उनलाई समकालीनहरूले लगाउने गरेको सबभन्दा ठूलो आरोप हो- बलराम बानियाँ कांग्रेसी हुन्।
तनहुँस्थित उनको गाउँ नेपाली कांग्रेसको अखडा थियो। त्यहाँका सांसद थिए, गोविन्दराज जोशी। उनी नजिकका आफ्ना साथीभाइलाई भन्थे, 'म जोशीको भोटर हुँ।' तर, कान्तिपुर दैनिकमा कांग्रेसको रिपोर्टिङ गर्दा जोशीको सबभन्दा बढी आलोचना गरेर लेख्ने पनि बानियाँ नै हुन्।
'कांग्रेसी भन्ने आरोप खेपेका बलराम दाइले कांग्रेसको पक्ष लिएर समाचार वा लेख लेखेको मलाई कहिल्यै थाहा भएन,' बानियाँसँगै कान्तिपुरमा काम गरेका पत्रकार किरण भण्डारी उनलाई 'खाँटी पत्रकार' मान्छन्।
कान्तिपुरका पूर्व प्रधानसम्पादक नारायण वाग्ले पनि बानियाँलाई 'कसैसँग मोलाहिजा नगर्ने पत्रकार' का रूपमा सम्झिन्छन्।
'बलराम बानियाँले कान्तिपुरको स्थापनाकालदेखि काम गरेका हुन्। कसैसँग नडराउने, देखेको लेख्ने उनको स्वभाव थियो,' उनले सेतोपाटीसँग भने, 'सधैं निष्पक्ष बस्ने उनी पत्रकारको आचारसंहितामा खरो रहे। आफ्ना सहकर्मीलाई समेत स्रोतसँगको सम्बन्धमा प्रश्न गरिरहन्थे।'
बानियाँको सबभन्दा बलियो पक्ष उनले आफूलाई थाहा भएको समाचार बिना कुनै सम्झौता लेख्थे। पत्रकारका रूपमा उनको कमजोर पक्ष हो, आफ्ना स्रोतहरूलाई आँखा चिम्लेर पत्याउँथे।
यसरी नै २५ वर्ष कान्तिपुरमा र केही वर्ष नागरिक दैनिकमा काम गर्दा सधैं सबैको खबर राख्ने पत्रकार बानियाँ सोमबारबाट अकस्मात् हराए। मंगलबार मकवानपुरको सिस्नेरीस्थित माण्डौ हाइड्रोपावरमा उनको शव फेला पर्यो।
मृत अवस्थामा भेटिँदा उनको शरीरमा लुगासमेत नभएको प्रहरीको भनाइ छ। जिन्दगीमा राम्रो खाने, राम्रो लगाउने र 'हाइफाइ' जिन्दगी बाँच्ने बानियाँको कुनै सोख पनि थिएन। जसरी आएका थिए, उनी त्यसरी नै गए।
पत्रकार भण्डारी उनीजत्तिको साधारण व्यक्ति कान्तिपुरमा अर्को कुनै रिपोर्टर नदेखेको बताउँछन्।
'उनी साधारण थिए, फाटुन्जेल लुगा लगाउँथे, कस्तो लगाएको छु मतलब गर्दैनथे,' उनले भने, 'उनी ठूलाठूला मानिसका समाचार लेख्थे अनि सबभन्दा सस्तो क्यान्टिनमा खाजा खान्थे।'
उनी सोमबार बल्खु चोकमा हिँडिरहेका बेला प्रहरीले केरकार गरेको थियो। प्रहरी स्रोतका अनुसार त्यो बेला उनले रक्सी खाएका थिए। एउटा मान्छेका रूपमा उनको सबभन्दा ठूलो कमजोरी पनि रक्सीलाई जित्न नसक्नु हो। यो स्वभावले परिवार र कार्यालयका साथीहरूलाई समेत हैरान पारेको उनका नजिकका साथीभाइ बताउँछन्।
बानियाँका साथीभाइ पनि थोरै थिए। तर जति थिए, तिनले बानियाँलाई असाध्यै माया गर्थे। सम्झाउँथे, र सम्हाल्थे पनि। उनको निधनपछि बुधबार दिउँसो वाग्लेले ट्वीट गरेका छन्, 'सबैले स्नेह गर्थे तर आफ्नै ख्याल राखेनन्, हामीलाई खिन्न बनाएर आफैं समाचार बने। सम्झिनेछौं साथी!'
