टौदहकै 'स्टोरी' ताका हाम्रो भेट यी बाबुछोरासँग भएको हो– राजमान महर्जन र यश महर्जन।
४४ वर्षीय राजमान र १४ वर्षीय यश 'बर्ड वाचर' अर्थात् चरा अवलोकनकर्ता हुन्।
यश कीर्तिपुरस्थित 'क्रिएटिभ बर्ड वाचिङ' क्लबका अध्यक्ष हुन् भने राजमान त्यहाँका 'मेन्टर'। यो क्लब पाँच वर्षअघि स्थापना भएको हो।
पछिल्ला केही वर्षमा भएको वातावरणीय परिवर्तनले चराहरूमा परेको असरबारे बुझ्न उनीहरूसँगको भेट महत्वपूर्ण रह्यो।
राजमान प्राकृतिक विज्ञान संंग्रहालयमा चित्रकारका रूपमा काम गर्छन्। चरा, जनावर, वनस्पतिहरूको चित्र कोर्दाकोर्दै उनको चरा अवलोकनमा चासो बढेको हो।
छोरा यश पाँच वर्षअगाडि चरा अवलोकनसम्बन्धी कार्यक्रममा बुवा राजमानको पछि लागेर पुगेका थिए। कार्यक्रम ८-९ कक्षामा पढ्ने विद्यार्थीका लागि थियो। यश भर्खर चार कक्षा अध्ययनरत थिए। उनले चासो देखाए। अहिले त उनी कक्षा ९ पढ्ने भइसके।
उनी पढ्ने कीर्तिपुरस्थित क्रिएटिभ स्कुलमा ब्रिटिस काउन्सिलले पाँच वर्षअघि चरा अवलोकनसम्बन्धी कार्यक्रम गरेको थियो। कार्यक्रम सकिए पनि स्कुलले यो पहललाई निरन्तरता दिएको छ।
'सुरूमा बुवाले चरा अवलोकनका लागि त्रिभुवन विश्वविद्यालय लैजानुभएको थियो। त्यहाँ पहिले कहिल्यै ध्यान दिएर नहेरेका चराहरूबारे जानेँ। त्यसपछि चराचुरूंगीबारे जान्ने चासो झनै बढ्न थाल्यो,' यश भन्छन्।
नेपालमा आधिकारिक रूपमा ८ सय ८६ प्रजातिका चरा दर्ता छन्। किशोरावस्था उक्लिँदै गरेका यश करिब तीन सय प्रजातिका चिन्ने दाबी गर्छन्। राजमान भने छोराका तुलनामा कम चिन्ने बताउँछन्।
'हामी भन्दा केटाकेटीहरूको दिमाग तेज हुने रहेछ। हामीले सम्झनै नसक्ने कुरा उनीहरूले सम्झँदा रहेछन्,' राजमानले भने, 'चराको आवाज सुनरै र उडिरहेको चरा हेरेरै छोराले भनिदिन्छ। मलाई भने चिन्न गाह्रो हुन्छ।'
चरा अवलोकनकर्ता बन्ने पहिलो सिद्धान्त भनेको चराचुरूंगीबारे चासो हुनु नै हो। उनीहरूमा आँखा गढ्न थालेपछि मन पनि बस्न थाल्छ। हेर्ने–बुझ्ने कौतहुलता बढ्छ।
अवलोकनकर्ताहरू 'बर्ड्स अफ नेपाल' लगायत किताबमा चराका नाम र विशेषता हेर्छन्। गुगल, युट्युबमा तिनबारे थप जानकारी लिन्छन्। 'इ–बर्ड' लगायत एपहरू प्रयोग गर्छन्। कोही–कोही अवलोकनकर्ता त चराजस्तै आवाज पनि निकाल्न सक्छन्। कहिलेकाहीँ चरा नदेखिएका समय तिनीहरू जस्तै आवाज निकालेर बोलाउँछन्। कोहीले भने चराको आवाजको रेकर्ड पनि बजाउँछन्।
'तर त्यसरी बोलाउनु एक हिसाबले उनीहरूलाई डिस्टर्ब गर्नु बराबर हुन्छ। त्यस कारण, कतिपय ठाउँमा निषेध गरिएको छ,' राजमानले भने, 'उनीहरूको बासस्थान नबिथोलौं न है भनेर हामी साथीहरू बीच कुरा पनि हुन्छ।'
