सुनसरी भोक्राह- ७ का २२ वर्षीय गुणराज यादव साउन ३२ गते खोलामा तैरिरहेको बोराभित्र मृत भेटिए। उनका दुवै हात डाेरीले बाँधिएका थिए।
गाउँमा उनको मोबाइल पसल छ।
साउन २९ गते बिहीबारका दिन गुणराज मोबाइलको ‘पार्टस्’ किन्न इनरूवा बजार गएका थिए। उनी त्यो दिन घर फर्किएनन्।
उनको हत्या अनुसन्धानमा खटिएका सुनसरी जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक (इन्सपेक्टर) सरोज खनालका अनुसार साँझ ७ बजेदेखि गुणराज र उनका साथी इन्द्रजीत सँगै बसेर मदिरा सेवन समेत गरेको देखिन्छ। राति गुणराज एक्लै घर जान भनी पैदल हिँडेका रहेछन्।
अलि चञ्चले स्वभावका उनको पछिल्लो समय विभिन्न युवतीसँग नाम जोडिने गरेको थियो। छिमेकी दिनेश मेहतालाई भने मन परेको थिएन। आफ्नै परिवारका सदस्यसँग पनि नाम जोडिन थालेपछि गुणराजसँग उनी रूष्ट थिए।
दिनेशले गुणराजलाई आफ्नो परिवारसँग टाढा बस्न भनेका थिए। अर्का छिमेकी पप्पुरामले पनि गुणराजको बानी नियाली रहेका थिए। उनले पनि गुणराजलाई सम्झाएका थिए। त्यो बेला विवाद नै भएको थियो।
साउन २९ गते राति रक्सी खाएपछि साथीसँग छुटिएका गुणराजकाे घन्सीबारीमा केही युवासँग जम्काभेट भयाे। दिनेश महतो, पप्पुराम, दीपक यादव, प्रदीप राम र शिव कुमार मेहतासँग उनकाे जम्काभेट भएकाे थियाे।
यी पाँचै जनालाई मंगलबारसम्म प्रहरीले पक्राउ गरिसकेको छ। गुणराजको हत्या आरोपमा यी पाँच जना पक्राउ परेका हुन्।
अनुसन्धानमा खटिएका प्रहरी निरीक्षक सरोज खनालका अनुसार मदिरा सेवनले लट्ठ भएका गुणरासँग त्यतिबेलै बदला लिने सोच बनाएको दिनेशले बयान दिएका छन्।
सम्झाउँदा नमानेपछि उनीहरूले गुणराजलाई भौतिक कारबाही गर्ने भनेर पहिले नै सोच बनाएको पाइएकाे इन्सपेक्टर खनालको भनाइ छ। 'केही समय पहिलादेखि नै अवसर खोजी गरिरहेको देखिन्छ,' उनले भने।
उनका अनुसार घन्सीबारीमा जम्काभेटका क्रममा गुणराजसँग पहिले शिवकुमारले विवाद सुरू गरे। त्यही क्रममा दिनेश र गुणराजबीच हात हालाहालको स्थिति भयो।
'दिनेशले बारीको कान्ला छेउमा रहेको गोरू गाडाको बाँस निकालेर गुणराजको टाउकोमा प्रहार गरेछन्, गुणराज त्यहीँ लडेछन्,' इन्स्पेक्टर खनालले भने, 'शिवरामले गोरू गाडा बाँधेको नाइलनको डोरी निकालेर गुणराजको घाँटी दबाएको, पप्पुले गुणराजकाे अण्डकोषमा पटक पटक प्रहार गरेको अनुसन्धानबाट खुलेको छ।'
त्यसरी सबै मिलेर हत्या गरेपछि शव व्यवस्थापन पनि सल्लाहमै मिलेर गरे।
प्रहरीका अनुसार दिनेश मेहताले शवलाई बोरामा हालेर खोलामा फाल्ने उपाय निकाले। सबैले सहमति जनाए। दिनेश आफ्नो घर गएर चोकर हाल्ने प्लास्टिकको बोरा ल्याए। हात बाँधिदिए। सबै मिलेर गुणराजको शव बोरामा हाले।
पानी नपरेकाले खोला सानो थियाे, खाेलामा शव फाल्दा सहजै नबग्ने अनुमान पप्पुले गरे।
'त्यसपछि उनीहरूले बोरामा शवसँगै वजनदार ढुङ्गा हालेर बाँधेको वयान दिएका छन्। त्यही रात शव हालेको बोरा घटनास्थलदेखि करिब ४ सय मिटर पर रहेको सुनसरी खोलामा बगाएर आ-आफ्ना घर गएको देखिन्छ,' खनालले भने।
२ दिनदेखि चालचुल गाउँमा नदेखिएका गुणराजको खोजी हुन थाल्यो। त्यही क्रममा दिनेशले गाउँलेलाई एउटा खबर दिए- कुश्सेश्वर यादवको घन्सीबारी माडिएछ, के भएछ?
त्यसपछि उनका आफन्तसहित पुगेका गाउँलेले त्यहाँ हत्या नै भएको आँकलन गरेको स्थानीय रामप्रसाद यादवले बताए। घरदेखि केही मिटर वर घन्सीबारीमा रगत जमेको स्थान र चप्पल भेटिएपछि गाउँलेले प्रहरीलाई तत्काल खबर गरे।
'त्यहाँ प्रष्ट कसैको हत्या भएकैजस्तो थियो, हिलोमा गाडिएको चप्पल, डोरी, घन्सीबारी पुरै माडिएको अनि रगत पनि थियो, कसको हत्या भयो भन्ने थाहा भएन त्यसैले तुरून्त प्रहरीलाई खबर गरियो,' स्थानीय यादवले भने।
घटनाको अनुसन्धान गर्न पुगेका जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक सरोज खनालको टोलीले रगत जमेको र चप्पल फेला परेको स्थान नै अपराध स्थल भएको निष्कर्ष निकालेको छ।
सरोज खनाल नेतृत्वको प्रहरीको अनुसन्धान टोलीले ६ जनालाई त्यतिबेलै गाउँबाट सोधपुछका लागि नियन्त्रणमा लिएको थियो। अनुसन्धानमा खटिएका खनालले गाउँका धेरै युवतीसँग गुणराजको प्रेम सम्बन्ध भएका कारण हत्या भएको बताए।
‘मृतक युवकको धेरै युवती र महिलासँग राम्राे सम्बन्ध देखिन्छ। उसले सम्बन्ध बनाएका युवतीमध्ये हत्या आरोपीका कोही छोरी, कोही प्रेमिका, कोही बहिनीलगायत पर्छन्’ उनले भने।
घटनामा संलग्न भएका भनिएका दिनेश महतो, पप्पु राम, दीपक यादव, प्रदीप राम र शिव कुमार मेहता पाँचै जनाले गुणराजको हत्या गरेको स्वीकार गरेका छन्। उनीहरूलाई कारबाही प्रकृया अघि बढाइएको सुनसरी प्रहरीले जनाएको छ।