सम्पादकीय नोट: राष्ट्रकवि माधवप्रसाद घिमिरेको मंगलबार १०१ वर्षको उमेरमा निधन भएको छ। उनको १०१ औं जन्मोत्सवका अवसरमा सेतोपाटीले प्रकाशन गरेको सामग्री हामीले पुन: प्रकाशन गरेका छौं।
घरक्क ढोका उघार्दैखेरि मैले देखेँ, एक तलामाथि कुर्सीमा बसेर टोलाइरहेका राष्ट्रकवि माधवप्रसाद घिमिरेको ढाका टोपी चल्मलायो। उनी अलिकति तन्किए। उठेर झ्यालमै आए। तल हेरे। मुस्कुराएर हाम्रो नमस्कार फर्काए। फेरि गएर कुर्सीमै बसे।
रुख, फूल, तरकारी र मकैबारीबीच उनको दुईतले घर छ, उता पहाडको पाखाबारीतिरको झल्को आउने! उनका कवितामा पनि त पहाडकै झझल्को बढी हुन्छ!
त्यही तलाको अर्को ढोकामा उनकी अर्धाङ्गिनी महाकाली देखा परिन्, ‘एकै छिन सुस्ताउन दिनुहोस् है, धेरै बेर बोल्नुभयो आज।’
हामीभन्दा पहिले पनि केही पाहुनासँग धेरै बेर गफिएछन् उनी। यसरी गफै गरेर उनको ज्यानको तागत सकिएला भनेर महाकाली चिन्तित रहिछन्। बुढेसकालमा बोल्न किफायती हुनुपर्छ भनेर महाकालीले नै बेलाबेला आराम गर्ने आदेश दिइरहन्छिन्। नभए त राष्ट्रकवि यस्ता छन्, बोलेरै थाक्दैनन्।
त्यही बानीले होला, सातै मिनेटमा उनी ठमठम्ती भर्याङ झरेर तल आइहाले।
चौध वर्ष उमेरदेखि नेपाली समाज, मानव जीवन र प्रकृतिलाई टिपेर गीत र कवितामा उन्न थालेका हुन् घिमिरेले। आज पनि भेट्न आउनेहरूलाई उनी आफ्ना कविता भाका हालेर सुनाउँछन्।
हामीले पनि लोकभाकामा उनको कविता सुनेपछि भेट्न आउनुको प्रयोजन खुलायौं। हामी उनको दिनचर्याबारे सोध्न गएका थियौं।
‘यो उमेरमा पनि यति हट्टा हुनुहुन्छ!’
प्रश्न भुइँमा झर्न नपाउँदै उनले ठट्टा गरे, ‘खान नपाए पनि बाघको मुख रातै हुन्छ भन्छन् नि।’
...
१९७६ असोजमा लमजुङको पुस्तुन गाउँमा जन्मिएका हुन्, माधव घिमिरे। मनास्लु हिमालमुनि बगेको मर्स्याङ्दी नदी किनारमा पर्छ उनको गाउँ। अढाई वर्षमै उनले आमा गुमाएर टुहुरो हुनुपरेको थियो।
उमेरमा आमासँग टाढिनुपरेपछि मनासलुमा हिँउझैं उनको मनमा पनि विरह जमेर बसेछ। सायद त्यही भएर, सानैदेखि मनमा रहेको विरहलाई उनले आफ्ना कवितामा मिसाए। र, दुःखको छायाले नै जीवनलाई अर्थ दिन्छ भन्ने सम्झाए।
त्यसैले त कवि भन्छन्, ‘कोही दुःखैदुःखमा परेर मर्न पाए भन्ने सोच्छ, तर दुःखबाट उठेर गएको छ भने बल्ल त्यसलाई बाँचेको सार भनिन्छ।’
घिमिरे पनि दुःखबाट उठेर आएका मान्छे हुन्।
बाल्यकाल बुवासँगै गाई हेरेर बित्यो। १२ वर्ष पुगेपछि उनलाई बुवाले दुराडाँडामा पढ्न पठाए। त्यहाँ संस्कृत पाठशाला थियो। पाठशालामा पढ्दापढ्दै उनी काठमाडौं आएका थिए। १९९२ सालमा उनले गोरखापत्रमा पहिलो कविता छपाएपछि उनको कवितायात्रा सुरु भएको हो।
२००४ सालमा उनले आफ्नी पहिली पत्नी गुमाउनुपरेको थियो। दुई छोरी भैसकेपछि आफूलाई छाडेर गएकी पत्नीको वियोगमा उनले ‘गौरी’ शोककाव्य लेखे। पत्नी वियोगबाट सम्हालिएर उनी त जीवनवादी कवि बने। ‘सुखै सुख पाएको र वियोग नभोगेको मान्छेले जीवनको एउटा सत्य नै बुझ्दैन,’ उनले भने।
गौरी, किन्नर–किन्नरी, राजेन्द्रलक्ष्मी लगायत चर्चित काव्य लेखेका उनी गाउँछ गीत नेपाली, लाग्दछ मलाई रमाइलो, फूलको थुंगा बगेर गयो जस्ता लोकप्रिय गीतका सर्जक हुन्। गाउँघरका सुखदुःखलाई भाका हाल्न मिल्ने शब्द, प्रेम विछोड र राष्ट्रियताको भावनालाई लय दिएर लेखेका गीत–कवितामार्फत उनले नेपाली साहित्यमा लालित्य भरिदिएका छन्।
‘गाउँलाई सम्झने छायाछवि मेरा कवितामा हुन्छन्,’ उनले भने, ‘जुन कुरा पहिलोपटक आँखा उघारेर हेरियो त्यो जति राम्रो केही हुन्न। जीवनको पहिलो प्रभाव धेरै गम्भीर कुरा हो। म पहाडको मान्छे त्यसको छाप मेरा कवितामा पनि पर्यो।’
आफूले पहाडी गाउँले जीवनलाई आधार बनाएर लेखे पनि त्यसमा संसारको मानव जीवनकै भाव पोखिएको उनी बताउँछन्।
माटै र छोउँ भने भैदिन्छ फूल
फूलै र छोउँ भने भै दिन्छ दिल
दिलै र छोए के हुन्छ कुन्नी
मै परेँ अलमल
घाम र छाँयाले पलै र पल बदले रंग
थलै र थल सुन्दर हजार !
