पोखरामा उपचार गर्न आएकी एक महिलामा मृत्युपछि कोरोना पुष्टि भएको छ।
तनहुँको व्यास १ अम्रेनीका ५० वर्षीय महिला उपचारका लागि साउन ३१ गते पोखरा आएकी थिइन्।
उनलाई निमोनियाका साथै सुगर, प्रेसर र मुटुको समस्या थियो।
पोखरा स्थित कास्की सेवा अस्पतालमा भर्ना हुँदा नै उनको अवस्था चिन्ताजनक रहेको अस्पताल संचालक डा. पदम खड्काले बताए।
अस्पतालमा भर्ना भएपछि आइतबार ती महिलाको स्वाब कोरोना परिक्षणका लागि प्रयोगशाला पठाएको खड्काले बताए।
‘स्वाब परिक्षणको रिपोर्ट नआउँदै सोमबार राती उनको मृत्यु भयो, रिपोर्ट मंगलबार बिहान आयो’ खड्काले भने।
मृतकको शव व्यवस्थापनको तयारी गरेको प्रदेश स्वास्थ्य निर्देशक डा. बिनोदबिन्दु शर्माले बताए।
मृतक सहित मंगलबार मात्र गण्डकी प्रदेशमा ८ जना संक्रमित थपिएका छन्।
जसमा कास्कीमा ४ जना, नवलपुरमा २ जना र बाग्लुङमा २ जना संक्रमित थपिएको डा. शर्माले बताए।