कोरोना संक्रमितको उपचारमा खटिएका ललितपुरस्थित पाटन अस्पतालका स्टाफ नर्सहरूले जोखिम भत्ता नपाएको गुनासो गरेका छन्।
सरकारले कोरोना उपचारमा फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मीलाई शतप्रतिशत भत्ता दिने भने पनि आफूहरूले एक पैसा भत्ता नपाएको उनीहरूले बताएका छन्।
सेतोपाटीसँग कुरा गर्दै कोरोना संक्रमितको उपचारमा खटिएकी एकजना नर्सले भनिन्, 'सुरूवातदेखि नै कोभिड वार्डमा खटिएकी छु। न बेलामा खान पाइन्छ न सुत्न नै। यसरी खटिँदा पनि अहिलेसम्म एक रुपैयाँ भत्ता पाएको छैन।'
सरकारले पाटन अस्पताललाई कोरोना हब अस्पताल तोकेदेखि नै आफू संक्रमितको उपचारमा खटिएको उनी बताउँछिन्।
यसअघि आइसियू वार्डमा रहेकी उनी अहिले कोभिड वार्डमा छिन्।
सरकारले फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मीलाई शतप्रतिशत भत्ता दिने निर्णय गरेपछि काम गर्न थप उत्साहित भएको भन्दै उनले भनिन्, 'त्यो बेला सरकारले हाम्रो खटाइ र योगदानलाई कदर गर्यो भन्ने भयो। तर अहिले एक रुपैयाँ भत्ता नपाउँदा दुःख लागेको छ।'
दैनिक १२ घन्टा ड्युटीमा खटिनु पर्दा बेलामा खान र बाथरूमसमेत जान नपाएको उनी बताउँछन्।
'पिपिई लगाएर १२ घन्टा बस्नुपर्छ। बिहानको खाना कहिले दिउँसोको ३ बजे खानुपर्छ। रातिको ड्युटी पर्यो भने पनि बिहानको ३ बजे खाना खानुपर्छ,' उनले भनिन्, 'भनेको बेला पानी खान पाइँदैन। बाथरूम जान पाइँदैन। यसले गर्दा कति साथीलाई त पिसाबमा समस्या पनि देखिएको छ।'
उनले केही समयअघि मात्र आइसियूमा एकजना नर्स बेहोस भएको सुनाइन्। पिपिई र दुईवटा मास्क प्रयोग गर्नुपर्दा सास फेर्न गाह्रो हुने भन्दै कतिपयलाई अप्ठेरो हुने गरेको उनले बताइन्। उनले आफूलाई एक सातादेखि टाउको दुखेको र सिटामोल खाएर ड्युटी गरेको जनाइन्।
महिनावारी हुँदा थप समस्या हुने उनी बताउँछिन्।
'मैले महिनावारी हुँदा प्याड नै नफेरी बस्नुपर्यो। पछि घरमा गएर सुनाउँदा ममी रुनुभो,' उनी भन्छिन्, 'यसरी काम गरेपछि त अस्पतालले हाम्रो दुःखलाई बुझ्नुपर्यो नि।'
कोरोना उपचारमै खटिएका अर्की नर्सले पनि भत्ता नपाएकोमा गुनासो पोखिन्। 'हामीले पत्र पनि लेखेको हो तर न पत्रको जवाफ आएको छ न केही बोल्नुहुन्छ।'
उनी भने आइसियू वार्डमा खटिएकी छिन्। जहाँ अहिले पनि ११ जना संक्रमितको उपचार भइरहेको छ। उनले संक्रमितको उपचारमा चाहिने नर्सको संख्या पनि कमी रहेको बताइन्।
'अहिले आइसियूको लागि कम्तिमा १२ जना स्टाफ नर्स चाहिएको छ तर जम्मा ४ जनाले हेर्नुपरेको छ। खाना खाने फुर्सद पनि पाएको छैन। बेलामा पानी खाना नपाएर कतिलाई 'युरिन इन्फेक्सन' भएको छ। अनि यसरी काम गर्दा पनि भत्ता चाहि किन नपाउने?,' उनले रोष पोखिन्।