यश कहिले बुवा त कहिले स्कुल टोलीसँग चोभार, टौदह, शिवपुरी, मच्छेगाउँ, रानीवारी, साँखु, त्रिभुवन विश्वविद्यालयको जंगल गइरहन्छन्। यी ठाउँमा उनले कर्मोरान्ट, गडवाल, मालहाट डक, रुडि सिल्डक, किङफिसर, मैना, स्राइक, ब्रदाई, ब्ल्याक काइट, इगल लगायत चरा देखेका छन्।
'बार हेडेड गुज भन्ने चरा त सगरमाथाको माथिबाट उडेर आउँछ,' यशले भने, 'तर आजकल त्यति आउँदैन। टौदह लगायत ठाउँमा के–के संरचना बनाएर आउन छाडेको रे।'
२०७२ सालदेखि बनेको क्रिएटिभ बर्ड वाचिङ क्लबले यशजस्तै साना केटाकेटीलाई समय–समयमा चरा अवलोकनका लागि लग्छ। टुरिस्ट गाइड रहेका टेक घर्ती मगरले उनीहरूलाई सघाउँछन्। अवलोकन क्रममा चराका भिन्नता–विशेषताबारे बताइन्छ। विद्यार्थीहरूले आफूसँग भएको नोटकापीमा कुन चरा कहिले र कति वटा देखिएको हो, सबै टिप्छन्।
'कहिलेकाहीँ त छ नि किताबमा देखेका चरा जंगलमा पहिलो पटक देखिने हुन्छ,' यशले उत्साहित हुँदै सुनाए, 'रेड बिल्ड ब्लु म्याग्पी नामक चरा किताबमा देख्दा राम्रो लागेर मैले त्यसको नाम कण्ठ गरेको थिएँ। पछि मच्छेगाउँमा देखेँ।'
स्कुले विद्यार्थीहरू, कहिलेकाहीँ अवलोकनमा जाँदा जंगलमै हराइयो भने के गर्ने?
'मोबाइल छ भने फोन गर्ने। सिग्नल नआए अरूलाई बोलाउने। मान्छे भेट्यो भने बाटो सोध्ने,' यशले बर्ड वाचिङ क्रममा सिकाइएको कुरा विस्तार लगाए, 'तर हामी कोही नभएको ठाउँमा त्यति जाँदैनौं। त्यसैले हराएर नभेटिने भन्ने भएको छैन।'
चराहरू कंक्रिटमा भन्दा घाँसमा सजिलो महशुस गर्छन्। माटोमा कतिपयले आफ्नो अन्डा लुकाउँछन्, गड्यौंलाहरू खान्छन्। पछिल्लो पटक भइरहेको बढ्दो आधुनिकताले चराहरू कम आउन थालेको यश बताउँछन्। उनी बस्ने कीर्तिपुरमै पनि कमन किङफिसर नामक चरा देखिन छाडेको छ।
चराहरू वातावरण सन्तुलनकै हिस्सा रहेको बताउँदै यश भन्छन्, 'प्रकृतिलाई जस्तो छ त्यस्तै छाड्नुपर्छ, रुखविरूवा रोप्नुपर्छ। चरालाई गुलेली हान्ने, मार्ने गर्नु हुँदैन।'
उनलाई मनपर्ने चरा तीव्र गतिमा उड्ने शिकारी शाहीबाज हो जुन ३ सय ८९ किलोमिटर प्रतिघन्टा रफ्तारमा उड्न सक्छ।
ब्राजिलको अमेजन जंगलमा धेरै चराहरू पाइन्छन्। यशलाई भविष्यमा त्यहाँ गएर चरा अवलोकन गर्ने मन छ। करातेमा 'ब्राउन बेल्ट' उनी पछिल्लो पटक भारतमा प्रतियोगिताक्रममा पुग्दा पनि चरा अवलोकन गर्न छुटाएनन्।
