सुदूरपश्चिममा समुदायस्तरमा कोरोना फैलिने जोखिम बढेको छ।
लोकल ट्रान्समिसन बढेपछि उनीहरूबाट समुदायमा संक्रमण फैलिने जोखिम बढेको हो।
प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शाखा प्रमुख नरेन्द्रसिंह कार्कीले ट्राभल हिस्ट्री नभएका बैंकका कर्मचारी, जनप्रतिनिधिहरूमा पनि संक्रमण पाइएको बताए।
‘फ्रन्टलाइनमा काम गर्नेहरूमा अहिले संक्रमण देखिएको छ,’ उनले भने।
लोकल ट्रान्समिसन भनेको फाट्टफुट्ट स्थानीयलाई देखिनु हो। उनीहरूबाट समुदायमा ठूलो संख्यामा मानिसहरूलाई संक्रमण फैलिने जोखिम अहिले बढेको कार्कीले बताए।
‘अहिले छेकबार गरेनौं भने समुदायमा देखिन सक्ने सम्भावना छ,’ उनले भने।
समुदायस्तरमा कोरोना फैलिएको/नफैलिएको जाँच्न परीक्षण सुरू
समुदायस्तरमा कोरोना फैलिएको/नफैलिएको जाँच्न परीक्षण सुरू भएको मन्त्रालयले जनाएको छ।
‘हामीले समुदायमा कोरोना फैलिएको छ कि छैन भनेर जाँच्न सुरू गरिसक्यौं,’ कार्कीले भने।
निको भएका संक्रमित वा फ्रन्टलाइनमा बसेकाहरूका परिवारका सदस्यको कोरोना परीक्षण गरी समुदायमा फैलिएको छ कि छैन भनेर जाँच भइरहेको छ।
‘संक्रमितपछि निको भएका र फ्रन्टलाइनरका परिवारबाट दुई जनाको परीक्षण गर्ने काम चलिरहेको छ’, कार्कीले भने।
अहिलेसम्म डोटीका यस्ता ७ सय ५० जनामा परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको कार्कीले बताए।
यस्तै, बैतडीमा ७८ र बाजुरामा १ सय ५० जनाको परीक्षण गरिएकोमा सबैको नेगेटिभ आएको उनले बताए।
प्रदेशका सबै जिल्लामा यस प्रकारको परीक्षण जारी रहेको उनले बताए।
समुदायस्तरमा कोरोना फैलिने सक्ने जोखिम बढ्नुका कारण
अहिले सुदुरपश्चिमका केही स्थानीय तहमा विदेशबाट आएकाहरूलाई क्वोरन्टिनमा नराखी सोझै घर पठाइने गरिएको छ।
परीक्षणबिना घर पठाइएका एक जनाबाट परिवार र समुदायमा सर्ने जोखिम बढेको छ भने समुदायकै परीक्षण गर्नुपर्ने अवस्था आएको देखिन्छ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष नारायण प्रसाद बरालले संक्रमितलाई आइसोलेसनमा नराखेर घरमै राख्ने गरिएको बताए।
सरकारले होम आइसोलेसनको अवधारणा ल्याएपछि र विद्यालयमा भएका क्वारेन्टिनहरू खाली गर्न भनेकाले भारतबाट आएकालाई सोझै घर पठाइने गरेको उनले बताए।
यसरी संक्रमण फैलिने जोखिम बढेपछि फेरि नगरका पाँच वटा विद्यालयमा क्वारेन्टिन बनाउने काम सुरू गरेको उनले बताए।
घरमा बस्दा असावधानीका कारण संक्रमण फैलिने गरेको छ। संक्रमितहरू खुला घुम्ने गरकाले पनि समुदाय संक्रमणको जोखिम बढेको हो।
संक्रमतिले घरमै बस्दा अरु परिवारका सदस्यसँग सम्पर्क नराख्ने, मास्क प्रयोग गर्ने, अलग सामान र शौचालय प्रयोग गर्ने आदि सतर्कता अपनाउनुपर्छ।
तीन जिल्ला र एक स्थानीय तहमा निषेधाज्ञा
कोरोना फैलिने जोखिम बढेपछि सुदूरपश्चिमका ती जिल्ला र एक स्थानीय तहमा निषेधाज्ञा जारी गरिएको छ।
कैलाली, कञ्चनपुर र डडेल्धुरामा गर्न पाइने र नपाइने गतिविधि तोकेर सम्बन्धित जिल्लाका प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेका छन्।
कैलाली र कञ्चनपुरमा भदौ १४ गते राति सम्मका लागि निषेधाज्ञा जारी भएको छ। निषेधाज्ञा जारी भएपछि अत्यावश्यक बाहेकका गतिविधि बन्द गर्न प्रशासनले आदेश जारी गरेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए।
डडेल्धुरामा भदौ १० गते सम्मका लागि निषेधाज्ञा जारी गरिएको छ।
बैतडीको दशरथचन्द नगरपालिकामा पनि भदौ १५ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ।
निषेधाज्ञाका बेला अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्न भनिएको छ।
एम्बुलेन्स, खाद्यान्न ढुवानी, दूध र पेट्रोलिय पदार्थको ढुवानी भने सुचारू राखिएको छ। यस्तै, औषधि पसल, दूध, मासु पसल र किराना पसल पनि बिहान ६ देखि ९ बजेसम्म भीड नहुने गरी सतर्कता अपनाएर खोल्न दिने गरिएको छ।
अहिले सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ५ हजार १ सय ३५ पुगेको छ।
हालसम्म ५० हजार ५१ जनाको पिसिआर परीक्षण गरिएकोमा १ हजार ३ सय २ महिला र ३ हजार ८ सय ३३ जना पुरूषमा संक्रमण पुष्टि भएको हो।
संक्रमित हुनेमा सबैभन्दा बढी कैलालीमा १ हजार ४ सय ६० जना छन्। डोटीका ८ सय ४४, अछामका ७ सय ९५, बैतडीका ३ सय २६, बझाङका २ सय ८५, बाजुराका ४ सय ५२, डडेल्धुराका ३ सय ९, दार्चुलाका ४३, र कन्चनपुरका ६ सय २१ जना संक्रमित छन्।
हालसम्म प्रदेशमा ४ हजार ३ सय ७४ जना डिस्चार्ज भएका छन् भने ७ सय ६१ जना निको हुन बाँकी रहेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
सुदूरपश्चिममा कोरोनाबाट ९ जनाको मृत्यु भएको छ।