बाजुराको बुढीगंगा नगरपालिका-५ कि गौरा लुहारको पालमा खाने कुरा सकिएको कैयौं दिन भयो। अहिले उनले गाउँमा मागेर ल्याएको अन्नले छाक टार्छिन्।
आफ्नो जग्गा छैन। घर थियो महिना दिनअघि बुढीगंगामा आएको बाढीले लग्यो त्यसपछि उनको परिवार पालमा बसेको छ। घर भएको भए पनि खेत थिएन, किनेरै खाने हो। आफूले किन्ने पसलमा पनि अचेल खाद्यान्न सकिएको छ।
असार २३ गते आएको पहिरो र त्यसपछि पटक-पटक आएको बाढीले अछामको साँफेबगरदेखि बाजुराको सदरमुकाम मार्तडी जोड्ने सडक अवरूद्ध छ।
मार्तडी र साँफेबगर जोड्ने नगरपालिका बुढीगंगा हो। तर, सडक अवरूद्ध हुँदा बुढीगंगा नगरपालिका आफैं पनि प्रभावित छ। बाहिरबाट ढुवानी बन्द छ।
‘खाना सकिएर आजभोलि कोदो, मकै, साग, चामल, नुन, पिठो आदि अरूले दिएपछि खान्छौं,’ उनले सेतोपाटीसँग फोनमा भनिन्।
स्थानीय गोमती कटुवालको रोपाइँ गर्ने खेत नभए पनि तीन गह्रा छन्। जहाँ उनले पोहोर धान र कोदो लगाएका थिए।
दुई कट्टा धान भएको थियो, चामल एक महिनामै सकियो। कोदो पनि डेढ महिनाजति मात्र खान पुग्यो।
‘बजारबाट किनेरै खाने गरेका छौं,’ उनले भनिन्।
गोमतीको परिवार चामल, गहुँ, मसला, तेल, नुन तरकारी किनेरै खान्छन्।
‘हल्दी र खुर्सानी मात्र किन्नु पर्दैन,’ उनले भनिन्।
उनको घरमा तीन महिना अघि किनेको तीन कट्टा चामल अब अलिकति बाँकी छ। बाढीपहिरोले सडक अवरुद्ध भएपछि गाडी एक महिनाअघिदेखि चलेका छैनन्। गाडी नचलेपछि महंगी बढेको छ।
‘५४ रूपैयाँको किलो मोटा चामल, चिनी एक सय १० रूपियाँ पर्छ,’ उनले भनिन् ।
पैसा भएको पनि अहिले किन्न जान हिँडेर साँफेबगर पुग्नुपर्छ। आउन जान-आउन दु ईदिन। उनको परिवारमात्र होइन टोलमा बिहान बेलुका टन्न खानेमान्छे एकदमै थोरै छन्। ‘धेरै त अहिले बिहान खाने बेलुका भोकै बस्ने गर्छन्,’ उनले भनिन्।
उनका अनुसार,मकै हुनेले कुटेर जाउलोजस्तै बनाएर खान्छन्। कोही रोटी बनाएर पनि खान्छन्।
बुढीगंगा नगरपालिकाको अर्को वडा नम्बर ४ मा पनि बाढीपहिरोले ल्याएको समस्या उस्तै छ। मोहन नेपालीको घर पहिरोले लगेपछि त्रिपाल हालेर बसेका छन्। उनीहरूलाई पनि के खाने भन्ने समस्या छ।
यही वडाका विक्रम खडायत भने अलि हुनेखाने थिए। उनको धान लगायतका अन्न उत्पादन हुने जमिन थियो। १५ क्विन्टल अन्न उत्पादन हुने खेतबारी मध्ये धेरै अहिले बाढी र पहिरोमा परेको छ।
बुढीगंगामा आएको बाढिले उनको रोपोसहित खेत लग्यो। पाखो जग्गामा लगाएको बाली पहिरोले सखाप पारेको छ।
‘वडाभर दुई सय क्विन्टल जति उत्पादन हुने खेत पहिरो र बाढीले बगाएको छ। ‘मेरो मात्र पनि धेरै क्षति भयो,’ उनले भने।
अझै पहिरो नियन्त्रणमा आउन नसकेकोले उनलाई बाँकी रहेको खेत पनि बगाउने हो की भन्ने पिर लागिरहन्छ। पहिला त्यही जमिनमा उत्पादन गरेको अन्नले उनको परिवारलाई १० महिना खाना पुग्थ्यो। अहिले त आधाभन्दा पहिरोले लगेपछि बचेको खेतीले तीन महिना पनि खान नपुग्ने हो कि भन्ने चिन्तामा छन्।
