पहाडमा पहिरो- २
मैले उनलाई आइतबार दिउँसो साढे २ बजे फोन गरेको थिएँ। उनी १२ बजेदेखि नै लगातार पैदल हिँडिरहेका रहेछन्। सास फुलेर उनको आवाज स्याँस्याँ सुनिन्थ्यो।
सिन्धुपाल्चोक, जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठ स्थानीय जनप्रतिनिधिको टोली लिएर लिदी गाउँ जाँदै थिए।
यो गाउँ अरनिको राजमार्गबाट निकै टाढा छ। राजमार्ग जोडिने बलेफी बजारबाट जुगल गाउँपालिकाको सीमा १३ किलोमिटर पर छ। त्यहाँबाट अर्को ७ किलोमिटर मोटरबाटो कात्तिके पुगिन्छ। कात्तिकेबाट लिदी पुग्न फटाफट हिँड्न सक्नेलाई पनि तीन घन्टाको बाटो हो।
श्रेष्ठ फटाफट हिँड्न सक्ने अवस्थामा थिएनन्। ढाडको नसा चेपिएर उनको हिँडाइ धीमा भएको छ। त्यसमाथि समूहमा सँगसँगै हिँड्दा यसै पनि गति कम हुने भइहाल्यो।
‘अझै एक–डेढ घन्टा लाग्छ होला लिदी पुग्न,’ उनले मसँग मोबाइलमा कुरा गर्दा बीच्चबीच्चमा लामो–लामो सास तान्दै भने, ‘उसो त तीन घन्टाको बाटो हो, आज भने हामीलाई चार घन्टै लाग्ला जस्तो छ।’
लिदी गाउँ जुगल गाउँपालिका, वडा नम्बर २ मा पर्छ। यहाँ शुक्रबार बिहान ६ बजेतिर पहिरो खसेर ३९ जना एकैठाउँ पुरिएका थिए। तीमध्ये १९ जनाको शव फेला परिसकेको छ। बाँकी २० जना अझै हराइरहेका छन्, जो सकुशल फेला पर्ने आश गाउँलेहरूले मारिसके।
शुक्रबारदेखि स्थानीय गाउँलेहरूले लगातार पहिरो पन्छाउँदा पनि सकिएको छैन। मान्छेले मात्र खनेर पार लाग्दैन भन्ने बुझेर गाउँपालिकाले एक्स्काभेटर चलाउने निधो गरिसक्यो। एक्स्काभेटर आफ्नो लागि आफैं बाटो खन्दै पहिरोग्रस्त क्षेत्रतर्फ बढिरहेको छ, श्रेष्ठले भने, ‘भोलि दिनभरिमा पुग्छ होला।’
यो गाउँमा जम्मा १७२ घरपरिवार बसोबास गर्छन्। पहिरोमा पुरिएकाहरू ११ परिवारका हुन् भने ३७ घरपरिवार प्रभावित छन्। पुस्तौंदेखि डाँडाको नाडी छामेका उनीहरूले बेलैमा पहिरो पहिल्याउने स्थानीय ‘टेक्निक’ नलगाएका भए यी ३७ परिवार एकैठाउँ चिरिप्प हुन्थे।
उनीहरूलाई आफ्नो गाउँ पहिरोको जोखिममा छ भन्ने पहिल्यै थाहा थियो। यसपालि मनुसन सुरू हुनासाथ उनीहरूले लक्षण देख्न थालिसकेका थिए। कहिले भीरबाट फुसफुस माटो झर्थ्यो, कहिले घन्द्रङघन्द्रङ ठूल्ठूला चट्टानहरू खस्थे। पानी पर्नासाथ लेदो माटो पनि बग्थ्यो।
यी सबै पहिरोका लक्षण हुन् भन्ने बुझेका गाउँलेहरू गुहार माग्दै असार २६ गते गाउँपालिका पुगे।
