मिस नेपाल अनुष्का श्रेष्ठले तीन दिनअघि सामाजिक सञ्जालमा एउटा पारिवारिक फोटो सेयर गरिन्। फोटोमा उनी र उनकी बहिनी आयुषाले सेतो फेटा बाँधेका छन्।
केही समुदायमा शुभ कार्य सम्पन्न गर्दा परिवारका पुरूष सदस्यलाई सम्मान स्वरूप टाउकोमा फेटा बाँधिदिने चलन छ। यस्तो फेटालाई नेवार भाषामा बेताली भनिन्छ।
तर अनुष्काको हजुरआमाको भीमरथारोहण अर्थात् जङ्क्व क्रममा 'परिवारको जिम्मेवारी, मान र वंश तिमीहरू नै हौ' भन्दै फुपू–फुपाजुले उनीहरूलाई फेटा बाँधिदिएको अनुष्काले लेखेकी छन्।
त्यस घटनाले भावुक हुँदै उनले भनेकी थिइन्, 'परिवारमा हामी दुई छोरी छौं। बहिनी र मलाई फत्ता (फेटा) बाँधिदिदा खुसीका आँसु आए। समानता र सम्मानको दिशामा सकारात्मक कदम चाल्दै गरेको समाजको पाटो हुन पाउँदा गर्व लाग्छ।'
अनुष्काकी हजुरआमा भुवनेश्वरी बिहीबार ७७ वर्ष ७ महिना ७ दिनकी भइन्। नेवार संस्कृतिअनुसार त्यो उमेर भनेको भीमरथारोहणको हो जहाँ चिर सुख, शान्ति र स्वास्थ्य लाभको कामना गरिन्छ।
आफैंले दुई पटक जङ्क्व गरिसकेका ८६ वर्षीय संस्कृतिविद तेजेश्वरबाबु ग्वंगःका अनुसार नेवार परम्परामा पहिलो जङ्क्व (भीमरथारोहण) ७७ वर्ष, ७ महिना, ७ दिन, ७ घडी, ७ पला उमेर पुगेपछि गरिन्छ। ७७ वर्ष पुगेको व्यक्ति भीमसेन जस्तै बलियो हुने विश्वास छ।
दोस्रोलाई चन्द्ररथारोहण भनिन्छ जुन सहस्र चन्द्र दर्शनका रूपमा एक हजार पटक पूर्णिमा दर्शन गरेको मानेर ८२ वर्ष उमेरमा गरिन्छ।
तेस्रो देवरथारोहण ८८ वर्ष, ८ महिना, ८ दिन, ८ घडी, ८ पलामा गरिन्छ जसमा रथलाई बाहिर घुमाउने हुँदैन। घरको झ्यालबाट रथ भित्र्याइने यो जङ्क्वलाई महारथारोहण पनि भनिन्छ।
चौथोलाई दिव्यरथारोहण भनिन्छ। ९९ वर्ष, ९ महिना, ९ दिन, ९ घडी, ९ पला उमेरसम्म बाँचिरहने बूढाबूढीलाई नयाँ घ्याम्पोमा राखिन्छ जसलाई आमाको गर्भमा बसेको मानिन्छ। त्यसपछि गुरुज्यूद्वारा तान्त्रिक विधिपूर्वक उक्त घ्याम्पोको पूजा गरिन्छ। बच्चा जन्मिएको अर्थात् पुनर्जन्मको भावअनुरूप घ्याम्पो फुटालेर अगाडिपट्टिबाट वृद्धवृद्धालाई निकालिन्छ।
'जङ्क्व क्रममा कान छेडेर मुन्द्रा लगाउने चलन पनि छ। यसबाट उनीहरूको उमेर अड्कल गर्न सजिलो हुन्छ,' ग्वंगःले भने।
यो परम्परामा वृद्धवृद्धालाई रथमा राखेर टोल वा नगर परिक्रमा पनि गराइन्छ। अनुष्काकी हजुरआमाले भने त्यसरी परिक्रमा गर्न नपाएको उनले बताइन्।
'हामीले रथ बनाएर नगर परिक्रमा गराउन नपाए पनि कुर्सीलाई नै सजाएर आसनजस्तो बनाएका थियौं,' कोरोना महामारीका कारण धेरै आफन्तलाई पनि बोलाउन नपाएको अनुष्काले बताइन्।
