लकडाउन आंशिक रूपमा खुकुलो पार्दै भदौ १ गतेबाट लामो दूरीका सवारीसाधन र अन्तर्राष्ट्रिय उडान गर्ने लक्ष्य सरकारको थियो।
तर, काठमाडौंमा कोरोना संक्रमितको संख्या अत्याधिक बढ्न थालेपछि सरकार पूर्वघोषणाबाट पछि हट्यो।
अब अन्तर्राष्ट्रिय उडान र लामो दूरीका सवारीसाधन कहिले सञ्चालन हुन्छन्, टुंगो छैन।
काठमाडौंका तीन नाकामा गत साउन ११ देखि १६ गतेसम्म गरिएको परीक्षणमा कोरोना संक्रमित अत्याधिक देखिएपछि गृह मन्त्रालयले ती तिनै नाका बेलुका ७ देखि बिहान ७ बजेसम्म बन्द गर्ने निर्णय गर्यो।
स्वास्थ्य मन्त्रालयका अनुसार ती तिनै नाकामा अस्थायी रूपमा स्वाब संकलन गरिएको थियो।
परीक्षण रिपोर्टअनुसार भक्तपुर नाकामा परीक्षण गरिएका ३५८५ मध्ये १४ जनामा संक्रमण देखियो। नागढुंगामा ६ हजार ६४ जनाको परीक्षण गर्दा १६ जनामा र फर्पिङमा एक हजार जाँच गर्दा ११ जनामा संक्रमण देखियो।
यही रिपोर्टका आधारमा लामो दूरीका सवारीसाधन चलाउन सरकार हच्केको थियो।
‘फर्पिङ नाका त एकदमै हाई रिस्क देखियो, एक हजार जनाको परीक्षण गर्दा ११ जना अर्थात् प्रतिसयमा एक जना संक्रमित देखिए,’ मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले भने, ‘तुलनात्मक रूपमा भक्तपुर नाका पनि असुरक्षित देखियो।’
दैनिक १२ घन्टा रातको समयमा नाका बन्द गरेर मात्र पनि कोरोना संक्रमणदर नघटेपछि गृहले सवारीसाधनको पासलाई थप व्यवस्थित बनाउन देशभरिका प्रशासनलाई निर्देशन दिएको छ।
पासवाहक सवारीसाधनका कारण कोरोना चुनौती बढेको भन्दै गृहले साउन २९ मा पासलाई व्यवस्थित बनाउन निर्देशन दिएको हो, जसमा यात्रा गर्ने मानिसको नामसमेत उल्लेख गरेरमात्र पास दिन भनिएको छ। नयाँ पास जारी नगर्नू भनिएको छैन।
पहिले, एक व्यक्तिले मात्र पास जारी गर्न सक्थे। त्यसमा संख्या तोकिन्थ्यो। जसकारण पासवाहकले भाडामा यात्रु ओसार्न थालेका थिए।
जगाती नाकाकै कुरा गर्ने हो भने अहिले पनि पासवाहकले यात्रु ओसार्न छोडेका छैनन्।
रामेछापका सुरेश आलेमगर शुक्रबार जगाती नाकाबाट हिँडेर साँगा चेक प्वाइन्ट जाँदै थिए। जगातीसम्म उनी माइक्रो बस चढे।
साँगा पुगेपछि उनले पासवाहक सवारीसाधन पक्डिए।
‘लकडाउनको बीचमा पनि म पासवाहक गाडीमा काठमाडौं आएँ,’ उनले भने, ‘अहिले फर्किँदा गाडी नचलेकाले पनि उसैगरी जानुपर्यो।’
उनी ज्याला मजदुरी गर्छन्।
जगातीदेखि साँगासम्म कुनै पनि गाडी चल्दैनन्। बाहिरबाट आएका सवारीसाधन (यात्रु ओसार्ने)हरू साँगामै रोकिएर यात्रु कुरिरहेका हुन्छन्।
‘यो बीचमा (साँगा-जगाती)बाहेक ठाउँमा चेकजाँच खासै हुँदैन,’ आले मगरले भने।
साँगामा गाडी रोकिएका मानिसहरू त्यहाँबाट हिँडेरै जगाती आइरहेका हुन्छन्, तिनीहरू बिना परीक्षण काठमाडौं छिरिरहेका हुन्छन्। बिहानैदेखि साँगाबाट काठमाडौं पस्नेहरू सडकमा झोलाझ्याम्टासहित हिँडिरहेका हुन्छन्।
उनीहरूको स्वास्थ्य परीक्षण कसले गर्ने? कि आफैं परीक्षण गर्न जानुपर्यो कि सरकारले केही न केही व्यवस्था नाकामै गर्नुपर्यो।
नेपालीमा आफैं परीक्षणमा जाने बानी एकदमै कम छ। प्रवक्ता गौतम नाकामै पिसिआर परीक्षण सम्भव नरहेको बताउँछन्।
महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक चक्रराज जोशी भन्छन्, ‘जगातीमा थर्मल गन बोकेर हाम्रै सुरक्षाकर्मी टेन्टभित्र बसिरहेका हुन्छन्, स्वास्थ्य मन्त्रालयको टोली यहाँ आएर बस्दैन।’
टेन्टभित्र आउनेहरूको मात्र ज्वरो नापिने गरेको छ। आफूखुसी हिँड्नेलाई कसैले रोक्ने गरेको छैन।
यसरी भित्रिएका व्यक्तिहरूले नै कोरोना संक्रमण दर बढाएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको भनाइ छ।