‘आसपासको क्षेत्रमा पहिरो जान थालिसक्यो, हामीलाई जतिसक्दो छिटो सार्नुपर्यो,’ गाउँपालिका अध्यक्ष श्रेष्ठले गाउँलेहरूको भनाइ सम्झे।
खबर पाउनेबित्तिकै उनी लिदी कुदे।
‘पहिरो आज खस्ला कि भोलि खस्ला भन्ने थियो। रातारात डाँडामा तारजाली वा कुनै किसिमको पर्खाल लगाएर छेक्न सक्ने अवस्था थिएन,’ उनले भने, ‘तारन्तै कुनै उपाय गरिएन भने २०७२ को भुइँचालोमा जस्तो ठूलै विपत आउने खतरा थियो।’
गाउँपालिकाले अतिप्रभावित घरपरिवारलाई सुरक्षित स्थानमा सार्ने निर्णय गर्यो। जिल्ला विपत व्यवस्थापन समितिबाट टेन्ट र त्रिपालको जुगाड पनि भयो।
छ फिट अग्लो तीनवटा टेन्ट र प्रत्येक घरपरिवारलाई एक–एकवटा त्रिपाल असार अन्तिमसम्म गाउँ पुर्याइयो। त्यही दिनबाट गाउँलेहरू आफ्नो पुर्ख्यौली घरबार छाडेर तीन–चार मिनेट दुरीमा टेन्ट र त्रिपालमुनि रात काट्न थाले। कसै–कसैले वस्तुभाउ र सकेजतिका मालमत्ता पनि ओसारे।
राति पहिरो गए ज्यानको बढ्ता जोखिम हुन्थ्यो। त्यही भएर उनीहरू रात सुरक्षित काट्न टेन्टमा जान्थे, बिहान आफ्नै घर फर्कन्थे।
समय, काल अलिकति मात्र यताउति भइदियो भने परिस्थिति आनका तान फरक पर्छ। लिदीमा त्यस्तै भयो। यो घटना बिहान नभएर राति भइदिएको भए परिस्थिति त्यस्तो हुन्थेन, जस्तो अहिले छ।
‘जुन–जुन घर पहिरोले लग्यो, त्यहाँका मान्छे घरमा बास बस्न छाडिसकेका थिए। उनीहरू बिहान भएपछि नित्यकर्म, पूजापाठ, वस्तुभाउलाई कुँडो हाल्न र भातभान्साको निम्ति मात्र घर फर्कन्थे,’ अध्यक्ष श्रेष्ठले हिँड्दा हिँड्दै लामो सुस्केरा ताने, ‘राति पहिरो गइदिएको भए कसैलाई केही हुन्थेन। घरहरू मात्र बग्थे।’
‘त्यो दिन बिहान जो–जो टेन्टबाट आफ्नो घर छिरे, उनीहरू सप्पै झिरिप्पै भए। जो–जो टेन्टमै थिए, उनीहरू बाँचे। यस्तै लेखेको रैछ!’
अब यही कुरा हामी अर्को दृष्टिबाट सोचौं!
के हुन्थ्यो, यदि लिदीका गाउँलेहरूले बेलैमा स्थानीय ‘टेक्निक’ लगाएर पहिरोको लक्षण नपहिल्याएका भए?
के हुन्थ्यो, यदि लिदीका ती जोखिमपूर्ण घरपरिवार बेलैमा सुरक्षित ठाउँ नसरेका भए?
प्रस्ट छ, त्यसो हुन्थ्यो भने ३७ घरपरिवारका सबै जनाको एकै चिहान हुने थियो। आज हामी ३९ जना पुरिएको कुरा गर्दैछौं, जबकि त्यो परिस्थिति आइदिएको भए हामी कम्तिमा १ सय ५० जनाको मृत्यु गनिरहेका हुन्थ्यौं।
यसबाट हामीले के बुझ्ने त?
