मलेसियाबाट फर्केको केही दिनमा संखुवासभाका सुजन घिमिरेलाई कोरोना देखियो।
क्वारेन्टिनमा रहेका अरूलाई संक्रमण नफैलियोस् भनेर धर्मदेवी नगरपालिका वडा नम्बर ४ पिलुवाखोलाको क्वारेन्टिनबाट उनीसहित अर्का एक जनालाई नजिकैको अर्को कटेरोमा सारियो।
बालुवा भएको भुइँ, प्लाइउडको खाट, जस्तापाताले छाएको कटेरोमा चार दिन बसिसकेका उनीहरूलाई आइसोलेसनमा सार्नेबारे कुनै तयारी देखिएन।
अति भएपछि सुजनले बिहीबार आइसोलेसन भनेर कटेरोमा राखिएको र आफूहरूको स्वास्थ्य अवस्थाबारे सोध्न स्वास्थ्यकर्मीसमेत नआएको भन्दै फेसबुक लाइभ गरिदिए।
उक्त भिडिओ हेरेर धेरैले नगरपालिकाको आलोचना गरे। सुजनले आफूहरूलाई चिहानघारी, मसानघाट नजिकै कटेरोमा राखेकोले डर लागेको भन्दै फेसबुक लाइभ गरेका थिए।
‘मसानघाट नजिक आइसोलेसनमा राखिएको छ। बेलुकी बस्न डराइमर्नु छ,’ उनले भनेका थिए, ‘आइसोलेसन भनेर कटेरोमा राखियो। स्वास्थ्य अवस्था बुझ्न कोही आएन।’
धर्मदेवीका मेयर रमेशकुमार जिमी समयमै आफूहरूले आइसोलेसनमा पुर्याउन नसक्दा संक्रमितलाई समस्या भएको स्वीकार गरे।
शुक्रबार सेतोपाटीसँग कुराकानी गर्दै मेयर जिमीले भने, ‘क्वारेन्टिनमा राखेकामध्ये पोजेटिभ देखिएकोलाई अर्को ठाउँमा सारेको हो। उनीहरूबाट क्वारेन्टिनमा रहेकालाई संक्रमण नहोस् भनेर बेग्लै राखिएको हो। त्यो आइसोलेसन होइन। नरपालिकाले आइसोलेसन बनाउन सक्ने हैसियत छैन।’
जिल्लामा आइसोलेसन बेड खाली नभएकोले उनीहरूलाई उक्त क्वारेन्टिनमै राख्नुपर्दा समस्या आएको उनले जानकारी दिए।
‘जिल्लामा बेड खाली नहुँदा उहाँहरूलाई छिटो आइसोलेसनमा पठाउन सकिएन। हिजो बेलुकी एम्बुलेन्सबाट उहाँहरूलाई जिल्ला अस्पतालको आइसोलेसनमा पठाइसकेको छु,’ उनले भने।
क्वारेन्टिन व्यवस्थापन भने प्रभावकारी ढंगले गर्न नसकेको उनले स्वीकार गरे।
‘क्वारेन्टिन राखेको ठाउँ चियानघारी भने होइन। रिसोर्टमै क्वारेन्टिन राखेको हो। नजिकै बस्ती पनि छ। बगरमा खोला छेउ मरेका मान्छे पोल्ने घाट त छ। तर क्वारेन्टिनबाट तीन सय मिटर टाढा मसानघाट छ,’ उनले भने, ‘सुजनजीले फेसबुकबाट देखाउनुभएको ठिकै हो। समस्या आएकै हो।’
संक्रमित रहेका एक जना प्रहरी र दुई जना स्थानीय बासिन्दालाई जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको उनले जानकारी दिए।
अब पिलुवाखोलाको क्वारेन्टिनमा ४० जना मानिस छन्। उनीहरूको स्वाब संकलन गरी परीक्षणका लागि प्रयोगशालामा पठाइएको उनले बताए। नगरपालिका भित्रका मानिसका लागि राख्न पिलुवाखोलामा क्वारेन्टिन बनाइएको थियो।
‘हाम्रो नगरपालिकाभित्र १०० बेडको क्वारेन्टिन बनाइएको हो,’ उनले भने, ‘नगरपालिकाभित्र आइसोलेसन छैन। जिल्लाभरका संक्रमितलाई राख्न सदरमुकाममा हिमालय क्याम्पसमा आइसोलेसन बनाइएको हो।’
हिमालयमा आइसोलेसन सञ्चालनमा स्थानीय बासिन्दाले विरोध गरेका थिए। आइसोलेसनबाट संक्रमण फैलिन सक्ने भन्दै स्थानीले भत्काइदिएका हुन्।
‘बिहीबार स्थानीय बासिन्दाले हिमालयमा रहेको आइसोलेसन भत्काइदिएछन्। हिजो स्थानीयसँग वार्ता मिलेको थिएन राति भत्काइदिएछन्,’ उनले भने, ‘अहिले जिल्ला अस्पताललाई नै आइसोलेसनमा रूपान्तरण गरिएको छ।’
सुजन र अर्का संक्रमितलाई अहिले जिल्ला अस्पतालकै आइसोलेसनमा राखिएको छ।
हिमालयमा रहेको आइसोलेसन भत्काउनेलाई प्रहरीले खोजी गर्दैछ।
स्थानीय बासिन्दासँग पहिले नै समन्वय नगरी आइसोलेसन राखेको भन्दै विरोध भइरहेको थियो।