अन्य कार्यहरूमा घरका ठूला सदस्य (थकालीहरू) सहभागी हुने भए पनि यसमा घरका साना सदस्यहरू जोडिन पाउँदा उनी खुसी भइन्। बिहानदेखि पूजाआजा, सगुन दिने, उपहार दिने लगायत गतिविधि भए। हजुरआमाको हातबाट टीका पनि थाप्ने काम भयो।
त्यस दिन अनुष्काले पहिले कहिल्यै नदेखेको रूपमा हजुरआमालाई देखिन्। हजुरआमा दुलहीझैं रातो सारीमा सजिएकी थिइन्।
अनुष्का ६ महिनाकी हुँदा नै हजुरबुवाको निधन भएको थियो। उनीसँग हजुरबुवासँगका सम्झना छैनन्। तर हजुरबुवाका सम्झनाले हजुरआमालाई पछ्याइरहेको अनुष्का बताउँछिन्।
उनका अनुसार श्रीमान बितेपछि रातो लगाउने छुट हजुरआमालाई थियो। नेवार परम्पराअनुसार बेल र सूर्य विवाह भइसक्ने भएकाले त्यस्तो छुट पाइन्छ। तर उनकी हजुरआमाले लगाइनन्।
'हजुरआमाले कहिले पनि शुद्ध रातो रङ लगाउनुभएन। भीमरथारोहणको दिन पूरै रातोमा देख्न पाउँदा निकै खुसी लाग्यो,' अनुष्काले सेतोपाटीसँग भनिन्।
त्यस दिन जङ्क्व गरेका व्यक्तिले सूर्यलाई पूजा गर्छन्, सूर्यको शक्तिले अझै लामो जीवन बाच्न पाऊँ भनेर। भीमरोथारोहणपछि उनीहरू मान्छेको चरणबाट दैविक चरणमा पुग्छन् भन्ने पनि जनविश्वास छ।
'अबबाट हजुरआमाले बोलेको देवताले बोलेबराबर हुने रहेछ। एक हिसाबले जीवनको पदोन्नति जस्तै पनि रहेछ जङ्क्व,' उनले भनिन्।
त्यस्तै पदोन्नति समाजको संरचनामा पनि भइरहेको संकेतका रूपमा बुझ्दा हुन्छ अनुष्काकी हजुरआमा भुवनेश्वरीको भीमरोथारोहण।
त्यस दिन भुवनेश्वरीले सादा जीवनमा रङ भरेर आफ्नो उमेरको अर्को खुड्किलो मात्रै चढिनन्, उनका नातिनीहरूले पनि पितृसत्तालाई बेरेर पुरूष सदस्यले मात्रै लगाउने फेटा टाउकोमा बाधेँ।
पछिल्लो समय परम्परादेखि चलिआएका यस्ता पितृसत्तात्मक गतिविधि तोड्दै महिलाहरू सहभागी हुने क्रम बढ्दो छ।
इन्द्रजात्रामा शेषनागको प्रतीकका रूपमा मान्दै आएका रथका डोरी पहिले महिलाले छुन र नाघ्नै हुन्न भन्ने मान्यता थियो। अहिले महिलाले रथै तान्ने छुट्टै दिन इन्द्रजात्रामा हामी देख्छौं। त्यस्तै भैरवको प्रसादका रूपमा मानिने जाँड–रक्सी महिलाले खाने परम्परा पनि छ।
त्यसैगरी, वाद्यवादन बजाउने लगायत अन्य गतिविधिका नाइकेमा पनि अचेल महिलाको सहभागीता बढ्दै गएको देख्न सकिन्छ।
संस्कृतिविद् ग्वंगः परम्परामा यस्ता परिवर्तन समाज सुधारका मानक मान्छन्। संस्कृति नबिगारी तिनका अभ्यास सकारात्मक तरिकाले फेर्दै लग्न सकिने उनी बताउँछन्।
'संविधानले नै नारी पुरुष बराबर भनेको छ। देशकै राष्ट्रपति महिला भइसकिन् भने हामीले यो महिलाको, यो पुरुषको भन्नै मिल्दैन,' उनले भने, 'झन् महिलालाई सहभागी नगराई त परम्परा जोगाउनै सकिन्न।'
(सबिना श्रेष्ठका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्)