पहिले लकडाउन भो, अहिले निषेधाज्ञा छ। जनता घरमै छन्। अत्यावश्यक कामका लागि निस्किनेबाहेक सबै थुनिएका छन्।
स्वास्थ्य मन्त्रालयको 'प्रोटोकल' अनुसार संक्रामक रोगबाट बच्ने अन्तिम विकल्प पनि यही नै हो, सकभर घरबाहिर कामबेगर ननिस्किनू।
कोरोना लकडाउन सुरू भयो। सबैतिर बन्द भएपछि मजदुरी गर्नेहरू सडकमा आइपुगे। सडकपेटीमै बस्नेहरूको त झन् न घर छ, न आफन्त न खानेकुरा। पहिले मानिसहरूको आवागमन हुँदा उनीहरू हात फैलाउँथे, पाएको काम गरेर जीविका चलाउँथे।
कसैले इच्छाले दिएको दान (रुपैयाँ)ले मुखमा माड लाग्थ्यो, कमाएको रकमले जे-जस्तो छाक टर्थ्यो। हिजोआज कोरोना संक्रमण बढ्न थालेपछि लकडाउनभन्दा दर्बिलो शैलीमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरिरहेको छ।
विराटनगर महानगरपालिकामा पनि शनिबारदेखि निषेधाज्ञा जारी छ।
यस्तोमा अहिले सडकमै बास भएका भिख मागेर खाने दुई सय हाराहारी र अन्य मजदुरहरूको अवस्था के भयो होला?
उनीहरूको भोको पेटको चिन्ता स्थानीय युवाहरूले गरेका छन्। संक्रामक रोगको पर्वाह नगरी केही युवाहरू सडकमा दिनहुँ असहायलाई खान बाँड्दै हिँडिरहेका छन्।
'मास्क-पञ्जा लगाउने र दुई मिटर दुरी कायम गरेका छौं। अहिलेसम्म रोगले आक्रमण गरेको छैन। नगरोस् पनि,' युवाहरू भन्छन्।
ती असहायहरू भोकै 'नमरून्' भनेर विराटनगरका युवाहरूले दैनिक खाना खुवाउन थालेको पनि अहिले भर्खर होइन। स्थानीय निकाय, प्रदेश सरकार, स्थानीय प्रशासन कसैको नजरमा नपरेका ती असहायलाई युवा वसिम आलमको नेतृत्वमा २२ जना युवाले महिनौंदेखि खाना खुवाइरहेका छन्।
आलमका अनुसार पहिलोपटक लकडाउन सुरू भएपछि नै असहायलाई नि:शुल्क खाना खुवाउने अभियान थालियो। यसलाई आवश्यकता परेअनुसार जुनसुकै समयमा निरन्तरता दिने योजना भएको उनी बताउँछन्।
२०७६ चैत ११ गते देशव्यापी लकडाउन सुरू भएको थियो। कोरोना महामारी नियन्त्रण गर्न सरकारले लकडाउनको रणनीति अख्तियार गर्यो। यसको तेस्रो दिनमै विराटनगरका असहायहरू भोकभौकै ढलिरहेका आलमले देखे। उनी पास लिएर बाहिरको अवस्था बुझ्न निस्कँदा सडकमा असहायहरूलाई त्यस्तो अवस्थामा देखेका थिए।
'उनीहरूलाई सोधेको थिएँ, तीन दिनदेखि केही खान पाएको छैन भने। यो कुराले मन साह्रै दुख्यो,' आलमले भने।
आलम आफैंले निर्णय लिए- अब उनीहरूलाई खाना खुवाउनु पर्छ।
उनले आफ्ना मिल्ने केही युवाको टिम बनाए र खाना खुवाउने बन्दोबस्त मिलाए।
'सुरूमा ३०, ५०, सय गर्दै दैनिक ३३० देखि ३४० जनासम्म पुगेका थिए,' उनले भने।
यो क्रम लकडाउन नखुलुञ्जेल (८०) दिन उनीहरूले जारी राखेका थिए। लकडाउन खुल्यो। बजार तथा आवागमन पुनः सञ्चालन भयो। त्यसपछि उनीहरूले यो काम छाडे।
'बजार र पसल खुलेपछि त उनीहरू पहिले जसरी जीविका चलाइरहेका थिए, त्यसरी नै चलाउँछन् भनेर हामीले खुवाउन बन्द गर्यौं,' आलमले भने।
