काठमाडौंको मनमैजुमा छुरा प्रहार गरी नुवाकोटका लक्ष्मण तामाङको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले मुख्य अभियुक्तलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार आङदोर्जे शेर्पालाई नियन्त्रणमा लिइएको हो।
शुक्रबार राति साढे ८ बजेतिर एक खाजा घरमा दुई पक्षबीच विवाद हुँदा तामाङलाई छुरा प्रहार भएको थियो। घाइते उनको ग्रीनसिटी अस्पतालमा मृत्यु भएको थियो।
तामाङ गोंगबु सुकुम्वासी टोलमा बस्दै आएका थिए। महानगरीय अपराध महाशाखाले सुकुम्बासी टोलबाट तामाङ हत्याको मुख्य अभियुक्तको आरोपमा शनिबार शेर्पालाई पक्राउ गरेको जनाएको छ।
‘दुई समूहबीच विवादपछि झडप भएको देखिन्छ। धारिलो हतियार प्रहारबाट तामाङको मृत्यु भएको हो। घटनामा संलग्नलाई पक्राउ गरेर अनुसन्धान जारी छ,’ महाशाखाका एसएसपी दीपक थापाले सेतोपाटीसँग भने।
घटनामा संलग्न रहेका अरू तीन जना पनि प्रहरी नियन्त्रणमा छन्।