पोखरा ५ मालेमाटनमा सहकारीमा काम गर्ने एक महिलालाई कोरोना संक्रमण देखियो।
सहकारीमा पैसा संकलनको काम गर्ने उनलाई ज्वरो आएपछि साउन २२ गते फेवासिटी अस्पतालमा भर्ना भइन्।
अस्पतालका चिकित्सकले कोरोना संक्रमणको शंका गरे, स्वाब परिक्षण गर्न पठाए। दुई दिनपछि स्वाबको रिपोर्ट पोजेटिभ आयो।
कन्ट्याक्ट ट्रेसिङका क्रममा उनका परिवारको पनि स्वाब परीक्षण गरियो। परीक्षण गर्दा ५ दाजुभाइ रहेका उनको जेठो दाजुको परिवारका ६ जना, माइलो दाजुको परिवारका ४ जना र साइलो दाजुका ३ जना परिवारमा कोरोना देखिएको पोखरा ५ का वडाध्यक्ष धनबहादुर नेपालीले बताए।
कन्ट्याक्ट ट्रेसिङकै क्रममा बिहीबार पनि थप २ जना संक्रमित थपिएका छन्। उनीहरू सहकारीमा काम गर्ने महिलाका देवरका छोराछोरी रहेको नेपालीले बताए।
उनीहरूलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको छ भने यसअघि नै संक्रमण देखिएकालाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र सरूवा तथा संक्रामक रोग अस्पताल लेखनाथको आइसोलेसनमा राखिएको छ।
पोखरा महानगरमा अहिलेसम्म कोरोना संक्रमितको संख्या २ सय ४२ पुगेको छ। जसमा १ सय ३१ ना निको भएर घर फर्किसकेका छन्।
संक्रमित भेटिएकामध्ये अधिकांश क्वारेन्टिन र कन्ट्याक्ट ट्रेसिङका क्रममा पत्ता लागेको पोखरा महानगरका स्वास्थ्य महाशाखाका अधिकृत हरिलाल आचार्यले बताए।
पोखरामा ट्राभल हिस्ट्री नभएकाहरूलाई समेत कोरोना संक्रमण देखिएको छ।
संक्रमित वा बाहिरबाट आएका मानिससँग सम्पर्कमा नभएका व्यक्तिलाई पनि संक्रमण देखिएकाले समुदायमा कोरोना फैलिएको आशंका बढेको आचार्यले बताए।
सामान्य रूघा, खोकी र ज्वरो आएका व्यक्तिलाई पनि अस्पताल भर्ना भएर स्वाब परीक्षण गर्दा कोरोना संक्रमण देखिएको उनले बताए।