विराटनगर-३ की भूमिका खतिवडाले १० वर्ष सासूआमाको हेरचाह गरिन्। ७८ वर्षकी वेदमाया खतिवडाको साउन ३१ गते साँझ निधन भयो।
बिहान भूमिकाको कोरोना पोजेटिभ आयो। बेलुका सासूको मृत्यु।
भूमिकाका श्रीमानमा कोरोना देखिएपछि पहिले नै आइसोलेसनमा थिए।
घरमा आफू श्रीमान र छोरा संक्रमित भैसकेपछि बितेकी उनकी सासूको शव उठाउनसमेत अलमल भयो।
छिमेकीलाई पनि गाह्रो, आफन्तलाई पनि गाह्रो।
‘२२ घन्टा आमाको शव अगाडि हेरेर बस्नु कति पीडादायी भयो भन्ने म शब्दमा भन्न सक्दिनँ। उहाँलाई १० वर्षसम्म स्याहार गरें। ६ महिना त ओछ्यानमै पर्नुभयो। त्यस्तो बेला हेरचाह गरें तर उहाँ बित्दा छोरा हुनुभएन।’
आफू संक्रमित भएपछि आउजाउ गर्न वा छिमेकीहरूलाई नै बोलाउन पनि गाह्रो लागेको उनले बताइन्।
उनले आफ्नी सासूले अन्तिम अवस्थामा पानी माग्दा जेसुकै होस् भनेर पानी खुवाइदिएकी थिइन्।
‘तर, बितिसकेपछि बोकेर घाट लान सकिनँ, भोलिपल्ट राति मात्रै सेनाले उहाँलाई लगे,’ उनले भनिन्।
उनीहरूले मृत्युपछिको कर्म गर्न पाएका छैनन्।
‘आमाको आत्माले शान्ति पाएको छैन भन्ने लागेर मेरो मन पोलिरहेको छ,’ उनले भनिन्।
उनीहरू पहिले कोरोना मुक्त भएपछि मात्र मृत्यु संस्कार गर्ने सल्लाह गरेका छन्।
महामारी फैलिँदै जाँदा कोरोना संक्रमितका परिवारमा काजकिरिया गर्न समस्या भएको छ। हिन्दु परम्परा अनुसारको नियम जसरी आफन्तको निधनमा काम गर्न सहज अवस्था छैन।
विराटनगर महानगरपालिका-९ का ५२ वर्षीय जयप्रकाश अग्रवालको कोरोना संक्रमणको कारण मृत्यु भयो। उनको परिवारवारका अरू ९ जनालाई समेत संक्रमण देखिएको छ।
त्यसैले, उनीहरूले काजकिरिया गर्न सकेका छैनन्। उनकी श्रीमती कपाल नधोई बसेकी छन्।
‘परम्परा अनुसार मृत्यु भएको ११ औं दिनमा कपाल धुने विधि छ तर अहिले कोरोनाका कारण यो सब गर्न नपाउँदा उहाँ आफैं टाउको नै नधोई बस्नु भएको छ,’ आफन्त पवन अग्रवालले भने।
तत्काल किरिया गर्न नपाए पनि अस्तु राख्न पाएको भए पितृले उद्धार पाउँथे भनेर श्रीमती अग्रवाल चिन्तामा रहेको उनले बताए।
‘आफन्त सबै बैङ्गलोरमा रहेका कारण सम्झाउने बुझाउनेको पनि अभाव छ, यतैका पनि जान सक्ने अवस्था छैन, संक्रमण देखिएकाले छर छिमेकमा समेत आउजाउ छैन,’ उनले भने।
यो विषम परिस्थितिमा ज्यान गुमाउनेका परिवारमा झनै समस्या रहेको उनले बताए।
‘नेपाली उखान छ मर्दाको मलामी र पर्दाको जन्ती,’ उनले भने, ‘अहिले ठ्याक्कै विपरीत भएको छ। न पर्दा आफन्त भेला हुन सकेका छन् न त मर्दा नै।’
संक्रमित मरेपछि परिवारले दाहसंस्कार गर्न नपाउने पीर पनि छँदै छ। संक्रमितलाई नेपाली सेनाको टोलीले दाहसंस्कार गरिदिन्छ।
भूमिका पनि त्यही कुरा सम्झेर सासूको आत्माले शान्ति पाएन की भनेर पीर गरिरहन्छिन्।
