई र अछामका एकजना रहेका छन्।