तनहुँको गरिब परिवारमा जन्मिएका बानियाँ एसएलसीपछि पढ्न काठमाडौं आएका थिए। केही समय उनले टाँक बनाउने एउटा सानोतिनो पसलमा काम गरे। केही समय पुरानो बसपार्कनजिकै चियापसलमा वेटर पनि भए। यसरी कमाएको पैसाले उनी आफ्नो पढाइ र काठमाडौं बसाइँ खर्च जुटाउँथे। पछि जनक शिक्षा सामग्रीमा टाइपिस्टको काम पाए।
उनले कान्तिपुर दैनिकको स्थापनाकालदेखि नै काम गरेका थिए। सुरूमा कपी-एडिटर र पछि डेस्क-एडिटर रूपमा काम गरे।
उनी राति राति अफिस आउँथे। एकोहोरो काम गरिरहन्थे। पछि विस्तारै रिपोर्टिङ गर्न थाले। २०५७ सालदेखि रिपोर्टिङ गर्न थालेपछि मात्र उनले अलि धेरै मान्छेसँग संगत गर्न थालेको उनका सहकर्मीहरू बताउँछन्।
पत्रकार भण्डारीका अनुसार बानियाँको हरेक दिन बिहानै चिया पसलबाट सुरू हुन्थ्यो। चिया पसलमा गफ लगाउन उनी जाँदैनथे। एउटा कुर्सीमा बसेर टोलबासीका कुरा चुपचाप सुन्थे। दिउँसो सिंहदरबार, संसद भवन गएर रिपोर्टिङ गर्थे।
सडकदेखि सदन र शासन सत्तासम्मको समाचार लेख्दा बानियाँले कहिल्यै कसैलाई दयामाया देखाएनन्। उनले लेखेका समाचारले सिंहदरबार चलाउनेहरूको सातो जान्थ्यो।
यसरी समाचार लेख्नु उनको जीवनशैलीसँगै जोडिएको थियो। समाचार लेख्ने उनको आदतजस्तै बनेको थियो। त्यसैले उनी विदाधरि बसेनन्।
'उनी विदामा बसेको मैले देखेको छैन, साप्ताहिक विदा पनि बसेनन्,' वाग्ले भन्छन्, 'पछि पछि त हामीले सम्झाउनुपर्थ्यो। विदा बस्ने गर, परिवारलाई समय देऊ भनेर।'
समाचार खोज्नु र लेख्नुलाई नै आफ्नो जीवनशैली बनाएका बानियाँका कतिपय समाचार विवादास्पद पनि भए। पछिल्लोपटक उनले लेखेको विवादास्पद समाचार चीनले नेपाली भूमि मिचेको भन्ने हो।
गत असार १० गते छापिएको उक्त समाचार गलत रहेको भन्दै परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेपछि कान्तिपुरले क्षमायाचना गरेको थियो। उनलाई पनि कसरी यस्तो समाचार लेखेको भन्दै स्पष्टीकरण सोध्यो। उनले सामाजिक सञ्जालमा 'आफ्ना स्रोतहरूलाई सोधेर लेखेको तर गलत नियत नभएको' जवाफ दिएका थिए।
यसबारे जाँचबुझ गर्ने र स्पष्ट नभएसम्म कार्यालय नआउनू भन्दै कान्तिपुरले उनलाई केही समय विदामा राख्यो।
त्यो घटनापछि उनलाई काममा बोलाइएको साता-दस दिन मात्र भएको थियो। पछिल्लो समय उनलाई लामो खालका अनुसन्धनात्मक स्टोरीमा काम गर्न खटाइएको पनि कान्तिपुर स्रोतले बताएको छ।
उनले आफ्नो करिअरमा कुनै पनि समाचार स्रोतको स्वार्थपूर्तिका लागि लेखेनन् भन्ने उनका सहकर्मीहरू विश्वास गर्छन्।
'कसैको एककप पनि चिया खाएर बानियाँले समाचार लेख्छन् भनेर हामीले अहिलेसम्म सुनेका छैनौं,' कान्तिपुरका पत्रकार देवेन्द्र भट्टराईले भने, 'हामीसँग सय रूपैयाँ सापटी लिए पनि फर्काउनुहुन्थ्यो। हामीले लिन मानेनौं भने त्यसैको चिया खुवाउनुहुन्थ्यो।'
उनी समाचार कक्षमा आफ्ना सहकर्मीहरूका निम्ति 'वाचडग' समेत थिए। सहकर्मीहरूले कसरी र के का आधारमा समाचार लेखेका छन् भन्ने हेक्का राखेका हुन्थे। कसैले झूटा समाचार नियतवश लेखेको शंका लागे बानियाँको खस्रो बोली भेटिहाल्थे।
'स्रोत दुरूपयोग गरेर गलत समाचार लेखेको वा कसैले आचरणविपरीत समाचार लेखेको देखे पक्रिहाल्थे। खस्रो बोल्न सक्थे,' कान्तिपुरका पूर्व प्रधानसम्पादक वाग्लेले भने, 'उनी समाचार कक्षभित्रै सहकर्मीका वाचडग थिए।'
यसरी खस्रो बोल्न सक्ने हिम्मत उनलाई आफ्नो निष्पक्षता र इमानदारीले दिएको हो। कान्तिपुर पूर्वसम्पादक हरिबहादुर थापा पनि उनलाई इमानदार पत्रकारका रूपमा सधैं सम्झिन्छन्।
'सबैखाले समाचार बुझ्न सक्ने, त्यसमाथि असल नियत र इमानदार भएकाले साथीभाइका कमीकमजोरी खुलेर भन्न सक्नुहुन्थ्यो,' उनले भने, 'जिन्दगीमा पत्रकारिताबाहेक अरू केही गर्नु भएन। आफ्नो काममा निरन्तर लागिरहन सक्ने असल मान्छे हो। यस्तो समाचार सुनेर म निकै डिस्टर्ब भएको छु।'
पत्रकार भण्डारीले पनि उनको यही स्वभावबारे ट्वीट गर्दै भनेका छन्- 'जतिञ्जेल बाँच्नुभो शिर ठाडो पारेरै बाँच्नुभो। 'इमान' मा कुनै सम्झौता गर्नुभएन। हामी साक्षी छौं, तपाईं लोभ, लालच, इर्ष्या, ओहोदाभन्दा कति माथि हुनुहुन्थ्यो? सर्वत्र बिचौलियाको जगजगी रहेको समाजमा इमानको कसरी अन्त्य हुन्छ भन्ने तस्वीर पनि देखाएर जानुभयो।'