लिदी घटना भनेको बर्खा याममा हरेक वर्ष आउने कुनै एउटा पहिरो मात्र होइन। यो घटना पहिरोलाई राज्य संयन्त्रले कतिसम्म उपेक्षा गर्दै आएको छ भन्ने ज्वलन्त उदाहरण हो।
हामीले पहाडी भू–भागमा अहिलेसम्म जति पनि पहिरो गए वा गइरहेका छन्, तिनलाई प्राकृतिक प्रकोप मानेर चित्त बुझाएका छौं। खासमा ती प्राकृतिक प्रकोपभन्दा पनि राज्य संयन्त्रकै उपेक्षाका नतिजा हुन्। हामीले यसलाई बुझ्न ढिला गर्यौं भने अर्को कयौं वर्ष मृत्यु गनेर बसिरहेका हुनेछौं।
पहिरो भनेको हामीले सोचेजस्तो एक्कासि डाँडा खस्ने होइन। केही बेरअघिसम्म सग्लो डाँडा पानी पर्नेबित्तिकै गर्ल्यामगुर्लुम खस्दैन। त्यसको निम्ति त अति ठूलो भुइँचालो आउनुपर्छ, जसबाट पार पाउन हामी कसैको बूताले भ्याउँदैन।
पहिरो सधैं विस्तारै जान्छ। खुसुखुसु गर्दै। र, जानुअघि आफ्ना लक्षणहरू पनि देखाउँछ। कहीँ फुसफुस माटो झर्छ, कहीँ चट्टानहरू खस्छन्। कहीँ डाँडामा हाम्रो नांगो आँखाले नै देख्न सक्ने गरी धाँजाहरू फाट्छन्।
यस्ता जुनसुकै लक्षण देख्नेबित्तिकै पहिरोको जोखिम छ भन्ने बुझ्नुपर्छ। पहाडमा बस्नेले यी लक्षण चिनेका हुन्छन्। उनीहरूले लक्षण नचिनेका भए वा हामीले सोचेजस्तो एकछिन अघिसम्मको सग्लो डाँडा पानी पर्नेबित्तिकै गर्ल्यामगुर्लुम खस्ने हो भने मृत्युदर अहिलेभन्दा कयौं गुना बढी हुने थियो।
जसरी हामी रोगको लक्षण देखिएपछि औषधिमूलो गर्छौं वा खानपिन बार्न थाल्छौं, त्यसैगरी पहिरोको लक्षण देखिनासाथ गाउँलेहरू तारन्तै बसाइँ सर्छन्। वस्तुभाउदेखि सकेजतिका मालमत्ता ओसार्छन्। त्यही भएर ठूलो हताहत हुन पाउँदैन।
छ वर्षअघि सिन्धुपाल्चोकको जुरेमा ‘ऐतिहासिक’ पहिरो जाँदा इटनीका बासिन्दाले पहिल्यै अड्कल काटिसकेका थिए। उनीहरू बेलैमा सुरक्षित ठाउँ सरे, पहिरोबाट बचे।
यसपालि लिदीका गाउँलेले पनि बेलैमा लक्षण चिनेर बुद्धि पुर्याए, त्यही भएर धेरै जना बाँचे।
अब प्रश्न उठ्छ, जब निरक्षर गाउँलेले आफ्नो अनुभवकै आधारमा पहिरो चिन्न सक्छन् भने करोडौं–अर्बौं बजेट खेलाएर बस्ने राज्य संयन्त्रले, देश–विदेशमा गएर भूगर्भ विज्ञान पढेका वैज्ञानिकहरूले पहिरोको अड्कल काट्न सक्दैनन् त?
भूगर्भ विज्ञानले अहिलेसम्म एउटा मात्र प्राकृतिक प्रकोपलाई जित्न सकेको छैन। त्यो हो, भुइँचालो। आजको मितिसम्म भुइँचालोको भविष्यवाणी कसैले गर्न सक्दैन। भूगर्भविद्हरू भुइँचालोको जोखिम देखाउन सक्छन्, तर यो सिजनमा जान्छ भनेर अनुमान लगाउन सक्दैनन्।
यसबाहेक अरू सबै किसिमका विपत विज्ञानको आँखाबाट छिप्दैन। विज्ञानले आकासमा बादलको गुडगुड सुनेर चट्याङ भाँप्न सक्छ। नदीमा पानीको बहाव हेरेर बाढी नाप्न सक्छ। र, डाँडाको हलचल छामेर पहिरो पर्गेल्न सक्छ। यी कुनै पनि विपत पूर्वानुमान गर्नु ‘रकेट साइन्स’ हुँदै होइन।
मैले यसबारे राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेलसँग कुरा गरेको थिएँ।
