आइतबार बिहान साढे १० बजे धनगढी उपमहानगरपालिका-३ का वडा अध्यक्ष बलबहादुर ऐर कञ्चनुपरको डोकेबजार पुगेको थिए।
त्यहाँ भारतबाट गौरीफन्टा नाका हुँदै नेपाली भित्रिन्छन्। यसरी स्वदेश आउनेहरूमध्ये तीन जना उनको वडाका नागरिक पनि भएकाले उनीहरूलाई सुरक्षित तरिकाले आए-नआएको हेर्न ऐर त्यहाँ पुगेका रहेछन्।
भारतको गौरीफन्टा नाकाबाट नेपाली भूमि टेकेपछि कञ्चनपुरको सिमाना लाग्छ। त्यहीँ स्थानीय डोकेबजार छ।
डोकेबजार अगाडि भारतबाट भित्रिनेहरूलाई लाइनमा लगाएर थर्मल गनले एक जना स्वास्थ्यकर्मी तापक्रम नाप्दै थिए। हजारौं जनाको तापक्रम नाप्न पर्दा उनी केहीलाई जाँचेजस्तो मात्र गरेरै पनि छोडिदिन्थे। केहीलाई नजाँचेरै पनि छोड्थे।
ती स्वास्थ्यकर्मीसँगै बसेका प्रहरी कोही-कोहीलाई मात्र कहाँबाट आएको र कहाँ जाने भनेर सोधिरहेका थिए। केहीलाई नसोधेरै पनि पठाइदिन्थे।
ती प्रहरीको नजिकै ‘डोटी, डडेल्धुरा, अछाम, बैतडी, बझाङ, कैलाली, कञ्चनपुर, बाजुरा’ भन्दै गाडीवाला भीड लगाएर आउने हरेकलाई तानातान र बार्गेनिङ गरिरहेका थिए।
तिनीहरू कतिपयले न मास्क, न हातमा ग्लोब्स नै लगाएका थिए। बरू आउने धेरैका नजिक-नजिक जाँदै कति दिने हो? मेरो गाडीमा आउनुस् भन्दै हात तान्दै थिए।
गाडीवाला र भारतबाट आएकाहरूको भीडभाड हटाउन न त प्रहरी थिए न त बस व्यवसाय सञ्चालन गर्ने समितिका मान्छे।
यो सबै देखेका वडा अध्यक्ष ऐर डराए। उनले त्यही भीडमा पानी बेच्न हिँडेकी एक महिलालाई मास्क लगाएर जान अनुरोध गरे।
ती महिलाले आफूसँग मास्क नभएकाले दोपट्टा बेरेर जान्छु भने हिँडिन्।
घाँटीमा सधैं दोपट्टा हाल्ने उनलाई मास्क लगाउन मन लागेन।
‘यस्तै लापरबाहीले सुदूरपश्चिममा कोराना संक्रमण फैलिरहेको छ,’ ऐरले भने।
उनले सीमा नाकामा भारतबाट आउनेहरू जसरी नाकासम्म पुगे पनि अब जाने जिल्लामा कोरोना फैलिन जोखिम बढेको बताए।
‘गाडीवाला र अटोवालाले बिचौलिया बनेर बार्गेनिङ गरिरहेकाले यसबाट झन् जोखिम बढ्यो,’ उनले भने।
राज्यलाई मात्र दोष नदिएर नागरिकहरूले यसरी भीड लगाउन नहुने उनको भनाइ छ।
यहाँ निषेधाज्ञा भनिएको छ। भारतबाट आएकाहरू पसलमा गएका छन्, बसेका छन्, खाना खाएका छन्, यसले त निषेधाज्ञाको अर्थ नै नरहेको उनले बताए।
प्रदेश र स्थानीय सरकारले नाकामा सतर्कता अपनाउनु पर्ने उनले बताए।
सरकारले जुन ठाउँमा बढी सर्तकता, सावधानी अपनाउन पर्ने त्यहीँ लापरबाही गरेको धनगढी उपमहानगरपालिका वडा नम्वर ३ का वडा सदस्य नारायणप्रसाद पाण्डेको भनाइ छ।
यो भीडमा सबै संक्रमित छन् भन्ने पनि छैन र कोही संक्रमित छैनन् भन्ने पनि छैन। त्यसैले, सावधानी अपनाउनु पर्नेमा त्यसो नभएको बताए।
गाडीवालाले पैसाको लोभले मान्छे नियम विपरीत चढाउने गरेको बताए।
भीडमै सामान बेचिरहेकाहरूले पनि समुदायमा कोरोना फैलाउन सक्ने उनले बताए।
नाकामा आउने, तीनलाई आएकाहरूलाई सम्बन्धित ठाउँमा पुर्याउनेहरू र त्यो भीडभाडमै पसल थापेर सामान बेच्नेहरूका कारण कोरोना फैलिने त्रासमा डोकेबजारका स्थानीय बताउँछन्।
‘निषेधाज्ञा भनिए पनि खुलेआम पसलमा गएर किनमेल भइरहेको छ,’ डोकबजारका स्थानीय विकास भूसालले बताए।
उनले नाकामा आउने कसैले पनि सामाजिक दूरी पालना नगरेको, मास्कै नलगाएर हिँडडुल गर्ने गरेको बताए।
