कोरोना संक्रमितको उपचारमा सफल मानिएको 'रेम्डेसिभिर' औषधि खरिद गर्न तीन वटा निजी कम्पनीलाई अनुमति दिइएको छ।
औषधि व्यवस्था विभागले मापदण्ड पुगेका तीन वटा निजी कम्पनीलाई रेम्डेसिभिर खरिद गर्ने अनुमति प्रदान गरेको हो।
विभागका निर्देशक नारायण प्रसाद ढकालले यती फर्मा, सिनर्जी ओभर्सिस र भियोभिस लाइभ साइन्सेसलाई रेम्डेसिभिर आयात गर्न अनुमति दिइएको जनाए।
'अन्य मुलुकमा पनि अनुमति दिइएको छ। त्यसैले हामीले पनि यसको क्लिनिकल ट्रायल गर्दै अनुसन्धान पनि गर्दै जाने हिसाबले अनुमति दिइएको हो,' उनले भने।
निर्देशक ढकालले आयात भएको रेम्डेसिभिर नेपाल स्वास्थ्य अनुसन्धान परिषद्सँग समन्वय गरेर प्रयोग गरिने बताए।
परिषद्का अनुसन्धानकर्ता मेघनाथ धिमालले भने, 'रेम्डेसिभिर आयात गरेपछि यो अरु औषधि जस्तो बजारमा बेच्न पाइने भनिएको हैन। चिकित्सकहरूको प्रत्यक्ष निगरानीमा आवश्यक बिरामीहरूलाई प्रयोग गर्ने हो।'
उनले चिकित्सकहरूले प्रयोग गरेपछि औषधिको प्रभावकारिताबारे परिषद्ले पनि अनुसन्धान गर्ने बताए।
अमेरिका, युरोप र भारतमा यसको प्रयोगमा सफलता देखिएपछि नेपालमा पनि यसको प्रभावकारिताबारे अध्ययन गर्न परिषद्ले कदम चालेको हो।
भारतमा पनि गत महिना यो औषधि केही संक्रमितहरूमा प्रयोग गर्दा प्रभावकारी देखिएको बताइएको छ।
विज्ञहरूका अनुसार 'एन्टी भाइरल ड्रग' को रुपमा रहेको यो औषधि संक्रमितलाई दिएपछि यसले भाइरसलाई परास्त गर्न सघाउ पुर्याउने छ। जसले गर्दा संक्रमित चाँडै निको भएर घर फर्कन सक्छन्।
कोरोना संक्रमितको उपचारमा खटिएका चिकित्सकहरूले पनि रेम्डेसिभिरको प्रयोगले बिरामीको अस्पताल बसाइँ छोट्याएको बताएका छन्।
टेकु अस्पतालका चिकित्सक अनुप बाँस्तोलाले भने, 'विभिन्न क्लिनिकल ट्रायलले रेम्डेसिभिरले संक्रमितको उपचारमा सघाउ पुर्याएको देखिएको छ। जसले गर्दा बिरामीको अस्पताल बसाइँ घटेको देखिन्छ। तर अहिले पनि अनुसन्धान भइरहेकाले यसले ठूलै परिवर्तन ल्याउँछ भन्नु हुँदैन।'
सुरूमा यो औषधि इबोला भाइरसको उपचारमा प्रयोग गरिएको थियो। यसलाई अमेरिकाको 'फुड एन्ड ड्रग एसोसिएसन' 'एफडिए' ले पनि मान्यता दिएको छ।
भारतलगायत अन्य देशमा प्रभावकारिता देखिएको भन्दै विज्ञहरूले यो औषधि नेपालमा पनि शिघ्र प्रयोगमा आउनुपर्ने जोड दिएका छन्।
कोरोना संक्रमितको उपचार गरिरहेका अस्पतालहरूले पनि रेम्डेसिभिरको प्रयोग गर्न आफू तयार रहेको जनाएका छन्।
टेकु अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले भने, 'हामीले डेक्सामेथासोन र प्लाज्मा थेरापीबाट उपचार गर्दै आएका छौं। अब रेम्डेसिभिर पनि छिट्टै प्रयोग गर्छौं।'