पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आकस्मिक विभागमा कार्यरत एक जना ३९ वर्षीय पुरूष स्वास्थ्यकर्मीलाई आइतबार कोरोना संक्रमण पुष्टि भएको छ।
केही दिनदेखि होटल क्वारेन्टिनमा रहेका उनको स्वाब परीक्षण गर्दा आइतबार कोरोना संक्रमण देखिएको हो।
अस्पतालमा उच्च ज्वरो, श्वासप्रश्वास लगायतका समस्या लिएर साउन ३२ गते भर्ना भएका कोरोना ८५ वर्षीय वृद्धमा भदौ १ गते कोरोना पुष्टि भएको थियो। ती वृद्धको भदौ २ गते नै मृत्यु भएको थियो। उनकै उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई आइतबार कोरोना देखिएको अस्पताल प्रशासनले जनाएको छ।
पोखराकै कास्की सेवा अस्पतालमा कार्यरत एक जना नर्सलाई पनि आइतबार कोरोना पुष्टि भएको छ।
गत भदौ २ गते तनहुँकी ५० वर्षीय महिला उपचारका क्रममा उक्त अस्पतालमा मृत्यु भएको थियो।
उनको कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि अस्पतालमा रहेका बिरामी र स्वास्थ्यकर्मीको स्वाब परीक्षण गर्दा एक जना नर्सको रिपोर्ट पोजेटिभ आएको हो।
सोही अस्पतालको आइसियु कक्षमा उपचाररत् एक जना बिरामीलाई पनि कोरोना पुष्टि भएको पोखरा महानगरका स्वास्थ्य अधिकृत हरिलाल आचार्यले बताए। संक्रमित बिरामीलाई तनहुँका महिलाको मृत्यु भएपछि आइसियूमा लगिएको अस्पतालले जनाएको छ।
कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिङका क्रममा आइतबार नै पोखराका एक जना ट्याक्सी चालकलाई समेत कोरोना संक्रमण भएको छ।
पोखरा १६ का ४० वर्षीय ट्याक्सी चालकलाई कोरोना पुष्टि भएको महानगरका स्वास्थ्य अधिकृत आचार्यले बताए।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८८० पुगेको छ। आइतबार संक्रमण देखिएका सबैलाई आइसोलेसन लैजाने तयारी भएको प्रदेश स्वास्थ्य निर्देशक डा. बिनोदबिन्दु शर्माले बताए ।