माधवप्रसाद घिमिरे सानो छँदा पुस्तुन (हाल बाहुनडाँडा) मा स्कुल थिएन। झन्डै दुई घन्टा पैदल झरेपछि खुदी आउँथ्यो। त्यहाँ ‘भाषा पाठशाला’ थियो। उनी त्यहीँ बसेर पढ्न थाले।
खुदीमा उनीहरूको आफ्नो घर थिएन। न त आफन्त। स्थानीय शिवप्रसाद पोखरेल र माधवका बुबा गौरीशंकर घिमिरे साथी थिए। माधवलाई पढाउन उनका बुवाले यही साथीको नाता प्रयोग गरे।
माधव शिवप्रसादकै घरमा बसेर पढ्न थाले। यहीँ उनको गौरीसँग चिनजान भयो, जो शिवप्रसादकी नातिनी थिइन्।
त्यति बेला महिलाहरूलाई पढाउने चलन थिएन। गौरी पाठशाला जान पाइनन्। माधव मात्र जान्थे।
शिवप्रसादले एकदिन गौरीशंकरसँग माधवको चिना मगाएछन्। जन्मकुण्डली हेर्दा उनी प्रतिभाशाली देखिए। उनले माधवसँग आफ्नी नातिनी गौरीको विवाह गरिदिने टुंगो लगाए। विवाहअघि र पछि गरेर माधव चार वर्ष खुदीमा गौरीको घरमै बसेर पढे।
शिवप्रसादको घरपछाडि कुटी थियो। कुटीमा उनी ध्यान गर्थे। त्यहाँ माधव पनि जान थाले। शिवप्रसादले उनलाई जानेका कुरा सिकाए। आफूसँगै ध्यानमा बसाए। त्यहीँ ध्यान गर्दा माधवले मर्स्याङ्दी नदीको सुसेली गहिराइमा सुनेका थिए।
खुदीमा भाषा पाठशालाको पढाइ सकेर माधव दुराडाँडा गए। लमजुङको शैक्षिक इतिहासमा दुराडाँडा सबभन्दा अगाडि आउँछ। त्यहाँ राणाकालमै पढाइ हुन्थ्यो। प्रजातन्त्र आएपछि त झन् दुराडाँडा क्षेत्रमा एकैपटक १२ वटा स्कुल खुलेका थिए।
त्यहाँको पनि पढाए सकेर माधव आफ्नै गाउँ बाहुनडाँडा फर्किए।
उनी हँसिला र रसिला थिए। जहाँ पनि ठट्टा गर्ने सानैदेखिको बानी थियो। अन्नपूर्ण फेरो पदयात्रा जाने बाटैमा पर्छ बाहुनडाँडा। त्यहाँ एउटा ठाँटी थियो। पदयात्री र भरियाले थकाइ मार्ने ठाउँ। त्यही ठाँटीमा माधवले गाउँका केटाकेटी जम्मा गरे। ठाँटीकै काठ र फलेकलाई पाटी बनाए। खरी ढुंगाले लेखेर अक्षर चिनाउन थाले।
त्यसरी पहिलोपटक अक्षर चिनेका थिए, बाहुनडाँडाका ७४ वर्षीय प्रेमनाथ घिमिरेले।
‘उहाँ त हँसिलो मान्छे, ठट्टा गरेर जिस्क्याउने,’ प्रेमनाथले सेतोपाटीसँग भने, ‘पढाउँदा राम्रो म, बुढो तँ भनेर हसाउनु हुन्थ्यो, पढ्न पाइयो, हसाउने भएर हामी पनि उहाँसँग झुम्मिन्थ्यौं।’
उनीहरू लेख्नलाई निगालो, बाँस र उनियोको कलम बनाउँथे। मसुरे कटुस रूखका पात टिपेर ल्याउँथे। पातलाई भाँडामा राखेर पकाएपछि रङ आउँछ। त्यसलाई गाढा भइञ्जेल पकाएर मसी बनाउँथे। अनि कलमले मसी चोप्यो, लेख्यो।