‘कुन ठाउँमा पहिरो जान सक्छ भनी पत्ता लगाउनु भूगर्भ विज्ञानका लागि ठूलो कुरा होइन,’ उनले भने, ‘यसको निम्ति जोखिमपूर्ण ठाउँहरूको सूक्ष्म वैज्ञानिक अध्ययन हुनुपर्छ। देशभरका डाँडाकाँडाको भूसतहमा आउने हलचल नापेर हामी कुन ठाउँ कति जोखिमपूर्ण छ र कहाँ–कहाँ पहिरो जाने खतरा छ पत्ता लगाउन सक्छौं।’
उनका अनुसार, सिन्धुपाल्चोक देशकै सबभन्दा बढी पहिरो जोखिम भएको जिल्ला हो। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २०७२ को भुइँचालोबाट प्रभावित १४ जिल्लाको स्याटलाइट तस्बिर हेरेर जोखिम सूची तयार पारेको उनले बताए। त्यस आधारमा सिन्धुपाल्चोक सबभन्दा माथि छ। त्यसपछि दोस्रो नम्बरमा गोरखा र तेस्रोमा रसुवा पर्छ।
यति भनेर उनले आफ्नो ल्यापटप मतिर फर्काए र पछिल्लो पाँच वर्षमा विभिन्न समय खिचिएको सिन्धुपाल्चोकको स्याटलाइट तस्बिर देखाए।
आकासबाट सोलोडोलो रूपमा जमिनको रेसा–रेखा केलाएर निकालिने उक्त स्याटलाइट तस्बिर हेर्दा सिन्धुपाल्चोकको भोटेकोशी क्षेत्रमा भुइँचालोअघि र पछि जमिनको भूसतहमा आएको हलचल प्रस्टै देखिन्छ।
माथिको पहिलो तस्बिर भुइँचालोअघि सन् २०१४ को हो, जसमा खासै धेरै जमिन चिरा परेको देखिन्न। दोस्रो तस्बिर भुइँचालोपछि र मनसुन सुरू हुनुअघिको हो। यसमा भुइँचालोले भोटेकोशीको भूसतहमा प्रशस्तै धाँजा फाटेको देखिन्छ। यति धेरै धाँजा फाट्नुको अर्थ यहाँको जमिन अस्थिर छ र कुनै पनि बेला पहिरो जान सक्छ भन्ने संकेत हो।
यो तेस्रो तस्बिर त्यसै वर्ष (सन् २०१५) मनसुन सकिएपछि खिचिएको हो। यहाँ मनसुनअघि जहाँ–जहाँ धाँजा फाटेका थिए, त्यहाँ मनसुनी वर्षाले जमिन थप चिरा पारेको देखिन्छ।
यसले के बुझाउँछ भने, भुइँचालोले चिरा पारेको ठाउँबाट मनसुनी पानी जमिनभित्र प्रवेश गर्यो। यसले जमिनको सतह थप कमजोर पार्यो र चिराहरू बढ्दै गए। यो भनेको पहिरोको जोखिम अझ बढेको संकेत हो।
माथिका दुइटा तस्बिर भुइँचालो गएको अर्को वर्ष अर्थात् सन् २०१६ को मनसुनअघि र पछिको हो। यसले पनि भुइँचालो हलचलले जमिनको अस्थिरता बढ्दै गएको र धाँजाहरू अझ फाट्दै गएको देखाउँछ।
माथिका यी तस्बिर सन् २०१७ को मनसुनअघि र पछिका हुन्। यहाँ भुइँचालोले ल्याएका पहिरोका धाँजा अझ गहिरो बन्दै गएको देखिन्छ।
यी सन् २०१८ को मनसुनअघि र पछिका तस्बिर हुन्। यहाँसम्म आइपुग्दा पनि जमिनको अस्थिरता कम नभएको र पहिरो जाने जोखिम जस्ताको तस्तै रहेको प्रस्टै देखिन्छ।
सिन्धुपाल्चोकको यो अवस्था अहिले पनि कायम छ। यसपालि मनसुन सुरू भएपछि यहाँ जति पनि पहिरो गए, ती सबै भुइँचालोपछि धाँजा फाट्नु र त्यही छिद्रबाट पानी छिरेर जमिन कमजोर हुँदै जानुका परिणाम हुन्।
प्राधिकरणका प्रमुख कार्यकारी पोखरेलले मलाई सिन्धुपाल्चोककै एउटा गाउँको तस्बिर देखाए।
