गोरखाबाट उपचारका लागि काठमाडौं ल्याइएका एक जना बिरामीको सरकारी र निजी अस्पतालहरूमा आइसियू खोज्दाखोज्दै मृत्यु भएको छ।
सुलिकोट गाउँपालिका-७ पाँचखुवा देउरालीका ५७ वर्षीय कलबहादुर बरामलाई केही दिनदेखि ज्वरो आइरहेको थियो। बुवालाई ज्वरो आउने, बरबराउने र श्वासप्रश्वासमा समस्या भएपछि छोरा लालकुमार बरामले आइतबार उनलाई काठमाडौं ल्याए।
वीर अस्पतालमा भर्ना गरेर उनको उपचार थालियो।
सोमबार उनको स्वास्थ्य अवस्था सुधार हुनुको साटो जटिल हुन थाल्यो। उपचारमा संलग्न डाक्टरले वीरमा आइसियू बेड खाली नभएकाले अन्त लैजानु पर्ने बताए।
‘वीरका एक जना डाक्टरले राम्रो व्यवहार गर्नुभएको थियो। यहाँ आइसियू खाली छैन भन्नुभयो। उहाँ पनि हिजै क्वारेन्टिन बस्न जानुपर्ने रहेछ, ' लालकुमारले सेतोपाटीसँग भने, 'भेनस अस्पतालमा कुरा गरिदिएको छु, बाबालाई उतै लैजानु भनेर उहाँ जानुभयो।’
ती डाक्टरको सल्लाहअनुसार कलबहादुरलाई बानेश्वरस्थित भेनस अस्पताल लगियो।
‘भेनसले पहिला पिसिआर रिपोर्ट माग्यो,’ उनले भने, ‘छैन भनेपछि त्यहाँका मान्छेले आइसियू बेड खाली छैन भन्ने जवाफ दिए।’
त्यसपछि उनले बिरामी बाबुलाई भैंसेपाटीस्थित मेडिसिटी अस्पताल पुर्याए।
‘मेडिसिटीले पनि पिसिआर रिपोर्ट माग्यो,’ उनले भने, ‘त्यसपछि बाबालाई नर्भिक अस्पताल लगें। पिसिआर रिपोर्ट नभएकाले त्यहाँ पनि उपचार गर्न मानेनन्।’
अस्पताल चहार्दाचहार्दै उनका बुवाको अवस्था जटिल बनिसकेको थियो।
‘अन्तिममा पाटन अस्पतालले उपचार गर्छु भन्यो,’ उनले भने, ‘कोरोना संक्रमण नै नभएका बाबालाई ‘सबै कोरोना संक्रमित त आउँछन् नि!’ भन्दै भर्ना लिए।’
भर्ना गर्नुअघि पाटन अस्पतालमा कलबहादुरको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो।
पाटन अस्पताल पुर्याउँदासम्म उनको अवस्था चिन्ताजनक भइसकेको थियो। अस्पतालले उनलाई आइसियूमा राखेर उपचार त थाल्यो तर केही घन्टा नबित्दै मंगलबार बिहान सवा तीन बजेतिर उनको मृत्यु भयो।
‘मेरो बाबालाई अस्पतालहरूले भर्ना गर्न मानेनन्। अस्पताल पुर्याउनेबित्तिकै पिसिआर रिपोर्ट मागे। हामीसँग रिपोर्ट थिएन। त्यसपछि आइसियू खाली छैन भन्दै भर्ना लिन मानेनन्,’ उनले भने, ‘समयमै उपचार नपाउँदा बाबाको निधन भयो।’
पाटन अस्पतालका डाक्टर बिमल पाण्डेका अनुसार कलबहादुरलाई आइसियूमै राखेर उपचार गरिएको थियो।
‘उहाँ यहीँ भर्ना हुनुहुन्थ्यो,’ उनले सेतोपाटीसँग भने, ‘हामीले आइसियूमै राखेर उपचार गरेका थियौं। तर बचाउन सकेनौं।’
मृत्यु भएपछि कलबहादुरको कोरोना रिपोर्ट पनि आएको छ।
‘बिहान पिसिआर रिपोर्ट नेगेटिभ आएछ,’ लालकुमारले भने, ‘कोरोना नै नलागेका मेरा बाबालाई पिसीआर रिपोर्ट मागेर अस्पतालहरूले उपचार गर्न मानेनन्। यस्तो घटना अरूलाई नपरोस्।’
उनले आफूले जस्तो दु:ख अरूले नपाऊन् भनेर सरकारले कदम चाल्नु पर्ने बताए।
‘वीरका डाक्टरले सक्दो सहयोग गरेका हुन्। उनलाई म दोष दिन्नँ। अन्तिम अवस्थामा पाटनका डाक्टरले पनि सकेको गरेका हुन्। तर पनि बाबा रहनु भएन अब कसलाई दोष दिने र!’ उनले भने, ‘पिसिआर रिपोर्ट खोजेर बिरामीलाई दु:ख दिन हुन्न भन्ने हो। यो कुरा सरकारले राम्रोसँग बुझ्नुपर्छ।’
मेडिसिटी अस्पतालका प्रबन्धक विजय रिमालले आइसोलेसन बेड खाली नभएकोले गए राति ३ जना बिरामीलाई भर्ना लिन नसकिएको जानकारी दिए।
‘बिरामीलाई आइसोलेसन बेड खाली छ भने राखिन्छ। पिसिआर रिपोर्ट बिरामी भर्ना हुनेबित्तिकै आउँदैन। हामी आइसोलेसनमा राखेर उपचार जारी राख्छौं। पिसिआर रिपोर्ट नेगेटिभ आएपछि मात्र अर्को कक्षमा सार्छौं। पोजेटिभ आए आइसोलेसनमै राखेर उपचार गरिन्छ,’ उनले भने।
आइसोलेसनमा आइसियू बेड पनि रहेको उनले बताए।
‘हिजो आइसोलेसनको आइसियू खाली नभएर तीन जनालाई राख्न नसकिएको हो,’ उनले भने, ‘पछिल्लो १०/१५ दिनमा आइसोलेसन खाली छैन।’