त्यहाँ केही समय पढाएपछि माधव काठमाडौं गए। त्यति बेला गाउँमा स्कुल खोल्ने कुरा चल्न थालिसकेको थियो। २०१२ सालमा बाहुनडाँडामा चन्द्रोदय प्रावि स्थापना गर्न स्वीकृति मिल्यो। यो स्कुलका संस्थापक माधव घिमिरे नै हुन्।
सुरूमा खरका छाना हालेर बाँसले बारेर स्कुल खोलिएको थियो। अहिले भव्य भवन बनेको छ। १२ कक्षासम्म पढाइ हुन्छ। यो उत्तरी लमजुङको शैक्षिक केन्द्र बनेको छ।
स्कुल खुलेको ५० वर्ष पुग्दा उनै प्रेमनाथ घिमिरे विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थिए। उनले आफूलाई अक्षर चिनाएका पहिलो गुरू, जो राष्ट्रकवि छन्, उनलाई स्वर्ण जयन्ती मनाउन बोलाउने निर्णय गरे। माधव पनि आफ्नो ठाउँको स्कुलको कार्यक्रममा आउन राजी भए।
खुदीसम्म गाडीमा गएका राष्ट्रकविलाई त्यहाँबाट घोडा चढाएर बाहुनडाँडा लगियो। उनी आफ्नो गाउँ गएको त्यही अन्तिम वर्ष बन्यो, २०६३ साल।
त्यति बेला उनी दुई दिन गाउँ बसे। गाउँलेहरूसँग भलाकुसारी गरे। यताउता चहारे। डाँडा तल गड्गडाएर अटुट बगिरहेको मस्याङ्दी हेरे।
काठमाडौंबाट गाउँ जाने बेलामै उनले खुदीस्थित ससुराली जाने निर्णय गरेका थिए। आफ्नो पहिलो माया, पहिलो ससुराली, जहाँ बसेर उनले जीवनको प्रारम्भिक शिक्षा लिएका थिए।
बाहुनडाँडाबाट फर्केकै दिन उनी ससुराली गए। उनलाई मोटरबाटोबाट आधा घन्टा उकालो बोकेर लगिएको थियो। बोक्ने काम स्थानीय शिक्षक प्रेम बस्नेतले गरेका थिए। बस्नेत मर्स्याङ्दी गाउँपालिका-३ खुदीका वडाध्यक्ष छन्।
ससुराली आएका माधवलाई बिहानको खानामा खिर खुवाएको गौरीका भदा मेघेन्द्र पोखरेल सम्झन्छन्। मेघेन्द्रका बुवा र माधवकी पहिलो पत्नी गौरी दिदी-भाइ थिए।
ससुरालीमा बिहानको खानासँगै उनले करिब तीन घन्टा बिताए। गाउँलेहरूसँग गफ गरे। आफू पढ्न बस्दाका क्षणहरू सम्झिए। उनले बुढा ससुरा शिवप्रसादको कुटी हेर्न खोजे। कुटी भत्किसकेको थियो। त्यहाँ झाडी पलाएको थियो।
कुटी नभए पनि उनले त्यो ठाउँ जान्छु भने। उनलाई कुटी भएको ठाउँसम्म पुर्याइयो। यो टोलीमा उनका जेठा छोरा इन्दिवर घिमिरे पनि साथै थिए। इन्दिवरले नै उनलाई हात समातेर कुटी भएको ठाउँ लगे। त्यहाँ अमलाको रूख हुर्किएको थियो। केहीबेर हेरेपछि माधवले भने, ‘बाबु, मर्स्याङ्दी सुसाएको यहाँबाट सुन त।’
माधवका भदा मेघेन्द्र त्यो भ्रमण अझै सम्झन्छन्।
‘कवि फुपाजुले त्यति बेला एक चिम्टी माटो लिएर आफ्नो निधारमा लगाउनुभयो, अनि एक माना यहाँको माटो लैजान्छु भनेर लानुभयो,’ उनले भने।