‘सेना आए चुपचाप उठाएर लगे न छोराले दागबत्ती दिन पाउनुभयो न अरू कसैले। निकै पीडा हुने रहेछ,’ उनले भनिन्।
संक्रमितको शव उठाउने सैनिकहरूलाई समेत आफन्तको दु:खले भावुक बनाउँछ। तर, आफूहरू महामारीको बेला गर्ने कर्तव्य सम्झेर सम्हालिने, शव व्यवस्थापन गर्दै आएका सूर्य दल गण थलाहा मोरङका सेनानी उमेश खड्काले बताए।
‘महामारीमा परिचालन भएको बेला आफ्नो ड्युटी हो भनेर काम गर्छौ, शव उठाउन जाँदा आफन्तहरू हामी पनि जान्छौं भन्नुहुन्छ, त्यो देखेर नराम्रो त लाग्छ,’ उनले भने, ‘तर महामारीमा सतर्क गराउनु पहिलो काम भएकाले हामी खासै कुरा गर्दैनौं। सरासर गएर शव उठाउँछौं।’
उनीहरू शव उठाउन जानुभन्दा पहिले नै व्यवस्थापनको अरू प्रक्रिया भइसकेको हुन्छ। महामारीमा शव व्यवस्थापन तालिम पाएका सेनाले मात्र यो काम गर्छन्।
धेरैले अन्तिममा मुख हेर्न पाउनुपर्छ भन्ने गुनासो गरेपछि अहिले परैबाट सुरक्षित तवरले दाहसंस्कार गरेको हेर्न पाउने व्यवस्था मिलाइएको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताए।
‘आफन्तले मुख हेर्न सक्ने वातावरण मिलाएका छौं। पहिला महामारीमा यसरी मुख हेर्न दिँदा अंगालो हाल्ने, धेरै नजिक पुग्ने भयले त्यतातिर त्यति ध्यान दिएका थिएनौं। अब उहाँहरूलाई सम्झाएर दूरी कायम गरी भरसक पिपिई लगाएर प्रोटोकलअनुसार के-के गर्न दिने के-के नदिने भन्नेमा हामी सचेत छौं,' उनले भने।
कोरेना महामारीले होस् वा अन्य कारण अहिले ज्यान गुमाउनेको परिवारमा झनै समस्या भएको छ।
एकातिर उनीहरूले राम्ररी काजकिरिया गर्न सकेका छैनन् भने कतिपयले एक्लै काजकिरिया गर्नु परेको छ। कोरोना संक्रमितहरूको घरमा मर्दापर्दा यस्तो अप्ठेरो त हुने नै भयो।
संक्रमित नभई मृत्यु हुनेहरूका घरको पीडा पनि उस्तै छ।
भदौ १ गते सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-७ का ५४ वर्षका राजेश्वर यादवको निधन भयो।
क्यान्सरबाट पीडित भएको १९ महिनापछि यादवको निधन भएको थियो।
उनका छोरा दीपेन्द्रको सामाजिक सञ्जालमा समवेदना दिनको लर्को नै लाग्यो तर उनको घर भने सुनसान छ।
कोरोना महामारी समुदायास्तरमै फैलिएपछि मानिसहरू आवतजावत गर्नै छाडेको यस्तो बेला मृत्युशोकमा परेको परिवार आफन्तको आउजाउ निकै पातलो छ।
दीपेन्द्रका दुई दाजुभाइ अहिले बुवाको मृत्यु संस्कारको काममा छन्।
‘बुवा लामो समय साह्रै बिरामी पर्नुभयो, अस्पतालबाट घर ल्याएको बेला उहाँलाई हेर्न निकै मानिस आउँथे, कोरोनाको डर थिएन,’ छोरा दीपेन्द्रले भने, ‘हामीलाई पनि आडभरोसा मिलेको थियो, अब त कोरोना को डर पनि भयावह छ, आफन्तलाई खबर पनि गर्न गाह्रो।’
उनलाई हजुरबुवाको मृत्यु हुँदा गाउँका मानिस, नातागोता सबै भेला भएर काम गरेको याद ताजै छ।
