धनगढी उपमहानगर- १९ का चनराम चौधरीको हातमा अहिले लालपुर्जा त छ, जमिन छैन।
लालपुर्जा पाउनुअघि कहिले जंगल जंगल हिँड्थे, कहिले सडकको बास हुन्थ्यो।
२०५२ सालमा सुकुम्बासी पुनर्स्थापना हुँदा उनले धनगढीको खेदा भन्ने ठाउँमा दश कठ्ठा जमिन पाएका थिए।
सरकारले जग्गा दिएपछि दंग परे। आफैंले दु:ख गरेर कच्ची घर बनाए। बाँकी जग्गामा खेतीपाती गर्न थाले।
आफ्नो जमिन हुँदा उनले सिजन अनुसार धान, गहुँ, मकै, तोरी र मसुरो जस्ता बाली लगाउँथे। त्यसबाट उनको परिवारलाई आठदेखि दश महिना खान पुग्थ्यो। बाँकीका केही महिना उनले मजदूरी गरेर कमाएको पैसाले घर चलाउँथे।
खेती र घरका कारण उनको आर्थिक अवस्था सामान्य बन्दै गयो। त्यो बेला उनले फेरि सुकुम्बासी हुन्छु भन्ने सोचेका पनि थिएनन्।
३ वर्षपछि उनको जग्गामा विस्तारै मोहना नदी पस्न थाल्यो।
'मोहना नदीमा सालसालै आउने बाढीले अलिअलि गर्दै सरकारले दिएको जमिन लगिसक्यो,’ उनले भने, '२०५९ सालदेखि सुकुम्बासी भएको छु,' उनले भने।
उनलाई सरकारले दिएको जग्गामा पहिले मान्छेहरू बस्न पाइन्थ्यो। त्यही पनि घरबास नभएकाहरू बेला बेला त्यहाँ बस्न पुग्थे। थाहा पाए वनपालेले खेदिहाल्थे।
त्यही भएर त्यो ठाउँको नामै खेदा रहन गयो।
उनको भाग्यमा त्यही जग्गाको लालपुर्जा लेखेको रहेछ, जहाँ बस्दा खेदिनुपर्थ्यो।
'पहिले वनपालेले खेद्थे पछि मोहना नदीले खेद्यो। '
२०५२ सालमा तत्कालीन एमाले सरकारले बनाएको सुकुम्बासी आयोगले उनीहरूलाई जग्गाको लालपुर्जा दिएको थियो।
आयोगले एक सय ४० परिवार कमैया र सुकुम्बासीलाई दश/दश कठ्ठा जमिनको लालपुर्जा दिएको चनरामले बताए।
धेरैजसो जमिन मोहना नदीको किनार थियो। जहाँ उनीहरूले लालपुर्जा पाएपछि बस्ती बसाएका थिए।
‘आफ्ना जमिनमाथि मोहना नदी बगेको छ। अहिले अर्काको जमिनमा बटैया गरी खान्छौं,’ उनले भने।
अहिले एकजना जमिनदारको डुवान र कटान नहुने डेढ बिघा जमिनमा उनले खेती गर्छन्। त्यसको उब्जनीको आधा भाग जग्गाधनीलाई दिनुपर्छ। यसबाट उनको परिवारलाई खानसम्म पुगेको छ।
परिवारको अरू आर्थिक जोहो गर्ने बाटो मजदूरी हो।
मजदूरी पनि गर्न नपाउने गरी उनलाई लकडाउन आइलाग्यो।
‘अहिले त लकडाउनपछि काम पनि पाइँदैन,’ उनले भने, 'हातमुख जोर्न गाह्रो हुँदै गयो।'
उनका तीन छोरा पहिले भारतमा मजदूरी गर्थे। कोरोनाको महामारीका कारण अहिले घरमै छन्।
कोरानाले गर्दा मजदूरी गर्ने वातावरण नभएपछि ठूलो परिवारको खर्च कसरी चलाउने भन्ने समस्या उनलाई छ।
खेदाकै वीरबहादुर चौधरीका तीन भाइको २१ कठ्ठा जमिन पनि मोहनाले काटेर लगेको छ। नदीले कटान गरेर खेत बगर बनाइदिएको उनले बताए।