माथिको यो तस्बिरमा डाँडामाथि विभिन्न ठाउँ जमिन चिरा परेका छन्। ती चिरा परेका भागबाट माटो र चट्टान बग्दै आउने बाटो बनेको छ। डाँडाको फेदमा जहाँ स्कुल बनेको देखिन्छ, त्यो ठाउँ पहिरोले ल्याउने माटोको लेदो र चट्टान थुप्रिएर बनेको भाग हो। डाँडाको फेदमा पुट्ट भुँडी उक्सेजस्तो देखिने यस्तो भू–भागलाई भूगर्भ विज्ञानको भाषामा ‘डेब्रिस फ्यान’ भनिन्छ।
‘पहिरोमा सबभन्दा जोखिमपूर्ण ठाउँ डेब्रिस फ्यान हो,’ पोखरेलले भने, यस्तो भू–भाग लामो कालखण्डदेखि पहिरोले बगाएर ल्याएको माटो र ढुंगाको डेब्रिस थुप्रिएर बनेको हुन्छ। जब–जब पहिरो आउँछ, डाँडाबाट बग्ने माटो–चट्टान यही ठाउँमा आएर थुप्रिन्छ। यहाँ कुनै पनि संरचना बनाउनु भनेको जानाजान पहिरोमुनि लमतन्न पसारिनु हो।
नेपालका पहाडी क्षेत्रमा धेरै बजार वा बजारका संरचना यस्तै डाँडाको भुँडीमा बसेका हुन्छन्। यस्तो ठाउँ झट्ट हेर्दा समथर देखिन्छ। यहाँ संरचना बनाउन सजिलो हुन्छ। सामान्य समयमा जोखिम पनि नहोला, तर जब पहिरो जान्छ, माथिबाट वेगसाथ खस्ने चट्टानमुनि चेपिने खतरा यस्तै ठाउँमा बढी हुन्छ।
माथिको तस्बिरमै हेर्नुस् न, यस्तो खतरनाक ठाउँमा स्कुल बनेको छ। कल्पना गर्नुस् त, पहिरो आयो भने सबभन्दा पहिला को हताहत होलान्? त्यहाँ पढ्ने विद्यार्थीहरू।
यहाँको अर्को जोखिम के भने, डाँडाको टुप्पोमा बस्नेले पहिरोको लक्षण पहिल्यै चाल पाएका हुन्छन्। डाँडाको भुँडीमा बस्नेहरूलाई भने घन्टी नबजेसम्म खतराको भेउ हुन्न। अनि जब पहिरो जान्छ, एकैठाउँ चिरिप्प।
यहाँ भवन आचारसंहिता मानेर घर बनाउँदैमा पहिरोबाट त्राण पाइँदैन। ठाउँ नै जोखिमपूर्ण भएपछि घर जतिसुकै बलियो बनाए पनि के गर्नु!
देशैभरिका पहाडी क्षेत्रमा यस्तै स्याटलाइट तस्बिर निकाल्ने र कहाँ–कहाँको डाँडा जोखिमपूर्ण छ, ती जोखिमपूर्ण डाँडाको भुँडीमै बस्ती बसेको छ कि छैन पत्ता लगाउने काम भूगर्भविद्हरूको हो। सरकारले भूगर्भविद्हरू परिचालन गरेर देशैभरिबाट यस्तो नक्सा निकाल्न सक्छ। जोखिममा रहेका बस्ती पहिचान गर्न सक्छ। यसबाट कम्तिमा हरेक वर्ष पहिरोबाट ज्यान गुमाइरहेका औसत तीन सय जनालाई जोगाउन सकिन्छ।
राज्यले पहिरोलाई प्राथमिकता दिने हो भने यो कुनै ‘रकेट साइन्स’ होइन।
स्याटलाइट तस्बिरबाट भू–सतह अस्थिर भएको र पहिरो जाने जोखिम रहेको डाँडा पहिचान गरेर समयमै तारबार लगाउन सकिन्छ। यसलाई सामान्य बोलीचालीको भाषामा पहाडलाई ‘किला ठोकेर अडाउने’ भनिन्छ।
पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा कुनै समय हरेक वर्ष पहिरो गएर सडक आवागमन प्रभावित हुन्थ्यो। कति दिन राजधानी काठमाडौंमा मालसामान ढुवानी रोकिन्थ्यो। पेट्रोलियम पदार्थको हाहाकार हुन्थ्यो। कृष्णभीरलाई किला ठोकेर अडाएपछि धेरै समयदेखि यो समस्या टरेको छ।
