डडेल्धुराको गन्यापधुरा गाउँपालिका-१ का धनबहादुर देउवालाई सबैले बाजे भन्छन्। स्थानीयले पनि, विभिन्न कामले उनको आँगन हुँदै जानेहरूले पनि।
८० वर्ष लागेका धनबहादुरले यो नाम उमेरका कारण मात्र पाएका भने होइनन्। बाजे उनलाई खीरले दिएको नाम हो। १० वर्षको उमेरमै भैंसी गोठालो बनेका धनबहादुरलाई उनको खीर पसलले बाजे 'उपाधि' दिएको छ।
'बाजेको खीर पसल'- उनले चलाएको पसलमा स्वदेशी र विदेशीले पनि खीर खान पाएका छन्।
'गाडीमा स्वदेशी र विदेशी पर्यटकलाई सुदूरपश्चिम घुमाउँदा बाजेको खीर पसलमा पसेरै जान्छु,' गाडी चालक दीपक ऐर बताउँछन्।
बाजेको खीर पसल भनेपछि हुरूक्कै हुने धेरै छन्। भीमदत्त पन्त राजमार्ग हुँदै सुदूरपश्चिमका पहाडी जिल्लाको यात्रा गर्नेहरू आउँदा–जाँदा बाजेको खीर पसलमा नास्ता खानुपर्छ भन्ने सोचेरै यात्रा सुरू गर्ने बैतडीका श्याम पाण्डेय बताउँछन्।
'गाउँबाट धनगढी आउन-जान काम परेका बेला बाजेको खीर पसलमा नास्ता गरूँला भन्ने सोचेरै निस्कन्छु,' श्याम सुनाउँछन्।
धनबहादुरले बनाएको खीरको स्वादले धेरैको जिब्रो मिठासे बनाएको छ। गुलियो-मिठो खीर खान आउनेहरूकै लागि भनेर उमेरले ८ दशक छुँदा पनि धनबहादुरले भैंसी सुम्सुम्याउन छाडेका छैनन्। भैंसीको दूधमा मगमगाउने खीरले स्वागत गर्न दिक्क मान्दैनन्। उनको जोसजाँगर रत्ति घटेको छैन।
कुनै बेला धनबहादुर बाटोका यात्रीहरूलाई सित्तैमा खीर खुवाउँथे रे। अचेल मासिक एक लाख बढीको खीर बिक्री हुने उनी बताउँछन्।
'सुरू त मैले फ्रिमा खीर खुवाउँथेँ। अहिले दिनमा ४-५ हजारको खीर खपत हुन्छ,' धनबहादुरले भने।
गोठालो भएर हुर्केका उनलाई कुनै दिन खीरले नै आफूलाई व्यवसायी बनाउला भन्ने सोचेकै थिएनन्।
उनले थाहापाउँदा उनका बुवाका ५०-६० भैंसी थिए। अरू छिमेकीले पनि यस्तै संख्यामा भैंसी पाल्थे। त्यो बेला स्कुल पढ्ने चलन नभएकाले उनी पनि बासँगै गोठालो जान थाले।
'तीन महिना डडेल्धुराका लेक आउथ्यौं। अरू नौ महिना तराईका जंगलमा भैंसी चराउथ्यौं,' उनी अझै सम्झिन्छन् ती दिन।
२०१५ सालतिरको कुरा हो, धनबहादुरले डडेल्धुराबाट भैंसी ल्याएर कञ्चनपुरका वनमा चराउँथे। नौ महिना यतै खर्क हालेर बस्थे।
'उहिले भैंसी जति पाले पनि दूध-दही बिक्री हुन्थेन,' उनले भने, 'सबैका घरमा भएकाले होला। अनि बाहिरबाट आउजाउ गर्ने मान्छ पनि नहुने।'
त्यो बेला उनीहरू उत्पादन भएको दूधबाट घिउ बनाउँथे। त्यो घिउ पनि त्यहाँ बेच्ने होइन, टनकपुरका हाट लैजान्थे। सिमावर्ती भारतको टनकपुरमा घिउ किन्ने ग्राहक भारतीयहरू हुन्थे।