नर्सहरूकै अभावका कारण संक्रमितहरूबाट पनि पटक-पटक गुनासो आइरहने उनी बताउँछिन्।
आइसियूमा रहेका बिरामीहरूले नर्सहरूकै अभावमा समयमा खान नपाएको उनले जनाइन्।
'थोरै नर्स हन्छन्। अनि त्यहीँ बेला आइसियूमा रहेका बिरामीले बाथरूम जाने भन्नुहुन्छ। फेरि उहाँहरूलाई हामीले नै लानुपर्छ। त्यहीँबेला यता अर्को बिरामीलाई खाना खुवाउनु पर्ने हुन्छ। अनि यति थोरै नर्सले कसरी भ्याउनु?,' उनले भनिन्।
उनको अस्पताल नर्सहरूको स्वास्थ्यबारे संवेदनशील नभएको पनि बताइन्। चार महिनामा जम्मा एकचोटी पिसिआर परीक्षण गरेको बताउँदै उनले भनिन्, 'यहाँ नर्सहरूको पिसिआर परीक्षण गर्नु पनि झगडा गर्नुपर्छ। परीक्षण गर्नुपर्यो भने दश जना मान्छेको अनुमति लिनुपर्छ। संक्रमितको उपचारमा खटिएको चार महिना हुँदा मेरो जम्मा एकपटक मात्र पिसिआर परीक्षण भएको छ।'
अर्का नर्सले पनि अस्पतालले पिसिआर परीक्षण गर्न आनाकानी गर्ने गरेको बताइन्। उनले आफ्नो घाँटी दुख्दा पनि पिसिआर परीक्षण गर्न खोज्दा डक्टरले टन्सिल हेरेर परीक्षण गर्न नपर्ने बताएको सुनाइन्।
'लक्षण नदेखिएकालाई पनि संक्रमण देखिएको छ। दिनरात कोरोना संक्रमित बिरामीको सम्पर्कमा हुन्छौं अनि हामी कसरी ढुक्क रहने?,' उनले चिन्ता व्यक्त गरिन्।
अस्पतालले आफ्ना नर्सहरूलाई बस्नलाई होस्टेलको व्यवस्था गरेपनि त्यो राम्रो नभएको उनी बताउँछिन्। अस्पतालले आफ्नो परिसर नजिकै एउटा घर भाडामा लिएर आफ्ना नर्सहरूलाई राख्दै आएको छ। होस्टलको एउटा कोठामा तीन जना नर्सलाई राखिएको छ।
ती नर्स भन्छिन्, 'एउटा कोठामा तीन जना राखिएको छ। एकजनालाई संक्रमण भयो भने बाँकीलाई पनि सर्ने सम्भावना बढी हुन्छ।'
यसरी दिनरात खटिँदा पनि सरकारले तोकेको भत्ता नपाएको भन्दै उनीहरूले आक्रोश पोखेका हुन्। अस्पतालमा अहिले ५० जना बढी स्टाफ नर्सहरू कोरोना संक्रमितको उपचारमा खटिएका छन्।
अस्पतालले भने कोरोना उपचारमा खटिएका नर्सहरूलाई भत्ता दिन नसेको स्वीकार गरेको छ। अस्पतालका निर्देशक डाक्टर रवि शाक्यले सेतोपाटीसँग भने, 'अस्पतालले भत्ता दिनसक्ने अवस्था छैन। सरकारले तोके पनि त्यो गर्न सकेका छैनौं।'
उनले संक्रमितको उपचार गरेबापत् सरकारबाट पैसा आए पनि त्यसले अस्पतालको अन्य कर्मचारीलाई नै तलब खुवाउन ठिक्क भएको बताए। पछिल्लो समय अस्पतालको आय नै घटेको उल्लेख गर्दै उनले भने, 'सरकारबाट केही रकम आए पनि त्यो अन्य कर्मचारीलाई दिन परेकाले नर्सहरूलाई थप भत्ता दिन नसकिएको हो।'
निर्देशक शाक्यले यही अवस्था रहे अन्य कर्मचारीलाई समेत तलब दिन गाह्रो हुने बताए।