सुदूरपश्चिममा एकै दिन पहिरोमा पुरिएर ९ जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन्।
अछाम जिल्लाको रामारोशन गाउँपालिका -५ सैनीबजारमा मंगलबार राति बाढीले २४ घर बगाउँदा त्यहाँ रहेका ६ जनाको मृत्यु भएको छ। अरु ११ जना वेपत्ता छन्।
त्यस्तै बझाङको बुङगल नगरपालिका वडा नम्वर ५ मिडिगाउँका प्रताप ताम्राकारको घरमाथि आज विहान ३ बजे पहिरो खसेकाे थियाे।
प्रतापकी ४० वर्षीय श्रीमती पिपला, १६ वर्षीय छोरा अनिल, १० वर्षीय छोरी सन्तोषी र १८ वर्षीया छोरी सुनिता ताम्राकारको उद्धार गरेर स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक गणेश बमले जानकारी दिए।
घाइतेहरुको अवस्था सिकिस्त रहेको उनले बताए।
पहिराेमा पुरिएर बेपत्ता भएका १२ वर्षीय छोरा सचिन ताम्राकार र फुपुको घरमा आएका ५ वर्षीय डम्वर ओखेडा मृत अवस्था फेला परेको प्रहरी नायव उपरीक्षक बमले बताए।
पहिरोले ताम्राकारको घरमा भएका सबै सरसामान पुरिएका छन्।
बाजुरामा पहिरोमा परी तीन वर्षीया बालिकाको मृत्यु भएको छ। खप्तड छेडेदह गाउँपालिका-५ बनकाँडामा खर्कमा सुतिरहेका बेला बिहान ३ बजेतिर माथिबाट पहिरो खस्दा दोगडी बस्ने मिन बुढाकी ३ वर्षिया छोरी समिका बुढाको मृत्यु भएको हो। पहिरोमा परी ६५ वर्षीया श्रीमती नन्दादेवी बुढा र ५ वर्षिय छोरी बिनिता बुढा घाइते भएको बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले जानकारी दिए।
प्रदेशमा बाढी र पहिरोमा परेर ५१ जनाको ज्यान गयो
सुदूरपश्चिममा पछिल्लो दुई महिनामा बाढी र पहिरोमा परेर मृत्यु हुनेको संख्या ५१ पुगेको छ।
सबैभन्दा बढी अछाममा बाढीमा बगेर १२ जनाको मृत्यु भएको छ। थप ५ जना बेपत्ता भएका छन् भने २२ परिवार विस्थापित भएका छन्।
बझाङमा १२ जनाको मृत्यु भएकाे छ भने २३ परिवार पुर्ण रुपमा विस्थापित भएका छन्। ५२ घरमा आंशिक क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
यस्तै बाजुरामा बाढी र पहिरोमा परेर असार यता ६ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन्। जिल्लाका एक सय २२ घरधुरी विस्थापित भएका छन्। ६८ घरपरिवारमा आंशिक क्षति पुगेको बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रले जानकारी दिए।
दार्चुलामा बाढी र पहिरोमा परेर बुधबारसम्म १० जनाको मृत्यु भएको छ। झण्डै ५० घरधुरी विस्थापित भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक पदमसिंह विष्टले जानकारी दिए।
डोटीमा एक र बैतडीमा दुई जनाको पहिरोमा परेर ज्यान गएको छ। कैलालीमा सात र कञ्चनपुरमा एक जनाको बाढीले मृत्यु भएको प्रहरीको तथ्यांक छ।
(*यसअघि अन्यथा पर्न गएकाले सच्याइएको छ। -सम्पादक)