त्यो बेला नेपाल भारत जोड्ने पुल थिएन। टनकपुर जान डुंगामा तरेर जानुपर्थ्यो। डडेल्धुराबाट टनकपुर पुग्नै ५ दिन लाग्थ्यो। यसरी लामो यात्रा गरेर उनका बुबाहरूले धेरै घिउ बेचे।
'टनकपुरमा २० किलो घिउ भरेको टिनको डब्बा ७ सयमा बिक्थ्यो,' उनी सुनाउँछन्।
उनीहरूसँगै घिउ बेच्न जाने अरू पनि हुन्थे। घिउसँगै कहिलेकाहीँ निगाला पनि टनकपुरसम्म लगेर बेच्थे।
भारतीय बजारमा घिउ बेचेर आएको पैसाले नेपालीहरू नुन, गुड, कपडा, गहना लगायत सामान किनेर ल्याउँथे। धनबहादुरको परिवारले पनि त्यसै गर्थ्यो।
२०१७ सालमा कैलालीको गोदावरीबाट सुदूर पहाडका सात जिल्ला जोड्ने सडक खन्न सुरू भयो। यो सडकसँगै धनबहादुरको जीवनले पनि नयाँ मोड लियो।
सडक खन्न सुरू भएको तीन-चार वर्षपछि डडेल्धुराको साहुखर्कतिर इञ्जिनियर र कामदारहरू आउन थाले।
यही बेला धनबहादुरले आफ्नो खीर व्यवसायको बीउ रोपे। २०२४ सालतिर उनी तराईका गोठ जान छाडेर डडेल्धुरामै सडक खन्न आउनेहरूलाई खीर बनाएर सित्तैमा खुवाउन थाले।
यसबापत् एक जना इञ्जिनियरले उनलाई र अरू केही स्थानीयलाई सडक खन्ने काममा सहभागी गराइदिए। यो क्रम केही वर्ष चल्यो।
करिब ८ वर्षपछि, २०३२ सालमा भने उनले आफ्नो खीर पाककलालाई व्यवसायमा ढाल्ने सोचे। एउटा सानो छाप्रोमा उनले खीर पसल खोले। त्यो बेला पाँच रूपैयाँ तिरेपछि अघाउन्जेल खीर खान पाउने सुविधा दिएको उनी बताउँछन्।
विस्तारै सडक पुग्न थालेपछि त राजमार्गमा चहलपहल बढ्न थाल्यो। डडेल्धुरामा माथिका अरू ६ जिल्लाका मानिसहरूले तराई आउन, भारत जान त्यो मार्ग प्रयोग गर्न थाले। उनको पसलको व्यापार पनि बढ्न थाल्यो।
'त्यो बेला मान्छेहरू बाटोमा बाहिरको खाना खाँदैनथे। आफैं बोकेको सामल खाने चलन थियो। तर खीर भनेपछि धेरैको मन लोभियो,' उनले भने।
२०३८ सालमा साहुखर्कसम्म जीप पुग्यो। त्यसपछि नेपालका पूर्वी ठाउँका मान्छेहरू पनि जागिर, व्यवसाय वा काम गर्न आउन जान थाले।
'जागिर गर्न हाकिमहरू आउँथे। इन्डियाबाट मान्छेहरू व्यापार गर्न, सडकमा मजदुरी गर्न पनि आउन थाले,' धनबहादुर सम्झिन्छन्।
अहिले त पहाडका सबै जिल्लामा सडक पुगेको छ। स्वदेशी-विदेशी पर्यटकहरू पनि सहजै पुग्छन्। अनि यी पर्यटकले स्वाद मानीमानी धनबहादुरले बनाएको खीर चाख्छन्।
'जापान, अमेरिका, चीनका मान्छे पनि आएर यहाँ खीर खाएका छन्,' धनबहादुर दंग पर्दै सुनाउँछन्।