‘केही स्थानीय नै गाडी र बसमा चढाउन बार्गेनिङमा लागेका छन्,’ उनले भने।
प्रहरीले पैसा लिएर उनीहरूलाई भारतबाट आएकाको सम्पर्कमा जान अनुमति दिने गरेको उनले बताए।
‘क्वारेन्टिनमा राखेपछि तिनै मान्छेलाई भेट्न, नजिक जान नदिने तर नाकामा चाहिँ तिनकै सामान बोक्न, हात तान्ने, भीड गर्न मिल्ने कसरी हुन्छ?,’ उनले प्रश्न गरे।
दिलबहादुर बोहोरा गाडी चालक हुन्। उनी पनि भारतबाट आएकाहरूलाई तीन महिनादेखि गन्तव्यतर्फ लग्ने काम गरिहेका छन्।
उनले पनि गाडीमा भरी मान्छे बोक्ने गरेको बताए।
‘नियम पालना भएको छैन,’ उनले भने।
नाकामा गाडीमा बसाउने र गाडीवाला फरक हुने गरेका छन्।
‘दलाल लागेका छन् यहाँ। उनीहरूले ठिक्क बनाएर मान्छे गाडीमा चढाउने गरेका छन्। त्यसले गर्दा भाडा पनि महंगो पर्छ,’ उनले भने, ‘गाडीवालालाई नजिक गएपछि सशस्त्रले लठ्ठी हान्छ तर दलालहरू मिलेका हुन्छन्। पैसा खुवाएका हुन्छन्। उनीहरुलाई जान दिन्छ।’
‘दलालहरू अहिले पनि ऊ त्यहाँ मान्छे जम्मा गरिरहेका छन्,’ उनले देखाए।
नाकाको भीड देखेर भारतबाट सुरक्षित नेपाल पुगेकाहरू पनि तर्सिन्छन्।
भारतमा पछिल्लो समय दैनिक ६० हजारको हाराहारीमा कोरोनाभारइरसका संक्रमित थपिइरहेका छन्। भारत अहिले सबैभन्दा धेरै कोरोना संक्रमित भएको तेस्रो मुलुक हो। भारतमा दिनदिनै संक्रमण बढेको बढ्यै भएपछि नेपालीहरू घर फर्किरहेका छन् तर उनीहरू आफ्नै देशको नाकामा भद्रगोलबाट डराउँछन्।
‘कोरानाको डरले नेपालमा फर्क्यौं तर यो भीडमा संक्रमित हुने जोखिम बढेको छ,’ भारतको गुजरातबाट आएका एक जना यात्रीले सेतोपाटीसँग भने।
गौरीफन्टा हुँदै आइतबार मात्र दुई सय ४५ जना नेपाली भित्रिएको जिल्ला प्रशाशन कार्यलय कैलालीको तथ्यांक छ।
भारतबाट फर्किनेहरू नेपाल प्रवेश गरेपछि अहिले पनि दैनिक भीड लाग्ने गरेको छ।
कैलाली र कञ्चनपुरसहित सुदूरपश्चिमका चार जिल्लामा निषेधाज्ञा लगाइएको छ। तर, डोकेबजारमा कुनै निषेधाज्ञा छैन। यहाँ गाडी चलेका छन्। अटो चलेका छन्। पसल खुलेका छन्। भीडभाड भएकै छ।
कैलाली जिल्ला प्रशाशन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जिल्लामा निषेधाज्ञा कडाइका साथ लागू गरिएको दाबी गरे।
उनले गौरीफन्टाबाट आएकाहरू डोकेबजारमा हुने तर त्यो क्षेत्र कञ्चनपुर प्रशासन मातहत भएकाले आफूले कडाइ गर्न नसक्ने बताए।
नाकामा कञ्चनपुर प्रशासनले त्यति ध्यान दिँदैन।
‘भारतबाट आएकाहरुलाई उद्धार गर्ने हो। धेरै मात्रामा भारतबाट आउनेक्रम जारी रहेकोले भिडभाड देखिन्छ,’ सूचना अधिकारी जोशीले भने।
उनले सुरक्षा सर्तकता अपनाउन सीमा नाकामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बललाई परिचालन गरिहेका बताए।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले भन्सार घाटभन्दा वर सवारी साधन झार्न नदिन भने पनि कैलालीबाट आएको भएकाले रोक्न नसकिएको बताए।
‘भीड भएकाले ठेलाहरू हटाइयो,’ उनले भने, ‘मुख्यगरी कैलाली प्रशासनले घाटवारि आउन नदिनु पर्ने हो।’
त्यहाँ भारतको सीमादेखि हिँडेर जाने व्यवस्था गरे कुनै भीड नहुने उनको भनाइ छ।
चैतयता भारतबाट त्रिनगर भन्सार नाकाबाट दुई लाख ७० हजार नेपाली भित्रिएका छन्।
उनीहरूमध्ये कैयौंमा कोराना भाइरसको संक्रमण देखिएको छ।