माधवले ‘मैले जे जति जानेको छु, यहीँबाट जानेको हुँ’ भनेको मेघेन्द्रले बताए। बुढो ससुराबाटै आफूले ज्ञान पाएको र जे जति साहित्य लेखे पनि गाउँघरकै कुरा लेखेको चर्चा माधवले गरेका थिए।
गौरीको मृत्यु २२ वर्षको उमेरमा विक्रम सम्बत २००४ सालमा भइसकेको थियो। २००५ सालमा माधवले दोस्रो विवाह गरेका थिए। गौरीका दुई छोरी छन्, शान्ति र कान्ति। गौरीको मृत्यु हुँदा कान्छी छोरी कान्ति जम्मा ६ महिनाकी थिइन्।
गौरीलाई टाइफाइड भएको मेघेन्द्र बताउँछन्। उनको अनुहारमा बिफरको चिह्न पनि देखिएको उनको भनाइ छ। माधवले गौरीको काजकिरिया काठमाडौंमै गरे। किरिया बस्दा नै उनले 'गौरी' खण्डकाव्य रचना गरे।
गौरीको मृत्युपछि पनि उनको माइत अर्थात् आफ्नो पहिलो ससुराली जान भने माधवले छाडेनन्।
माधव त्यसअघि २०४१ सालतिर ससुरा विष्णुभक्त पोखरेल बित्दा खुदी गएका थिए। माधव आउने भनेपछि घरमा पुराण लगाउने तयारी भयो। ‘कवि भिनाजुले नै पुराण वाचन गर्नुभयो,' मेघेन्द्रले भने।
गौरी परिवारकी जेठी छोरी थिइन्। घर सम्हाल्ने जिम्मेवारी जेठो सन्तानको हुन्थ्यो। गौरीले त्यो भूमिका कुशलतासाथ पूरा गर्थिन्। माधव–गौरी दम्पती काठमाडौंमा बस्थे। एकपटक माइतबाट गौरीलाई लिन गए। मेघेन्द्रका हजुरआमा काठमाडौं गएर गौरीलाई ल्याइन्। खुदीबाट काठमाडौं हिँडेर जानुपर्थ्यो। बाटोमा बास बस्नुपर्थ्यो।
गौरी आइन्, बाटोमा बास बसिन्। के सपना देखिन कुन्नी, गौरी बास बसेकै ठाउँबाट भोलिपल्ट काठमाडौं गइन्। मेघेन्द्रका हजुरआमा रित्तै घर फर्किइन्। त्यति बेला उनी 'सपना राम्रो देखिनँ, फर्कन्छु' भनेर माइत नआई बाटोबाटै काठमाडौं फर्केकी थिइन्।
त्यसैको केही समयपछि उनको मृत्यु भएको मेघेन्द्रले बताए।
मेघेन्द्रका बुवा भरतमणि पोखरेल पनि पढ्न भनेर काठमाडौं गए। उनले एक वर्षको कोर्स समय नसकिँदै घोकेर कण्ठ पारे, पास पाए। मध्यमा शिक्षा हासिल गरे। यो कुरा आफ्ना कवि भिनाजु माधव घिमिरेलाई भनेपछि भोलिपल्टै प्रज्ञा प्रतिष्ठानको जागिर पाए।
उनले करिब डेढ वर्ष जागिर खाए। तिहारमा घर आउन पनि पाएनन्। घरबाट गाई, भैंसी हेर्ने मान्छे भएनन् भन्ने खबर पाएपछि बुबाले जागिर छाडेर गाउँ आएको मेघेन्द्रले बताए।
काठमाडौं बसेर पढ्दा मेघेन्द्र पनि माधवको घर गइरहन्थे। त्यहाँ जाँदा माहोल नै छुट्टै हुन्थ्यो।
‘फुपाजुले अरूलाई भन्दा धेरै माया गरेजस्तो लाग्थ्यो,’ मेघेन्द्रले भने, ‘आओ, बस भनेर नजिक पर्नुहुन्थ्यो, अँगालो हाल्न खोज्नुहुन्थ्यो।’