‘अहिले पहिरो आइरहेकाले खेती बचाउने भन्दा पनि आफै बच्न गाउँबाटै अन्तै जानु पर्ने अवस्था छ,’ उनले भने ।
यस्तै अवस्था भए भोकमरी आउला जस्तो उनलाई लागेको छ।
उनका अनुसार त्यहाँ चार वर्षसम्म पहिरो आएको थिएन। यस वर्ष भने नसोचेकै पहिरो आयो।
उनको खेतबाट करिब ५० मिटर माथि सडक काटेको छ। त्यसैमाथि पहिरो आएका कारण उनको खेती बगरमा परिणत भएको छ।
उनका गाउँका केही मानिसहरू उनीजस्तै दस महिना आफूले लगाएको खेतीबाटै पेट पाल्छन्। बाँकी महिना नपुग्ने भएपछि देश, परदेश गएर मजुदरी गरेर खाने गर्थे।
‘अहिले खाद्यन्न सकिएको छ अलिअलि मकै उत्पादन भएकोले पकाएर उखलबाट कुटेर खाने गरेका छौं,’ उनले भने।
मुख्य सडकखण्ड डेढ महिनादेखि सडक अवरूद्ध हुँदा २ हजार ४ सय पर्ने १ कट्टा चामलको ४ हजार ४ सय पर्न मूल्यमा किन्नु परेको उनले बताए।
त्यही चामल किन्न पनि सदरमुकाम मार्तडी जानुपर्थ्यो।
‘कोरानाका कारण परदेश गएका सबै घरमै छन्। न काम न खान सहज छ । एकातिर कोरानाको डर अर्कोतिर बाढी पहिरोले खेती बगाएको पिर छ,’ उनले भने ।
बुढीगंगा नगरपालिका-४ का बासिन्दा छ महिना किनेर खाने गरेको वडा अध्यक्ष रामबहादुर कटुवालले बताए।
‘डेढ महिनायता चामल किनेर खान नसकेर केही स्थानीयहरूले मकै खाएर काम चलाइरहेका छन्,’ उनले भने।
बुढीगंगा नगरपालिकाका मेयर दीपकविक्रम शाहले बाढी र पहिरोका कारण आफ्नो स्थानीय तहमा १ सय ६ परिवारको जमिनमा लगाएको खेती सखाप पारेको बताए।
उनको नगरपालिकामा मात्र एक सय ७८ हेक्टर खेतीयोग्य जमिनमा क्षति भएको छ।
ती जमिनमा लगाइएको मकै, धान, कोदो, तरकारी र फलफूल गरी ३३ लाख बराबरको नोक्सान भएको मेयर शाहले बताए। खेतका फाँटमात्र हैन, बुढीगंगाको बाढीले २७ परिवारलाई विस्थापित बनाएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ।
बुढीगंगा नगरपालिका बाजुराको सबभन्दा सुगम स्थानीय तह हो। साँफे हुँदै धनगढी जोड्ने मुख्य सडक पर्ने भएकोले यो नगरपालिका बाजुराका अन्य ठाउँ भन्दा सुविधासम्पन्न मानिन्छ। बुढीगंगा नगरपालिकामा खेतीयोग्य जमिन पनि धेरै थियो। बुढीगंगा नदी किनारसँगै जोडिएर आएको ठूलो फाँट पनि यहाँ छ। त्यहीँ फाँटमा अहिले बाढी पसेको हो।
यहीँ पनि १२ महिना खान पुग्ने १० प्रतिशत मात्र जनता थिए। ९ महिना पुग्ने २५ प्रतिशत, ६ महिना पुग्ने ३० प्रतिशत र ६ महिना पनि नपुग्ने ३५ प्रतिशत परिवार छन्।
‘वर्षात् र लकडाउनले गर्दा भएको जमिनमा मल पनि दिन पाइएन। त्यसले पनि १० प्रतिशत कम उब्जनी हुने आकलन थियो,’ शाहले भने, 'तर राम्रो खेतीमा बाढी पहिरो पस्यो।'
उत्पादन घट्ने र बाढीपहिरोले बाली पनि बिग्रेकोले यसबर्ष जिल्लामा खाध्यसंकट आउन सक्ने उनले बताए।
‘पहिले भारतबाट कमाउनेहरू किनेर परिवार पाल्थे । अहिले उनीहरू पनि घरमै छन् । न आय छ न उत्पादन छ,’ उनले भने ।