भाका हालेर कविता सुनाएपछि उनले आफूले लेख्दै गरेको महाकाव्यको कुरा झिके। ‘सात–आठ वर्षयता म महाकाव्य लेखुँ भनेर लागिरहेको छु,’ उनले भने, ‘त्यो अधकल्चो नरहोस् भन्नेमा छु।’
...
१०१ वर्ष उमेरमा पनि उनी आफ्नो स्याहार आफैं गर्न सक्छन्। किताब पढ्छन्। आफैं कविता लेख्न, कहिलेकहिले बाहिर कार्यक्रममा जान सक्छन्।
घरमै आएका पाहुनालाई हाँसोठट्टा, अर्ति र कविता सुनाउँदा सास फुल्दैन उनको। उनको गालामा चाउरीसमेत देखिँदैन। यो उमेरमा चिल्लो र उज्यालो अनुहार भएका यी कविलाई सोधियो, ‘के गर्नुभयो र यति हट्टाकट्टा हुनुहुन्छ?’
उनले सुरु गरे, ‘एउटा बानीको कुरा हो। आफ्नो स्वास्थ्य कसरी सुरक्षित गर्नुपर्छ भन्ने आफैंले जान्नुपर्छ। नसादार चिज धेरै खायो, निदाउने समय मिलेन भने स्वास्थ्य बिग्रिन्छ।’
‘व्यवहारमा सन्तुलन मिलाउनुपर्छ। असल विचार, चिन्तन, सिर्जनशीलता, योगको अभ्यास, खानापान र निद्राको सन्तुलन मिल्नुपर्छ,’ उनले आफ्नो स्वस्थ जीवनको रहस्य खोले।
एउटा तल खस्यो अर्को माथि उठिसक्यो भने त्यहाँ लय आउँदैन। संगीतमा जस्तै जिउनीमा पनि लय हुन्छ। हामी सामान्यजसो हिँडिरहेका बेला विचार गरे लय भेटिन्छ रे। किनभने, जीवनमै लय छ।
‘हिँडाइमा सन्तुलन मिलाउनुस् शरीरले आफैं लय कायम गर्छ। बरु हामी आफूले आफैंलाई बिगार्छम्। हाम्रो जीवन मात्र होइन, प्राकृतिक जीवन पनि लयमै हिँडेको हुन्छ,’ उनले भने।
उनले ५० वर्ष उमेरदेखि नै खानपानमा होस गर्न थालेका हुन्। त्यही बेलादेखि योग साधना पनि लागे। महाकालीका अनुसार उनी हरेक दिन बिहान ६ बजे उठ्छन्। योग आसन गर्छन्। चिया खान्छन्। घरवरिपरि अलिबेर डुल्छन्। फेरि योग गर्छन्। आठ बजेतिर बिहानी नित्यकर्म सकेर चियाखाजा र रक्तचापको औषधि खान्छन्। त्यसपछि आफ्नो नियमित काम गर्न थाल्छन्। नियमित काम, अर्थात्, उही कविता लेख्ने र पछिल्लो समयमा थालेको नयाँ काव्य पूरा गर्ने। बिहान ११ बजे खाना खाएपछि भने एकछिन आराम गर्दा रहेछन्। अनि उनको भेटघाटको समय सुरु हुन्छ।
उनी यो उमेरमा पनि किन काव्य पूरा गर्ने ध्याउन्नमा छन् त?
