सुदूरपश्चिमका दुई विकट जिल्ला बाजुरा र बझाङको सदरमुकामसँग सडक सम्पर्क टुटेको छ।
डेढ महिनादेखि बाजुरा सदरमुकाम मार्तडी जोड्ने सडक पहिरोका कारण अवरुद्ध छ भने एक सातायता बझाङ सदरमुकाम चैनपुर जोड्ने सडक पनि अवरुद्ध छ।
असार २३ गतेको पहिरोले भासिएर अवरुद्ध साँफे– मार्तडी सडक मर्मत गर्ने विषयमा काम शुरु हुन नसकेको बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले जानकारी दिए।
‘अहिले उपयुक्त मौसम नभएकोले ठूलो क्षति भएको ठाउँमा सडक मर्मत गर्न सकिएको छैन,’ उनले भने। मार्तडी जोड्ने एकमात्र उक्त सडकमा पर्ने एउटा पक्की र अर्काे बेलिब्रीज नै बगेका छन्।
‘जहाँ भत्क्यो त्यही ठाउँमा सडक बनाउने भनिएको छ तर अहिले संम्भव छैन,’ गैह्रेले भने। बाजुरा सदरमुकामसँग सडक सम्पर्क टुटेपछि अहिले दैनिक उपभोग्य सामग्री, औषधि, निर्माण सामग्री आदि खच्चरबाट ढुवानी भइरहेको छ।
जसले गर्दा महँगी बढेको छ। रिफर गर्नुपर्ने विरामीहरुलाई बोकेर लग्नुपर्ने अवस्था छ।
बझाङमा जयपृथ्वी राजमार्ग अन्तर्गत तैमल जालेवगर, कटानीखोला र देवलमा वर्षाका कारण सडक भत्केकाले चैनपुरसम्मको सम्पर्क टुटेको त्यहाँका सहायक प्रमुख जिल्ला अधिकारी राम सार्कीले बताए।
सदरमुकामसँगको सडक सम्पर्क टुटेपछि मष्टा, सुर्मा, तलकोट, साइपाल, खप्तड छान्ना लगायतका स्थानीय तहसम्म अरु जिल्लाको सडक सम्पर्क पनि रोकिएको छ।
सडक डिभिजन कार्यालयले सेती नदी किनारमा लगाएको ग्यावीन वाल सबै बगाएकाले सडक सुचारु गर्न समस्या आएको छ। ‘सडक अवरुद्ध हुँदा तरकारी, खाद्यान्न र आवतजावतमा समस्या छ,’ सार्कीले भने। बझाङमा अहिले सडक मर्मतको काम भइरहेको छ।