यस्तै किला ठोक्ने काम पहिरो जोखिम भएका अरू डाँडाहरूमा पनि गर्न सकिन्छ। अचेल त जोखिमपूर्ण पहाडमा स्वचालित यन्त्र जडान गरेर त्यहाँको सानो–सानो हलचल मापन गर्ने सुविधा छ। त्यस्तो हलचल काठमाडौंको ‘कन्ट्रोल सेन्टर’ बाटै अनुगमन गरेर कुन ठाउँमा जमिन कति चिरा पर्यो, कुन ठाउँमा माटो फुसफुस खस्दैछ वा कुन ठाउँमा चट्टानहरू झर्न थालेका छन् भनी मिहिन अवलोकन गर्न सकिन्छ। यस आधारमा कुन डाँडाले यसपालिको मनसुनी बर्खा झेल्न सक्दैन भन्ने पहिल्यै अनुमान हुन्छ।
‘कतिपय पहिरो भने किला ठोकेर पनि थाम्न सकिँदैन,’ पोखरेलले भने, ‘त्यस्ता ठाउँमा स्थानीयहरूलाई स्थानान्तरण गर्नु नै एक मात्र विकल्प हो।’
यस्तो डाँडा पनि बेलैमा पहिचान हुने हो भने स्थानान्तरणको निम्ति स्थानीयलाई विश्वासमा लिन पर्याप्त समय हुन्छ।
ठाउँ भनेको हुलाकीले चिन्ने ठेगाना मात्र होइन। ठाउँसँग मान्छेको नाभी जोडिएको हुन्छ। कोही पनि मान्छे पुर्खौं पुर्खादेखि बस्दै आएको, आफ्नो खेतीपाती, जायजेथा र त्योभन्दा बढी आफ्नो संस्मरण जोडिएको ठाउँ छाडेर यसै अन्त बसाइँ सर्न तयार हुँदैन। उनीहरूलाई जोखिम बुझाएर सुरक्षित ठाउँमा स्थानान्तरण गराउन राज्यले पहल गर्नुपर्छ। स्थानीयको विश्वास जित्न समय लाग्ने हुँदा बेलैमा कदम चाल्नुपर्ने पोखरेल बताउँछन्।
जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठ स्थानीयलाई स्थानान्तरण गराउनु ‘जादूको छडी घुमाएजस्तो होइन’ भन्छन्।
‘जुन ठाउँमा मान्छे जन्मे–हुर्के, त्यो ठाउँ चटक्क छाडेर जाने को चाहन्छ?’ उनले भने, ‘त्यसमाथि नयाँ ठाउँमा घर कसले बनाइदिने? कसरी बनाउने? यसको जिम्मा राज्यले लिन्छ कि लिँदैन, त्यो पनि महत्वपूर्ण प्रश्न हो।’
यति मात्र होइन, डाँडाकाँडामा हचुवा तालले डोजर चलाएर बाटो खन्ने प्रवृत्तिले पनि पहिरो जोखिम बढाइदिएको छ।
पहिल्यै फुसफुस माटो झर्न थालेका वा धाँजा फाँटेका डाँडामा भौगर्भिक अध्ययनै नगरी डोजर चलाउँदा त्यहाँको माटो र चट्टान झनै कमजोर हुन्छ। जसरी हाम्रा दाँतहरू हल्लिएका छन् भने मसिनो ढुंगा चपाउँदा पनि फुस्किने डर हुन्छ, त्यस्तै डोजरको दारा र नंग्राले कापेरेर कमजोर पारिदिएका माटो र चट्टानले मनसुनी पानीको धक्का थेग्न सक्दैन।
डोजरले बनाएको चिराबाट मनसुनी पानी खुसुक्क छिर्छ। त्यसले माटो र चट्टानको आपसी जोड फुस्किन्छ र पहिरोका रूपमा बग्न थाल्छ।
यस्तो अवस्था नआओस् भनेर कुनै पनि ठाउँमा बाटो खन्नुअघि भौगर्भिक अध्ययन अनिवार्य छ। तर, डोजर किनेर आफैं इञ्जिनियर बनेका ठेकेदारहरू भौगर्भिक भवितव्यको ख्याल राख्दैनन्। केही परिहाले बेहोर्नुपर्ने गाउँलेहरूले न हो!
सरकारले पनि पहाडमा जान सक्ने पहिरोको कहरबाट आँखा चिम्लेर ‘डोजरे विकास’ लाई प्रोत्साहित गरिरहेको छ। सरकारलाई आफ्नो कार्यकालमा यति किलोमिटर बाटो खनियो भनेर तथ्यांक देखाउनुछ। भलै त्यही तथ्यांकका कारण हरेक वर्ष पहाडबाट पहिरोसँगै झर्ने मृतकको तथ्यांक किन नलम्बियोस्!
