पोखरामा कोरोना संक्रमणका कारण थप एक जना ८७ वर्षीय पुरूषको मृत्यु भएको छ।
उच्च ज्वरो तथा श्वासप्रश्वासमा समस्या आएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भर्ना भएका पोखरा १६ का वृद्धको मंगलबार बिहान मृत्यु भएको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले बताए।
अस्पतालका अनुसार ती वृद्ध उपचारका लागि साउन ३२ गते अस्पालमा भर्ना भएका थिए।
उच्च ज्वरो, श्वासप्रश्वासमा समस्याका साथै उनलाई उच्च रक्तचाप, मधुमेह, मिर्गौला लगायतका समस्या रहेको डा. आचार्यले बताए।
अवस्था चिन्ताजनक भएपछि सोमबार उनलाई कोभिड–१९ उपचार केन्द्रको आइसियूमा भर्ना गरिएको थियो।
यसअघि पोखरामै उपचाररत् तनहुँका एक महिलाको मृत्यु भएको थियो।
तनहुँको व्यास १ अम्रेनीका ५० वर्षीया महिला निमोनियाका साथै सुगर, प्रेसर र मुटुको समस्या भएपछि साउन ३१ गते उपचारका लागि कास्की सेवा अस्पतालमा भर्ना भएकी थिइन्।
उनको आइतबार स्वाब परीक्षण गर्न पठाइएको थियो। तर सोमबार राति उनको मृत्यु भयो भने आइतबार स्वाबको रिपोर्ट पोजेटिभ आएको थियो।
मृतक दुबै जनाको शव व्यवस्थापनको तयारी भइरहेको प्रशासनले जनाएको छ। योसँगै गण्डकी प्रदेशमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या सात पुगेको छ।
गण्डकीमा हालसम्म कोरोना संक्रमितको संख्या १ हजार ७ सय ६५ जना पुगेका छन्। जसमा ९ जना मंगलबार थपिएका हुन्। संक्रमितमध्ये १ हजार ५ सय ५० जना निको भएर घर गएका छन्।
अहिले आइसोलेसनमा २ सय ८ जना संक्रमित छन्।
यस्तै, गण्डकीका क्वारेन्टिनमा १ हजार १ सय ५० जना रहेको प्रदेश स्वास्थ्य निर्देशक डा. बिनोदबिन्दु शर्माले बताए।