काठमाडौंको दक्षिणकाली नगरपालिका वडा नम्बर १ चाल्नाखेल प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत कर्मचारीलाई आवास गृहबाट निकालिएको छ।
कोरोना रोकथाम तथा नियन्त्रण नगरपालिका स्तरीय समन्वय समितिको साउन ३२ को बैठकले मेडिकल डाक्टरले प्रयोग गरेको आवासबाहेक अरू स्वास्थ्यकर्मीलाई एक साताभित्र अन्यत्र कोठा खोजेर सर्न निर्देशन दिएको थियो।
एचए सुशीला काप्री, अनमी राधा कुँवर, सिनियर अनमीद्वय सुमित्रा खड्का र ईन्द्रकला बेलवासेलाई बसिरहेको आवास गृह छाड्न निर्देशन दिइएको हो।
कोरोना महामारीका बेला कर्मचारीलाई आवास गृहबाट निकालिएकोमा स्वास्थ्यकर्मीहरूले विरोध गरिरहेका छन्।
किन उनीहरूलाई अन्यत्रै कोठा खोजेर सर्न भनियो त? हामीले यो प्रश्न स्वास्थ्यचौकी रहेको वडा दक्षिणकाली वडा नम्बर १ का वडाध्यक्ष जयबहादुर थापा मगरलाई सोध्यौं।
उनले प्राथमिक स्वास्थ्य केन्द्र प्रमुख डाक्टर सरिता विकबाहेक अरूलाई अन्यत्र कोठा खोजेर सर्न निर्देशन दिएको बताए।
‘स्कुलहरूले आइसोलेसन बनाउन दिएनन्। उपर्युक्त ठाउँ स्वास्थ्य केन्द्र नै देखियो। यहाँ हामीले आइसोलेसन बनाएका हौं,’ वडाध्यक्ष मगरले सेतोपाटीसँग भने, ‘केन्द्रमै आइसोलेसन बनाउँदा यहाँ बस्दै आएका स्वास्थ्यकर्मीलाई नै संक्रमण हुन सक्ने भएकोले सुरक्षित राख्न कोठा सर्नू भनेका हौं।’
यसअगाडि आवास गृहमा बसिरहेका कर्मचारीले अब कोठा खोजेर आफ्नै खर्चमा बस्नुपर्नेछ।
‘वडाले उहाँहरूलाई आवास सुविधा दिन सक्दैन,’ उनले भने, ‘स्वास्थ्यकर्मी कसलाई आवास सुविधा दिने वा कसलाई नदिने भन्ने नै यहाँ केही नियम छैन।’
१५ शैयाको अस्पतालका रूपमा बनाइएको केन्द्रमा चार वटा कोठा क्वार्टरका रूपमा प्रयोगमा थियो।
‘योभन्दा उपर्युक्त ठाउँ अन्यत्र आइसोलेसन बनाउनेजस्तो ठाउँ भेटिएन,’ उनले भने, ‘पहिले प्रयोग भइआएका स्वास्थ्यकर्मीका क्वार्टरमा आइसोलेसनमा रहेका कोरोना संक्रमित हेरचाह गर्ने स्वास्थ्यकर्मीलाई राख्नुपर्छ।’
उनकाअनुसार दुई जना स्वास्थ्यकर्मीले आइसोलेसनमा रहेका संक्रमितको हेरचाह गर्ने र उनीहरू केन्द्रकै आवास गृहमा बसोबास गर्ने व्यवस्था मिलाइएको छ।
कोरोना महामारीका बेला केन्द्रकै आवास गृहमा बसिरहेका स्वास्थ्यकर्मीलाई घरबेटीले कोठा दिन्छन् त? भन्ने प्रश्नमा कोठा खोज्न स्वास्थ्यकर्मीलाई समस्या नपर्ने दाबी गरे।
‘कोठा खोज्न गाह्रो छैन,’ उनले भने, ‘यहाँ स्वास्थ्यकर्मीलाई कोठा दिने घरबेटी छन्।’
आइसोलेसनमा रहेका संक्रमितलाई हेरचाह गर्ने स्वास्थ्यकर्मीलाई बाहिर बस्न जान दिन नहुने भएकोले आवास गृहबाट अन्य स्वास्थ्यकर्मीलाई अन्यत्र कोठा खोजेर बस्नू भन्नुपरेको उनले बताए।
तर केन्द्रकी प्रमुख डाक्टर सरिता विकले स्वास्थ्यकर्मीलाई कोठा खोज्न समस्या परेको बताइन्।
सेतोपाटीसँग कुराकानी गर्दै उनले आफूसहित पाँच जना केन्द्रकै आवास गृहमा बस्दै आएकोमा चार जनालाई अन्यत्र कोठा खोज्न पत्र आएको बताइन्।
प्रशासकीय अधिकृत दीपककुमार केसीले पत्र पठाउँदै सात दिनभित्र आवास गृह छाड्न निर्देशन दिएका थिए।
यो हेर्नुहोस्:
‘मेडिकल डाक्टरले प्रयोग गरेको आवासबाहेक अन्य कर्मचारी स्वास्थ्यकर्मीहरूले प्रयोग गरेको आवास स्थानमा समेत आइसोलेसन सेन्टर स्थापना गर्नुपर्ने भएको हुँदा निजहरूलाई सात दिनभित्र खाली गर्ने’ उनले पठाएको पत्रमा उल्लेख छ।
डाक्टर विकले आइसोलेसन बनाउनु पहिले नै कोठा सर्न समय दिइनुपर्नेमा हतारमा निर्देशन दिँदा कोठा पाउन समस्या भइरहेको बताइन्।
‘चार जनाले कोठा खोज्नुपर्नेछ,’ उनले भनिन्, ‘कसैले कोठा पाउनु भएको छ। कसैले पाउनु भएको छैन। कोठा पाए पनि घरबेटीले अनेक बहाना बनाएर बस्न नआउनु भनेका छन्।’
केन्द्रको आइसोलेसनमा दुई जना कोरोना संक्रमित छन्। साउन ३० गतेदेखि केन्द्रमा आइसोलेसन बनाइएको थियो।