हामीले पहिरोको जोखिमलाई परैबाट विदा गर्ने हो भने कसैलाई पनि डोजरले डाँडा खोस्रन दिनु हुँदैन, पोखरेलले भने, ‘भौगर्भिक अध्ययनविना डाँडा खोस्रने कामलाई कानुनी रूपमै निषेध गर्नुपर्छ। कसैले यस्तो उपद्रो गर्यो भने कडाभन्दा कडा कारबाही गरिनुपर्छ।’
सहरी क्षेत्रमा पनि डाँडा खनेर प्लटिङ गर्ने बिगबिगी छ। बसोबास स्थल साँघुरो हुँदै गएका बेला त्यस्ता डाँडाका प्लटिङ जग्गा उच्च दाममा बिक्री भइरहेका छन्। तर, त्यहाँ पहिरोको जोखिम छ कि छैन, छ भने डाँडालाई घडेरी बनाउनुअघि जोखिम कम गर्ने उपाय अपनाइएको छ कि छैन भनेर कसैले हेरेको छैन। न त्यहाँ राज्यको ध्यान पुगेको छ, न जग्गा व्यवसायीहरूको।
‘भोलि केही परिहाले बेहोर्नुपर्ने त त्यहाँ घडेरी किनेर बस्न गएका सर्वसाधारणले हो,’ पोखरेलले भने, ‘सहरमा पहिरो जाँदैन भनेर कहीँ लेखेको छैन।’
असी प्रतिशतभन्दा बढी पहाडी भू–भाग रहेको हाम्रो देशमा पहिरो प्राकृतिक विपतहरूकै ‘यमराज’ हो। बाढी र चट्याङको दाँजोमा सबभन्दा बढी ज्यान यसैले लिन्छ। अझ हामी धेरैले नसोचेको कुरा त, यो भुइँचालोभन्दा ठूलो विपत हो।
भुइँचालोले एकैचोटि धेरैको ज्यान लिन्छ, त्यसैले सबैलाई भयभीत पार्छ। पहिरोले बर्सेनि खुसुखुसु ज्यान लिने हुँदा आँकडा थोरै देखिन्छ। त्यसैले, खासै ठूलो क्षति भएजस्तो लाग्दैन। अर्कातिर, भुइँचालोले बढी क्षति हुने सहरमा हो। सहरको आवाज राज्यले चाँडै सुन्छ। पहिरोको कहर भने दुरदराजको गाउँमा बर्सिन्छ। त्यहाँको पीडा या त राज्यसम्म पुग्दै पुग्दैन, या मधुरो सुनिन्छ।
गएको शुक्रबार सिन्धुपाल्चोकको लिदीमा पहिरो खसेपछि धेरैको ध्यान त्यता तानियो। नेताहरू पनि तारनतार भ्रमण गर्न गए। सहानुभूति प्रकट गरे। तर, नजिकैको खाँडीचउर पहिरोको उस्तै जोखिममा छ भन्ने राज्यले देखेको छैन।
‘खाँडीचउरका जनता असुरक्षित रूपले बसोबास गरिरहेका छन्। हामीले अहिलेसम्म भएका घटनाको नीतिगत जिम्मेवारी लिँदै यस्तै घटना नयाँ ठाउँमा नदोहोरियोस् भनेर चनाखो हुनुपर्छ,’ जुगल गाउँपालिकाका अध्यक्ष श्रेष्ठले भने।
राज्य चनाखो हुने कहिले त? लिदीमा जस्तै पहिरो खसिसकेपछि सहानुभूति प्रकट गर्न मात्र जाने? कि, रोकथामको उपाय पहिल्यै अपनाउने?
पछिल्लो ३० वर्षको तथ्यांक हेर्दा वर्षभरिमा सबभन्दा बढी पहिरो जाने साउन र भदौमा हो। साउनमा औसत १ हजार ९ सय ५६ पहिरो गएका छन् भने भदौमा यो संख्या १ हजार २ सय १६ छ।
साउन त बित्यो, भदौ सिंगै बाँकी छ।
यो पनि हेर्नुहोस्: