कास्कीको माछापुच्छ्रे ९ भिमजुङकी २४ वर्षीया दीपा भन्ने पार्वती गौतम नुहाउन जाँदा खोलाले बगायो।
उनी बिहानै नजिकैको कस्र्युङ खोलामा नुहाउन गएकी थिइन्। तीज ब्रतको अन्तिम दिन ऋषि पञ्चमीको अवसरमा उक्त खोलामा नुहाउन झण्डै २० जना महिलाहरू गएका थिए।
दीपाको टोलीमा ५ जना थिए। नुहाउने क्रममा दीपा खोलामा बगेपछि उनका साथीहरू हेरेको हेर्यै भए। नजिकै छहराबाट खसेपछि उद्धारको सम्भावना पनि नरहेको स्थानीयवासीले बताएका छन्।
बिहानै खोलाले बगाएको पार्वतीको शव झण्डै ८ सय मिटर तल नदी किनारमा फेला परेको माछापुच्छ्रे गाउँपालिकाका उपाध्यक्ष कृष्णकुमारी दवाडीले बताइन्।
घटनास्थलमा पुगेकी उपाध्यक्ष दवाडीका अनुसार, महिलाहरु ऋषिपञ्चमीको अवसरमा दत्तिवनले दात माझ्न र नुहाउन खोलामा गएका थिए।
मृतक दीपा करिब ६ महिनाकी गर्भवती रहेकी उनका आफन्तले जनाएका छन्।
उनका श्रीमान सोही माछापुच्छ्रेमै मजदूरी काम गर्छन्। उनका साढे २ वर्षका छोरी छन्।