‘कविलाई बाँच्न प्रेरणा दिने कविताले नै हो। जीवन सापेक्ष हुन्छ भने पनि कहिलेकाहीँ बाँच्नलाई आफैंभित्र आउने अनौठा प्रेरणालाई शब्द दिन सकिन्न,’ उनले भने, ‘म पहाडको मान्छे, सात मोहोर खल्तीमा हालेर काठमाडौं पुगिन्छ भनेर उत्साहित भएँ। सुखमा मात्रै बस्न खोजिन। के प्रेरणा हो के प्रेरणा हो, पढ्ने भनेपछि हिँडे। भगवानले बाटो देखाएको हो कि मैभित्र केही थियो! अनौठो हुने रहेछ यस्तो कुरा भनेको।’
अहिले पनि उनलाई त्यसबेला गाउँबाट किन हिँडे होला भनेर अचम्म लागिरहन्छ। गाउँमा दूधभात खान गाह्रो थिएन। गाउँकै स्कुलमा पढेकाले पनि उतिबेला इज्जत कमाउन सकिन्थ्यो। जीवन धान्न त झन् गाह्रै थिएन।
‘पढाइकै निम्ति मैले घर छाड्नुपर्यो। पढाइमा सधैं पहिला भएँ, दोस्रो भइन्छ कि भन्ने त्राहीले पनि डोर्यायो होला कि! यसै हो भन्न नसकिने रहेछ,’ उनले भने।
‘जुन चिज मिले सबै पाइन्छ, जुन चिज गएपछि सबै खत्तम, त्यो जत्तिको महत्वपूर्ण के हो? व्याख्या पनि गर्न नसकिने हुनाले मैले उदाहरणजस्तो भन्ने गरेको छु। यो भगवानको वरदान हो, सदुपयोग गरे फलैफल दिन्छ, दुरुपयोग गरे अभिसाप बन्छ। जीवन चाहिँ ज्यादै दुर्लभ चिज हो,’ उनले भने।
त्यसपछि उनले फेरि अर्को कविता सुनाएः
केही काम नौलो नगरी नजाउँ
अकालमै मै मरी नजाउँ
भविष्य देउ र आयुष्य देउ
मभित्र जीवन्त रस्य देउ!!
उनको मनमा अझै पनि नौलो काम गर्ने धोको रहेछ। लेख्दै गरेको ‘ऋतम्भरा’ महाकाव्य अधकल्चो हुन्छ कि भन्ने पिर पनि लाग्छ रे कहिलेकाहीँ।
बुढेसकाल कस्तो लाग्दो रहेछ छ त?
‘बुढेसकालको आफ्नै शोभा छ, यी तपाईंहरू आउनुहुन्छ अनि उपदेश दिन पाइन्छ नि,’ उनले फेरि ठट्टै गरे।
महाकालीले यसमा थपिन्, ‘कहिलेकाहीँ त दिनभरि मान्छे आउँछन्। उहाँ दिनभरि गफ गरेरै बस्नुहुन्छ, दिन त्यसै सिद्धिन्छ।’
साँझको समय बरु अलि फुर्सदमा लेख्न पाउँदा रहेछन्। थोरै समय टिभी हेरेर र संगीत सुनेर पनि बिताउँछन्। राष्ट्रकवि शास्त्रीय संगीतका सोखिन हुन्। कविता लेख्दा बेलाबेला यही संगीत उनको कोठामा गुञ्जिरहन्छ।
‘धेरै नै सुन्नुहुन्छ, किताब पनि पढ्नुहुन्छ, उहाँको रमाइलो त्यही हो,’ महाकालीले भनिन्।
राष्ट्रकविको नियमित खान्की भने सामान्य दालभात, तरकारी नै हो। आफू बिहे गरेर आएदेखि उनको यो खान्की नफेरिएको महाकाली बताउँछिन्। राष्ट्रकवि गाउँ छाडेको वर्षौं भए पनि हरेक छाकमा बाल्यकालकै स्वाद खोज्छन्। उनलाई हरेक दिन दूधभात नखाई हुन्न।
खान्की, योग र नियमित क्रियाशील दिनचर्या नै उनको स्वस्थ जीवनको रहस्य रहेछ। उनले दीर्घजीवनको अर्को रहस्य पनि खोले, ‘मान्छेले सद्विचार लिनुपर्छ। ह्या त्यो फलानो मान्छे रद्दी छ, त्योभन्दा त मै राम्रै भन्ठानेर उसलाई गाली गर्यो भने त्यसले त्यो मान्छेलाई हैन, आफैंलाई घात गर्छ।’
उनले आफ्नो भनाइ यसरी अर्थ्याए, ‘त्यो खराब हो भन्नासाथ त्यसको एउटा कालो रूप आफ्नो हृदयभित्र पस्छ। उसलाई त थाहै हुन्न आफूले गाली गरेको। थाहा नभएको कुरा के हुन्छ त भन्दा आफैंतिर फर्किन्छ। र, त्यसले आफैंलाई बिगार गर्छ।'
तस्बिरहरू: नारायण महर्जन/सेतोपाटी