संकटमा भएकाहरूलाई राहत वितरण गर्न पनि साँफेबगरबाट आएको खाद्यान्न बोकर पुर्याउनु परिरहेको उनले बताए। आफूहरूलाई भन्दा बुढीगंगापारिका स्थानीय तहमा अझै बढी समस्या हुने रहेको उनको भनाइ छ।
साउन पाँच र साउन २६ गते मार्तडी-साँफे सडक खण्डमा पर्ने दुई वटा पुल बाढीले बगायो। बुढिगंगा नगरपालिका-२ ताप्प्रेसेरा स्थित १६ मिटर लामो पक्की पुल र बडीमालिका नगरपालिका- २ को जडङगा भन्ने ठाउँमा ४५ मिटर लामो बेलिब्रिज बुढीगंगा नदिको बाढीले बगाएको हो।
मार्तडी आफै र सदरमुकामको बजारमा भर पर्ने अरू स्थानीय पालिकालाई यसले निकै ठूलो असर गर्ने छ।
बाजुराको हिमाली गाउँपालिकाका पनि मार्तडीमै भर पर्ने र दुर्गम स्थानीय तह हो।
यो नगरपालिकाका सूचना अधिकारी जनक शाहीले खाद्यन्न ढुवानी हुन नसकेर खाद्य संकट आउन लागेको बताए। यो गाउँपालिका आफै पनि पहिरोबाट पीडित छ।
‘पहिरोले वडा नम्बर १, २, ३, ५ र ६ मा धेरै खेतीयोग्य जमिन बगाएको छ,’ उनले भने।
गाउँपालिकामा आफैले उत्पादन गरेको खाद्यान्न दुई महिनामात्र पुग्ने गरेको थियो। सडक अवरूद्ध भएपछि ढुवानी हुन नसकेको बताए।
उसै पनि खाद्यान्न अपुग हुने बाजुरामा बाढी र पहिरोले खेतबारी बगाएपछि भोकमरीको चिन्ता बढेको छ।
यस वर्ष असारयता बाढी र पहीरोका कारण बाजुरामा ९ सय ८६ हेक्टर क्षेत्रफल जमिनमा लगाएको खेतीमा क्षति पुगेको बाजुराका सिडिओ कृष्ण गैरेले जानकारी दिए।
जसमा सबैभन्दा बढी बडिमालिका नगरपालिकामा ६ सय ५८ हेक्टर, बुढीगंगा नगरपालिकामा एक सय ७८ हेक्टर र गौमुल गाउँपालिकामा एक सय ५० हेक्टर जमिनमा क्षति भएको छ।
जिल्लाका ९ स्थानीय तहमध्ये बुढीगंगा, बुढीनन्दा, बडिमालिका र त्रिवेणी नगरपालिकामा खाद्यान्न बढी उत्पादन हुने गरेको थियो। यस वर्ष बाढी र पहिरोले सबैभन्दा बढी यी स्थानीय तहका खेत बगाएको छ।
हिमाली, स्वामीकार्तिक र जगन्नाथ गाउँपालिकामा खाद्यान्न निकै कम मात्रा उत्पादन हुन्छ। यहाँ किनेर खाने बढी छन्।
कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख गोविन्द सिजापतिले बाढी र पहीरोका कारण ९ सय ८६ हेक्टर क्षेत्रफलमा लगाएको खेतीबाली नोक्सान भएपछि यस वर्ष उत्पादन घट्ने बताए।
उनका अनुसार जिल्लामा बाजुरामा एक वर्षमा ३१ हजार मेट्रिकटन खाद्यान्न आवश्यक पर्छ। त्यहाँ २८ हजार हेक्टर क्षेत्रफलमा खेती हुन्छ भने २५ हजार मेट्रिक टन खाद्यान्न उत्पादन हुने गरेको छ।
बाँकी ६ हजार मेट्रिकटन खाद्यान्न बाहिरबाट आयात हुने गरेको छ। यसपालि भने कोरोनाको कारणले भारतबाट आउनेहरूको संख्या थपिएको छ। त्यसैले, अझै बढी खाद्यान्न आवश्यक पर्ने जनप्रतिनिधिहरू बताउँछन्।
सडक अवरुद्ध भएका कारण बाहिरबाट आयात गर्नुपर्न खाद्यन्न ढुवानी बन्द छ। बाढी र पहीरोका कारण साँफे मार्तडी सडकखण्डको ठाउँ-ठाउँमा ठूलो मात्रामा क्षति पुगेको छ।
अहिलेसम्म सडक मर्मतको काम सुरू हुन नसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।