अहिले मोहना नदी बस्तीको छेउमै पुगेको छ।
‘नदी नजिक आउँदै गर्छ, मान्छेहरू घर सार्दै गर्छन्,’ उनले भने।
हरेक वर्ष वर्षमा कसरी जोगिने भन्ने चिन्ता उनलाई पनि हुन्छ।
हिउँदमा भने उनले जमिनमाथि थुपरिएको बलौटे माटोमा तरकारी लगाउँछन्। चौकीको ८ कठ्ठा जमिन भोकबन्धकी लिएका छन्। अधियाँ गरेर आएको अन्नले परिवार पालेका छन्।
‘वर्षामा त घाँस काट्न पनि नाउ तरेर खेतसम्म जानुपर्छ,’ उनले भने।
स्थानीय प्रेमबहादुर चौधरीलाई धान रोपेको खेतै बगाइदिएपछि पर्नुसम्म पीर परेको छ। बोरिङबाट सिँचाइ गरेका थिए मल पनि बल्ल बल्ल किनेर हालेका थिए। एकाएक मोहनाले बगाइदियो।
उनका अनुसार, रातिको समयमा पानी परे नदी र ताल किनारका मानिसहरू डरले निदाउँदैनन्।
अर्का स्थानीय ध्यानकुमारी चौधरीले हरेक वर्षामा कसैलाई खाना नहुने त कसैलाई केटाकेटी लगेर कहाँ जाउँ भन्ने चिन्ता हुने गरेको बताइन्।
‘हाम्रो खेतीपाती सबै लैजाने हो, के खाने, कहाँ जाने भन्ने मनमा चिन्ता हुन्छ,’ उनले भनिन्।
खेदा बस्तीका १ सय ५० घरधुरीको ५० बिघा बढी जमिन मोहना नदीले कटान गरिसकेको छ।
वर्षौंदेखि समस्या भोगिरहेका उनीहरूले सरकारले जग्गा दिएपछि खुसी भएका थिए। जब नदीले जग्गा लग्यो र सुकुम्बासी हुनुपर्यो उनीहरूले सरकारले जग्गा दिए जस्तो मात्र गर्नका लागि त्यस्तो ठाउँमा आफूहरूलाई पुर्याएको बताउँछन्।
धनगढी उप– महानगरपालिका-१९ का वडा अध्यक्ष तिलुराम चौधरीले नदी किनारको क्षेत्र भएकाले खेदामा पानी पर्ने वित्तिकै बस्तीमा बाढी पस्ने गरेको बताए।
आफ्नो वडाका खेदा, ललीपुर जस्ता बस्ती कटानको उच्च जोखिममा रहेको उनले बताए।
‘गत वर्ष खेदामा सानो तटबन्ध बनेपछि केही रोकथाम भएको छ तर जोखिम टरेको छैन,’ उनले भने ।
वडा र नगरपालिकाबाट जैविक तटबन्ध गर्ने काम भएको थियो। त्यसले नदी रोकथाम गर्न नसकेको चौधरीले बताए।
स्थानीयले कटान रोक्न स–साना वृक्षरोपण, जैविक तटबन्ध गरे पनि घुराह र मोहना नदीले कटान गरिरहेको छ।
खेदामा गतवर्ष जनताको तटबन्ध कार्यक्रमबाट दुई करोड ७५ लाखको तटबन्ध बनेको थियो।
‘यसवर्ष पनि गतिलो तटबन्ध बनाइदिन जनताको तटबन्ध कार्यक्रममा निवेदन दिएको छु,' वडा अध्यक्ष चौधरीले भने ।
तटबन्धन भए क्षति हुनबाट बचेको जमिन जोगाउन सकिने भएकाले केन्द्र सरकारसँग माग गरेको वडा अध्यक्ष चौधरीले बताए।
सरकारले तटबन्ध कहिले बनाउने हो थाहा छैन।त्यो बेलासम्म मोहना नदी कुरेर बस्दैन। कुनै पनि नदी बस्दैनन्। नदीको कटान बढ्दै गए चुनराम चौधरीझैं बाँकी अरू पनि सुकुम्बासी बन्ने पक्का छ।