‘केही वर्षअघि यही घरमा हजुरबुवा बित्दा बस्ने ठाउ पुगेन, अहिले बुवाको मरण कस्तो बेला भयो घर नै खाली छ,’ उनले भने।
उनकी आमा युगवती देवी श्रीमानको अकालमै ज्यान गएपछि चिन्तामा डुबेकी छिन्। उनलाई सम्झाइ-बुझाइ गर्ने मनखाएको आफन्त अहिले आउन सकेनन्।
‘आफन्त, इष्टमित्र मर्दापर्दा भन्थे तर समय यस्तो आयो कि आफन्त इष्टमित्रबाटै टाढा रहनु पर्यो,’ उनले भनिन्।
मानवशास्त्री डम्बर चेम्जोङ बिहेको जन्ती र मर्दाको मलामी भनेको आपसी सहयोग सद्भाव र मानवीय पक्ष भएको बताउँछन्। कोरोना महामारीको समयमा यही कुरा कमजोर हुन्छ कि भन्ने उनको चिन्ता छ।
‘आफूभित्रको मानवीयतालाई उजागर गर्ने भनेकै यस्तै बेलामा हो। अभरको बेला भर दिने भन्ने हुन्थ्यो। कोरोना महामारीको बुझाइ र यसको असरको ज्ञानले मान्छेलाई एकान्तवासमा पुर्यायो। सामाजिक नभए पनि हुन्छ कि भन्नेमा पुर्यायो यो चिन्ताजनक कुरा हो,’ उनले भने।
चिकित्सा विज्ञानले भौतिक दूरी कायम राख्न भनेको भए पनि मान्छेहरूले यसलाई सामाजिक दूरी भनेर व्याख्या गरेको उनले बताए।
‘मेडिकल साइन्सले त भौतिक रूपमा टाढा बस्नु भनेको थियो मानिसले यसलाई समाजिक दूरी भने। त्यो निकै भिन्न कुरा हो,’ उनले भने, ‘यस्तो असामाजिक खाले ज्ञानको विस्तार र विकास एकदम छिट्टै भयो। नेपालबाट मात्र होइन बाहिरबाटै आयो।’
संक्रमितको मृत्यु संस्कारमा परिवार र आफन्त उपस्थित हुन नपाउने भन्ने कुरा झन् अनौठो लाग्ने कुरा भएको उनको भनाइ छ।
‘भौतिक दुरी भन्या भए मृत्यु संस्कारमा पनि विभिन्न सुरक्षाका उपाय अपनाएर भौतिक दूरी कायम राखेर कम्तिमा छोराछोरी र परिवार जान मिल्ने दागबत्ती दिन सक्ने हुन्थ्यो होला, सामाजिक दूरी भनिदियौं, जसले गर्दा मलामी त के संक्रमितको परिवारलाई पनि डर भयो,’ उनले भने।
भविष्यमा पनि यसले असर गर्ने उनको आँकलन छ। उनका अनुसार, यो महामारीको माध्यमबाट अब समाज परिवर्तन हुने भयो। यसले अब मान्छेलाई सामाजिक र सामूहिकता भन्दा पनि व्यक्तिपरक बनाउँछ। सामूहिकताप्रति विश्वास हट्दै जान्छ। सामाजिक नभए पनि हुने रहेछ भन्ने पर्छ।
मृत्युपछि आफन्तलाई जुठो लाग्ने भन्ने नियमले भने मानिसलाई नजिक राखिराख्नेमा उनको विश्वास छ। तर, कोरोनाको समयमा उनले देखको डरलाग्दो पक्ष भने सामाजिक घृणा हो।
‘कोभिड लागेको मानिस बस्ने घरलाई घेर्ने जस्तो असामाजिक र अमानवीय कुराहरू भइरहेका छन् यो निकै चिन्ताजनक हो,’ उनले भने, ‘यस्तै खाले सरूवा रोग आइरहे भने त मान्छेलाई गाह्रो हुन्छ। पहिले-पहिलेको जमानामा पो सुरक्षाका साधन थिएनन्। महामारीमा एकअर्कालाई मान्छेले सहयोग गर्न सकेका थिएनन्। अहिले त धेरै सुरक्षाका साधन छन्। त्यही पनि यस्तो सामाजिक घृणा राम्रो संकेत होइन।’