लकडाउन र निषेधाज्ञाका कारण रक्तसञ्चार केन्द्रमा अहिले रगत छैन। अस्पतालहरुले स्टक राख्ने रगतको पनि अभाव छ। कोरोना भाइरसका कारण सामाजिक संस्थाहरुले रक्तदान कार्यक्रम आयोजना गर्न पाएका छैनन्, रक्तदाताले रगत दान दिन।
रगत चाहिने बिरामी भए पहिल्यै उसको रगतसँग मिल्ने ग्रुपको रगत भएको रक्तदाता खोज्नुपर्छ। रक्तदाताहरुको संजालले अस्पतालमै पुगेर रगत दिने र बिरामी बचाउने गरिरहेका छन्। दुर्घटना लगायतका केसमा भने अकस्मात रगत आवश्यक पर्छ। यस्तो बेला चाहिने रगत कहाँ खोज्ने?
उच्च रक्तचापका कारण स्याङ्जाकी ४० वर्षीय लक्ष्मी ढकाल सोमबार अकस्मात ढलिन्। उनलाई आफन्तले उठाएर उपचार गर्न पोखरास्थित गण्डकी मेडिकल कलेज ल्याए। अस्पतालका चिकित्सकले ढकालको एबी पोजेटिभसँग मिल्ने ६ युनिट रगत आवश्यक पर्ने भन्दै व्यवस्था गर्न लगाए।
ढकालका ज्वाईं हरिबहादुर थापा सोमबारदेखि नै रगतको खोजी गर्न थाले। उनी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल परिसरमा रहेको नेपाल रेडक्रस सोसाइटीको रक्तसञ्चार केन्द्रमा पुगे। दुई युनिट भन्दा बढी रगत पाएनन्।
रेडक्रसले रगत अभाव हुन नदिन भन्दै गत चैतदेखि रक्त एम्बुलेन्स शुरु गरेको थियो । रक्त एम्बुलेन्सले मंगलबार पोखराको सभागृहमा रगत संकलन गरिराखेको थियो। रगतको खोजी गरिरहेका थापा त्यहीं पुगे, आप्mनो समस्या बताए।
पोखरामा प्रधान कार्यालय रहेको ग्रीन डेभलपमेन्ट बैंकको आठौं वार्षिकोत्सबको अवसरमा रक्तदान कार्यक्रम भइराखेको थियो। रगत अभाव भइरहेको थाहा पाएर नै उक्त कार्यक्रम गरी वार्षिकोत्सब मनाएको बैंकका प्रमुख कार्यकारी अधिकृत उमेशकुमार आचार्यले बताए।
उक्त रक्तदानमा बैंकका १० कर्मचारी र बाहिरका ३ गरी १३ जनाले रगत दिएको क्षेत्रीय रक्तसञ्चार केन्द्रका प्रमुख अर्जुन ज्ञवालीले बताए। उनका अनुसार पोखरामा दैनिक ८० युनिट रगत आवश्यक पर्छ। तर अहिले रगत नै नभएको उनले बताए। ‘रगत यति अभाव छ कि, दुई जनाले रक्तदान गर्छु भनेमा रक्त एम्बुलेन्स नै लगेर संकलन गर्छौँ।’
रगत संकलन गर्दै हिँड्ने ‘रक्त एम्बुलेन्स’ नेपालमा पहिलो पटक पोखरामा प्रयोग गरिएको छ। गत चैत ६ गतेदेखि यो सेवा शुरु भएको हो। रक्त एम्बुलेन्समा गाडीभित्रै बसेर रक्तदान गर्न सकिन्छ। रगत चिस्याउने, रगत झिक्ने स्वास्थ्यकर्मी बस्ने व्यवस्था राखिएको नेपाल रेडक्रस सोसाइटी कास्कीका मन्त्री धर्मराज अधिकारीले बताए।
उक्त एम्बुलेन्समा एकैपटक ४ जना बसेर रक्तदान गर्न सक्छन्। रगत अभाव भएपछि एम्बुलेन्स लिएर तनहुँ, स्याङ्जा लगायत छिमेकी जिल्ला र ग्रामिण क्षेत्रमा समेत रगत संकलन गर्न पुगेको उनले बताए।
रक्त एम्बुलन्स भने कास्की रेडक्रसले निशुल्क पाएको हो । रोटरी क्लब अफ पोखरा अन्नपूर्ण र कोरिया स्थित आर आई डिस्ट्रिक ३६९०, रोटरी क्लब अफ याङजुले ७५ लाख रुपैयाँ लागतमा उक्त गाडी खरिद गरेर रेडक्रसलाई हस्तान्तरण गरेको अधिकारीले बताए।
रेडक्रसले पोखराको ब्लड बैंकमा अत्याधुनिक प्रविधि भित्र्याएको छ। यसै वर्ष नयाँ एम्बुलेन्स पनि खरिद गरेको छ। एम्बुलेन्स र ब्लड बैंकलाई आवश्यक प्रविधि खरिदमा ८० लाख रुपैयाँ खर्च भएको अधिकारीले बताए। उनका अनुसार उक्त रकममा ५० लाख गण्डकी प्रदेश सरकारले दिएको हो भने बाँकी रेडक्रसले आफ्नै आन्तरिक स्रोतबाट जोहो गरेको हो।
रक्त एम्बुलेन्सले संकलन गरेको रगत सबैभन्दा पहिला रक्तसञ्चार केन्द्र पठाइन्छ। त्यहाँबाट रगतको ग्रुप छुट्याउने, कुनै रोगको संक्रमण छ, छैन भनेर परीक्षण गरिन्छ। त्यसपछि मात्र बिरामीलाई उपलब्ध गराइने केन्द्र प्रमुख ज्ञवालीले बताए। रक्तदान भएकै ठाउँमा बिरामीका आफन्तलाई परीक्षण बिना नै रगत दिएर पठाउन नसकिने उनले बताए।
मिर्गाैला खराब भएर डायलासिस गर्नुपर्ने बिरामीलाई महिनाको ४ युनिट रगत चाहिन्छ। सर्पले टोकेका बिरामीलाई २० युनिटसम्म रगत आवश्यक परेको रक्तसञ्चार केन्द्र पोखराका पूर्व प्रमुख ध्रव लामिछानेले बताए। रगत अभावले यी बिरामी मात्र होइन, अपरेसन गर्नुपर्ने बिरामीलाई समेत समस्या परेको उनले बताए।
रेडक्रसले माइकिङ गरेर रक्तदानका लागि आग्रह गर्ने गरेको छ। रगत अभावको समस्या समाधान गर्न लायन्स क्लब अफ पोखरा भद्रकालीले सोमबारदेखि साताव्यापी रक्तदान कार्यक्रम थालेको क्लबका अध्यक्ष संयुक्त धाख्वाले बताए। सोमबार मात्र क्लबले २५ युनिट रगत संकलन गर्न सफल भएको उनले बताए।
पोखरामा अहिले निषेधाज्ञा जारी छ। सर्वसाधारण घरबाहिर निस्किएका छैनन्। सडक शून्य छ। रेडक्रस कास्कीका मन्त्री अधिकारीले भने, ‘लकडाउनमा बिरामीका आफन्त रगत खोज्दै हिँड्नुपर्ने अवस्थाबाट मुक्त हुन पनि रक्तदातालाई उत्साहित बनाएर रक्तदान गर्न आह्वान गर्नुपर्छ।’