नयाँ बानेश्वरका एक ९८ वर्षीय कोरोना संक्रमित वृद्ध अहिले धुलिखेल अस्पतालमा छन्।
धुलिखेल अस्पतालको कोरोना वार्डको आइसियूमा उपचाररत् उनको रोग प्रतिरोधक क्षमता कमजोर छ।
रोग प्रतिरोधक क्षमता कमजोर रहेकाहरूको लागि तत्काल प्लाज्मा थेरापीबाट उपचार गर्नुपर्ने डाक्टरको सुझाव छ।
तर, आवश्यक पर्ने रगत अभावका कारण उनको समयमै उपचार हुन नसकेको उनका छोराले बताए।
‘ए प्लस पोजेटिभ रगत चाहिएको छ, तर भेटिइरहेको छैन,’ उनले भने।
प्लाज्मा थेरापीका लागि जुन रगत समूहको बिरामी हो, त्यससँग मिल्ने समूहको पनि निको भइसकेको संक्रमितको रगत चाहिन्छ। तर, त्यस्तो रगत अहिलेसम्म नपाइएको उनले बताए।
‘ब्लड बैंकमा भनेका छौं, एक जना महिलाबाट कोशिस गरे पनि त्यो सम्भव नहुने कुरा डाक्टरले गरिरहेका छन्,’ उनले भने।
वृद्ध अन्य हिसाबले तन्दुरुस्त थिए। एक साताअघि कोरोना संक्रमणको लक्षण देखिएपछि उनलाई छोराले धुलिखेल अस्पताल पुर्याएका थिए। त्यहाँ पिसिआर परीक्षण गर्दा उनलाई कोरोना संक्रमण देखियो।
अहिले उनको स्वास्थ्यमा समस्या देखिन थालेको छ। ‘उहाँलाई स्वास फेर्न गाह्रो हुने, छाती र घाँटीमा समस्या देखिएको छ,’ छोराले भने।
आफू पनि धुलिखेल अस्पतालमै काम गर्ने भएकाले त्यतै लगेर बुवालाई उपचारमा राखेको उनले बताए।
उनका अनुसार बुवा घरमै बस्थे। बाहिर आउजाउ थिएन। छोराबुहारीले उनको रेखदेख गर्थे। छोराबुहारीको पिसिआर पोजेटिभ देखिएको छ। दुवै बानेश्वरको घरमै आइसोलेसनमा बसेका छन्।
वृद्धको परिवारमा १२ जना छन्। छोराबुहारीबाहेक अन्य ९ सदस्यको भने पिसिआर नेगेटिभ आएको छ भने एक जनाको रिपोर्ट आइसकेको छैन।
डाक्टरले प्लाज्मा थेरापीबाहेक विकल्प नरहेको बताएपछि छोराहरू अहिले रगतको खोजीमा छन्।
सरकारले १५ वटा अस्पताललाई कोरोना संक्रमणको गम्भीर बिरामीमा ‘प्लाज्मा थेरापी’बाट उपचार गर्न अनुमति दिएको छ।
चार वटा निजीसहित १५ वटा अस्पताललाई उक्त विधिबाट संक्रमितको उपचार गर्न स्वीकृति दिइएको छ।
अनुमति पाउने निजी अस्पतालहरूमा मेडिसिटी, ग्रान्डी, ह्याम्स, नेपालगन्ज मेडिकल कलेज, सरकारी अस्पतालहरूमा धुलिखेल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, टिचिङ, पाटन, शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, कोसी, नारायणी, भक्तपुर, भेरी र सेती अस्पताल छन्।
यी अस्पतालहरूले कोरोना संक्रमित गम्भीर बिरामीलाई प्लाज्मा दिएर उपचार गर्न सक्छन्। तर त्यसको लागि दाता र संक्रमित भई निको भएका बिरामी दुवैको स्वीकृति लिनुपर्ने हुन्छ, र रगत समूह मिलेको हुनुपर्छ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार यस्तो समस्या भएमा सम्बन्धित अस्पतालले नै रगत समूहको खोजी गर्न सक्छ।
‘प्लाज्मा थेरापी गर्ने १५ वटा अस्पताल एक अर्कामा संयोजनमा हुन्छन्, एकमा नभए अर्कोमा भन्न सकिन्छ,’ परिषद्का अनुसन्धान अधिकृत सरोज भट्टराईले भने, ‘हामीकहाँ उपचारका लागि रगत खोजीदिन अनुरोध आएको छैन।’
धुलिखेल अस्पतालले पनि वृद्धको प्लाज्मा थेरापीका लागि रगत खोजिरहेको छ।
यसअघि पहिलो पटक टिचिङ अस्पतालमा कोरोना संक्रमित व्यक्तिको प्लाज्मा थेरापीबाट उपचार गरिएको थियो। अहिले उनी निको भएर डिस्चार्ज भइसकेका छन्।