चरा अवलोकनकर्ताहरू भविष्यमा गाइड, फोटोग्राफर लगायत भएको पाइन्छ। यशले भने अहिले नै के बन्ने भनेर तय गरेका छैनन्। बर्ड वाचिङमा राम्रो काम गरेको भनेर 'बर्ड्स कन्जर्भेसन नेपाल'ले उनलाई 'स्पेसल रिकगनिसन सर्टिफिकेट' पनि दिएको छ।
स्कुले जीवनमै चरा अवलोकन जस्ता क्रियाकलापमा सक्रिय हुँदा पढाइलाई झनै फाइदा पुग्ने बुवा राजमानको धारणा छ। किताबी मात्रै नभई बाहिरी ज्ञान पनि केटाकेटीलाई महत्वपूर्ण हुने बताउँदै भने, 'पढाइ मात्र भयो भने बच्चाहरूलाई मोनोटोनस हुन्छ। त्यसमाथि चरा अवलोकन एक किसिमको मानसिक व्यायाम पनि हो।'
यस्ता गतिविधिले स्कुल तहबाटै वातावरणप्रति विद्यार्थीलाई सजग बनाउँछ। जसकारण उनीहरू आफ्नो मात्र नभई चरा र अन्य जनावरप्रति संवेदनशील हुन्छन्। राजमानलाई लाग्छ – चरा चिन्न चासो बढ्नु भनेकै वातावरण संरक्षणमा चासो हुनु हो।
कीर्तिपुर नगरपालिकाकै उपस्थितिमा पनि यो ठाउँमा विभिन्न समयमा चराको महत्व बुझाउँदै विभिन्न कार्यक्रम भएका छन्। उनीहरूले चराको महत्व बुझे पनि 'टौदह परिसरमा पर्यटन पूर्वाधार विकास' का परियोजना ल्याएर नबुझेझैं गर्न खोजेकोमा उनी दु:खी सुनिन्छन्। पुल, मन्दिर, फोहोरा लगायत निर्माण पर्यटकीय हिसाबमा फाइदाजनक भए पनि पर्यावरणीय हिसाबले राम्रो होइन।
केही वर्षअघि त्यहाँ बनेका सिमेन्टका बार र बाटाले नै बर्सेनि यहाँ आउने चराहरू घटिरहेका छन्। चरा घट्नु भनेको मान्छेको आयु घट्नुसँगै राजमान दाँज्छन्, 'हाम्रो जति महत्व छ उनीहरूको पनि त्यति नै छ। बगैंचा–खेतलाई उर्वर बनाउन कीराहरू जति महत्वका छन्, चरा उत्तिकै छन्।'
विरूवाका हानिकारक कीरा चराहरूले खाइदिन्छन्। लाटोकोसेरोलाई पनि धेरैले अशुभको संकेत रूपमा लिन्छन् तर यसले मुसा खाइदिएर किसानलाई सहयोग गर्छ।
'चराको संख्या घट्नु भनेको पर्यावरणमा असर पुग्नु हो। उत्पादन कम भएर भोकमरी नै हुन सक्छ। त्यो भनेको एक हिसाबले मान्छेको आयु घट्नु बराबर हो,' राजमानले भने।
जसरी हाम्रा बाजेबराजुले मन्दिर तथा सम्पदाहरू दिएर गए, त्यसैगरी प्रकृति पनि एक हिसाबले सम्पदा नै हो जसलाई अर्को पुस्ताका लागि बचाएर राख्नु हाम्रो कर्तव्य हो। यही विषयमा केन्द्रित हुँदै क्रिएटिभ बर्ड बाचिङ क्लबले कीर्तिपुर मेयरलाई ज्ञापनपत्र पनि बुझाएको रहेछ।
'हामी पो बोल्न सक्छौं। विचरा चराहरू केही भन्न सक्दैनन्। हामीले उनीहरूको बासस्थान खोस्नु भनेको पाप गर्नु हो,' राजमान भन्छन्, 'हामीसँग विश्वसामु घमण्ड गर्न लायक यही प्रकृति छ। यसको महत्व अहिले नै नबुझ्ने हो भविष्यमा केही रहन्न।
(सबिना श्रेष्ठका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्)