साँगा हुँदै दैनिक डेढदेखि दुई सय जना पासबाहक व्यक्ति काठमाडौं प्रवेश गरिरहेको वृत्तले जनाएको छ।
यीबाहेक अत्यावश्यक सेवा: एम्बुलेन्स, फलफूल, दूग्ध, खाद्यान्न, निर्माण सामग्री बोक्ने साधन दैनिक तीनदेखि चार हजार ओहोरदोहोर गर्छन्। ती साधनमा एक जना चालक र सहयोगी रहन्छन् भन्ने हिसाब-किताबमा प्रहरीले संख्या गन्ती गर्छ।
पछिल्लो ६ दिनमा जगाती नाकामा पासवाहक यात्रुको संख्या हेरौं।
साउन २३ गते २९९, २४ मा २८०, २५ मा १११, २६ मा १७४, २७ मा १५० र २८ गते १५५ जना मानिस पासवाहक सवारीसाधनबाट काठमाडौं भित्रिएका छन्। उनीहरूले आफू स्वस्थ रहेको प्रमाण बोकेका थिएनन्।
यही छ दिनमा साँगा नाकाबाट १२४८ जना पासवाहकलाई फर्काइएको छ। यसको अर्थ काठमाडौं छिर्न खोज्नेको संख्या अत्याधिक छ।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार वैशाख महिनामा राजधानीमा आगमन न्यून देखिन्छ। वैशाखमा जम्मा ६ हजार ७०५ यात्रु काठमाडौं प्रवेश गरेका छन्।
जेठमा यो संख्या बढेर २९ हजार २२४ जना पुगेको छ। लकडाउन आंशिक खुलेको महिना असारमा झन्डै तीन गुना बढेर ८३ हजार ७०६ पुगेको छ।
साउन महिनामा केही कम ६८ हजार ६९८ यात्रु काठमाडौं छिरेका छन्।
महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठका अनुसार थानकोट नाकामा पनि अवस्था उस्तै हो। पिसिआर जाँच नहुने भएकाले पासवाहक सवारीसाधन र यात्रु गणना गरेर छोडिन्छ।
‘पास राम्ररी हेर्छौं, पासमा उल्लेखित संख्यालाई छोडिन्छ, नभए फर्काइन्छ,’ श्रेष्ठले भने।
प्रहरी स्रोतका अनुसार सयौंको संख्यामा जारी भएका पासमा गन्तव्य स्थानको सम्बन्धित स्थानीय तहको सहमति पत्र र मिति हुँदैन। प्रमुख जिल्ला अधिकारी वा उनले अधिकार प्रत्यायोजन गरेको व्यक्तिले जारी गर्ने पासमा यस्ता समस्या देखिएका छन्।
‘सम्बन्धित जिल्लाको अधिकार प्राप्त व्यक्तिले जारी गरेका पासमा मिति र सहमति देखिन्नँ,’ स्रोतले भन्यो, ‘यस्ता पास जफत गरेर फर्काउन थालिएको छ।’
धादिङबाट जारी भएको पास सात दिनका लागि जारी गरिएको पाइएको छ। जबकी, धादिङबाट काठमाडौं आइपुग्न अढाइ घन्टा मात्र लाग्छ, त्यही दिन काम सकेर फर्किन सकिन्छ।
बागमती प्रदेशको सबैभन्दा बढी जोखिम जिल्ला काठमाडौं देखिएको छ। आइतबारमात्रै राजधानीमा १७२ जना कोरोना संक्रमित फेला परेका छन्।
रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक उत्तमकुमार कोइरालाका अनुसार काठमाडौंमा १५६७ जना संक्रमित देखिइसकेका छन्। यसको तुलनामा ललितपुरमा २६८ जना र भक्तपुरमा १३२ जना देखिएका छन्।
कोइरालाका अनुसार काठमाडौंको संक्रमण आयातित हो। लकडाउन खुलेपछि भएको आवागमन नै मुख्य कारण हो।
‘अहिले संक्रमण घर-घरबाट समुदायस्तरमा गइरहेको छ, परीक्षण बढाउने र आवागमन बन्द नै सबैभन्दा राम्रो हो,’ कोइराला भने।
मन्त्रालयका प्रवक्ता गौतमले राजधानीको संक्रमण कम गर्न आवागमन पूर्णरुपमा बन्द गराउनुपर्छ। अत्यावश्यक मृत्यु संस्कार, शववाहन र एम्बुलेन्सबाहेकका सवारीसाधन बन्द गराउनु पर्छ।
‘नाकामा पिसिआर परीक्षण गर्न सम्भव छैन, नाकामा आवागमन बन्द त गराउन सकिन्छ,’ उनले भने, ‘यो स्वास्थ्य मन्त्रालयबाट मात्रै सम्भव छैन, जिम्मेवारी पाएका अरू निकायले अग्रसरता देखाउनुपर्छ।’
कोइरालाका अनुसार काठमाडौंका अस्पतालहरूमा भेन्टिलेटर र आइसियु शैया भरिइसकेका छन्। भएका आइसोलेसन बेडहरू पनि भरिएका छन्।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा स्थानीय निकायलाई प्रभावकारी बनाइने भनिएको छ।
‘संक्रमितको संख्या झन् बढ्ने देखिन्छ, बेलैमा स्थानीय निकायहरू आइसोलेसन बेड बनाउन लाग्नु उपयुक्त देखिन्छ,’ कोइरालाले भने।
सबै तस्बिरहरू: खिलानाथ ढकाल/सेतोपाटी