गाउँघरका खबर र प्रगति अनि उहाँले चिनेका मान्छेको हालखबरमा पनि चासो राखेको उनले बताए।
बाहुनडाँडाका प्रेमनाथ पनि काठमाडौं जाँदा राष्ट्रकविको घर जान्थे। उनी पनि राष्ट्रकविबाट उत्तिकै माया पाएको सम्झिन्छन्। राष्ट्रकविले जे छ, गाउँमै छ भनेको प्रेमनाथले बताए।
माधव घिमिरेले आफू जन्मेको स्थान पुस्तुन भनेर लेखेका छन्। राणाकालमा त्यो सेरोफेरोलाई पुस्तुन मौजा भनिन्थ्यो। बाहुनडाँडा चाहिँ राष्ट्रकविको घर भएको ठाउँ हो।
पञ्चायत सुरू भएपछि पुस्तुन भन्न छाडियो, बाहुनडाँडा गाउँ पञ्चायत भयो। प्रजातन्त्र पुनर्स्थापनापछि बाहुनडाँडा गाविस बनेको थियो भने अहिले मर्स्याङ्दी गाउँपालिका- ६, बाहुनडाँडा भएको छ।
बाहुनडाँडामा अहिले पनि माधव घिमिरेको करिब तीन रोपनी जग्गा छ। उनको घर धेरै वर्षअगाडि भत्किसकेको छ। त्यहाँ केही समयअघि माधव घिमिरे वाचनालय बनाइएको थियो। अहिले त्यो पनि भत्किएको छ। उनको जग्गामा माधव घिमिरे पार्क र शालिक बनाउन लागेको प्रेमनाथले बताए।
यसका लागि मर्स्याङ्दी गाउँपालिकाले तीन वर्षमा १५ लाख रूपैयाँ लगानी गरिसकेको छ। जग्गा सम्याउने र तल भिरालो जमिन भएकाले पर्खाल लगाएर उकास्ने काम भइरहेको छ। माधवको स्मृतिमा पार्क, शालिक र एउटा भवन बनाएर वाचनालय चलाउने योजना रहेको उनले बताए।
मर्स्याङ्दी गाउँपालिकाले घिमिरेको मृत्युको शोकमा बुधबार सार्वजनिक बिदा दिएको छ। गाउँपालिकामा छलफल गरेर उनको स्मृतिमा केही काम गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए।
मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानले पनि माधव घिमिरे प्रधानाध्यापक भएर गएको ठाउँमा शालिक बनाउने योजना बनाएको छ। यो प्रतिष्ठान काठमाडौंमा बढी क्रियाशील छ। राष्ट्रकविको जन्मोत्सवमा बर्सेनि कार्यक्रम गर्दै आएको प्रतिष्ठानका कोषाध्यक्ष जुनु घलेले बताइन्।
'अब के गर्ने सोच्न सकेकै छैनौं,' बाहुनडाँडा नै घर भएकी जुनुले भनिन्, 'केही त अवश्य गरिन्छ।’
कविवर घिमिरेलाई फेरि एकपटक लमजुङ लैजाने चर्चा चलिरहेको थियो। केही वर्षअघि घिमिरे बन्धु समाजले बाहुनडाँडामा महायज्ञ गरेको थियो। त्यहाँ लैजाने योजना कविवर बिरामी भएर सफल नभएको प्रेमनाथले बताए।
जिल्लामा कुनै साहित्यिक कार्यक्रम आयोजना गरेर हेलिकप्टरमा लैजाने चर्चा पनि बेलाबखत भइराख्थ्यो।
‘जिल्लामा साहित्यिक संस्था खासै क्रियाशील भएन,’ मेघेन्द्रले भने, ‘राष्ट्रकविलाई जिल्ला ल्याउने हाम्रो योजना अधुरै रह्यो।’