तर, कोरोनाका संक्रमित बढ्न थालेपछि महानगरपालिकाले पुन: लकडाउन निर्णय गर्यो। केही दिनको लकडाउनले पनि संक्रमित नघटेपछि शनिबारदेखि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ।
यो निषेधाज्ञा लागू भएलगत्तै आलमलाई सामाजिक सञ्जालमा 'मेन्सन' गरेर पुन: ती असहायहरू भोकै रहेको खबर आउन थाल्यो। यसपछि आलमको टोली फेरि निःशुल्क खाना खुवाउन जुटेको छ।
शनिबार उनीहरूले १०८ जनालाई खाना खुवाए। आइतबार बिहान १६४ जनालाई खुवाएछन्। साँझका लागि तयारीमा जुटिरहेका छन्।
'एकले अर्कोलाई थाहा दिन्छन् कि यहाँ खाना पाइन्छ भनेर, अनि उनीहरू खोज्दै आफैं आएर सडकपेटीमा लाइन लाग्छन्,' आलमले भने, 'नसक्नेहरूकहाँ हामी आफैं जान्छौं।'
आलमका अनुसार सुरूमा यो अभियान एकदमै जटिल बन्यो। उनीहरू आफैं रकम संकलन गरेर खाना, तरकारी जुटाउँथे। पकाउने ठाउँ ट्राफिक चोकको रोयल बिरयानीमा छानेका थिए।
'त्यहीँ पकाउने र मान्छे भेला पारेर खुवाउन थालियो, विस्तारै यो कुरा सबैलाई राम्रो लाग्न थालेछ,' उनले भने, 'विस्तारै चामल-दाल दिनेहरू निस्किन थालेपछि सजिलो भएको छ।'
सुरूमा उनीहरूलाई नयाँबजारका कोपिन्द्र सिंहले तरकारी सहयोग गरे। उनी कृषक हुन्। आफ्नो बारीमा फलेका बन्दा र टमाटर सित्तैमा दिए।
तर, विराटनगरबाट झन्डै ६-७ किलोमिटर टाढाबाट तरकारी ल्याउन निकै कठिन थियो। त्यसमाथि नयाँबजारबाट दुई किलोमिटर टाढा हिँडेर तरकारी ल्याउनुपर्थ्यो।
'हामी अभियानकै सदस्यहरू हिँडेर तरकारी ल्याएर जुटायौं,' आलमले भने।
अहिले उनीहरूलाई तरकारी, चामल, दाल, नुन-तेलका लागि समस्या छैन, 'मान्छेहरूले दान गर्न थालेका छन्। पुगेन भने हामी आफैं व्यवस्था गर्छौं।'
दान, सहयोगमा अभियानको नियम छ- सरकारी तथा एनजिओ/आइएनजिओको केही पनि नलिने।
'पहिले उनीहरू भोकभोकै मर्न लाग्दा कुनै सरकारी र एनजिओले देखेनन्। अहिले हामीले यतिका काम गरेपछि उनीहरूको सहयोगबिना पनि सकिएला भन्ने लाग्यो,' आलमले भने।
आफूले अलिकति खर्च जोगाएर पनि असहायलाई खाना खुवाउन सकिनेमा आलम विश्वस्त सुनिन्छन्। युवाहरूमा सामाजिक कामको चेत आउनुपर्छ भन्ने उनलाई लाग्छ।
युवाहरू आफैं सामान जुटाउँछन्, आफैं पकाउँछन्।
'रोयल बिरयानी होटलको किचन लिएका छौं, आफैं पकाउँछौं,' उनले भने, 'पकाएर प्याक गर्छौं अनि यहाँ आएर खान सक्नेलाई यहीँ दिन्छौं। हिँड्न नसक्नेहरूलाई जहाँ छन् त्यहीँ लगेर दिन्छौं।'
खाना खुवाउने समय बिहान ८-१० र बेलुका ७-९ बजेसम्म छ।
आलमले यो अभियान राजनीतिभन्दा टाढा रहेको बताए। निःशुल्क खाना पकाउने-खुवाउने अभियानमा कुनै ब्यानर-झन्डा बोक्न नपाइने नियम पनि छ।
'यो विशुद्ध गैरराजनीतिक सामाजिक काम हो,' आलमले भने।
यो समयमा अभियानका सदस्यलाई हिँडडुल गर्न, सामान जुटाउन प्रहरीले रोकटको गरेको छैन। यसबारे स्थानीय प्रशासनलाई जानकारी दिएकाले समस्या नभएको आलम बताउँछन्।
कुनै दिन त जिल्ला प्रहरी प्रमुख, वडा प्रहरी कार्यालयका प्रमुखहरू नै सहभागी भएर खाना बाँड्न सहयोग गरिरहेको आलमले बताए।