उनको खीर व्यवसाय राम्रो चलेको देखेर विदेशीहरू पनि मख्ख पर्छन् रे।
कुनै बेला सित्तैमा, अनि पाँच रूपैयाँको अघाउन्जेल हुँदै अहिले बाजेको खीर पसलमा ७० रूपैयाँमा एक प्लेट खीर पाइन्छ।
तर चैतदेखि लकडाउन भएपछि बाहिरका मान्छे पसलमा आएका छैनन्। उत्पादन भएको दूध त खपत भयो। तर त्यो बेला खीर बिक्ने सम्भावना कम थियो। धनबहादुरले दूधबाट बन्ने मिठाइका परिकारहरू बनाए।
'लकडाउनले मलाई खासै फरक पारेन। खीरको सट्टा मिठाइ बनाएर बेचेँ,' उनी भन्छन्।
अहिले धनबहादुरका छोरा कर्णले आफ्ना बुवाले सुरू गरेको पसलको काम सम्हालेका छन्। ३९ वर्षीय कर्णका साथीहरू कामको सिलसिलामा विदेशिएका छन्। तर उनले बुवाकै खीर पसल चलाउने निधो गरे। अहिले साथीहरूले पनि आफ्नो निर्णय सरहाना गर्ने कर्ण बताउँछन्।
'साथीहरू गाउँ आएका बेला बुवाको कामबाट मैले स्वदेशमै राम्रै आम्दानी गरेको देखेर तिमीले त यतै बसेर ठीक गर्यौ भन्छन्,' कर्ण सन्तुष्ट सुनिन्छन्।
उनले थपे, 'अहिले कोरोनाले बाहिरबाट आएकालाई पहिला जसरी खीर बनाएर खुवाउने अवस्था छैन। तर पनि व्यापारमा घाटा भने भएको छैन।'
दूधबाट उनीहरू खोया मिठाइ बनाएर बिक्री गर्छन्। तर खीर बेचेजस्तो कमाइ हुँदैन।
'मिठाइबाट कम पैसा हुन्छ। खीरबाट बढी पैसा आउँछ,' उनले भने।
जिल्लास्थित पशु भेटेरनरी कार्यालयले उनीहरूको व्यवसायलाई सहयोग पनि गरिरहेको छ। भैंसीहरूको उपचार, खाना, दानापानीका विषयमा प्राविधिक सहयोग र सुझाव त्यो कार्यालयले प्रदान गरिरहेको उनले जानकारी दिए।
बुबासँगै परिवारमा बसेर घरमै जागिर मिलेपछि कर्ण खुसी छन्।
उसो त यो सफलताको यात्रामा बीचबीचमा बाधा र चुनौती नआएका होइनन्। २०७३ सालमा डेढेलोले सल्केर उनीहरूको घरसम्पति सबै जलेर खरानी भएको थियो।
'भएको पैसा, खीर बनाउने भाँडाकुडा, लुगाकपडा सबै जले,' कर्ण सुनाउँछन्।
फेरि सुरुआत गर्न गाह्रो भए पनि खीरले नै आफूहरूलाई व्यवसायमा फर्काएको उनले बताए।
'खासमा हामीले धेरै सहयोग पायौं। खीरका पारखीहरूले आर्थिक सहयोग गरे। कसैले घर बनाउन सिमेन्ट, कसैले ढुंगा, कसैले जस्ता र कसैले भाँडाकुडासम्म दिए। जिल्ला प्रशासन कार्यालयले ५ हजार रुपैयाँ नगदै दियो,' उनी भन्छन्।
यसरी जोहो गरेर उनीहरूले पक्की घर बनाए। आधुनिक शौचालय बनाए। अनि खीरसँगै मिठाइ पसल पनि खोले।
धनबहादुरको परिवारसँग अहिले उन्नत जातका १५ भैंसी छन्। घाँसपात बेच्ने मानिसहरूलाई आर्थिक उपार्जनको स्रोत पनि उनीहरू नै बनेका छन्। पसलमा परिवारबाहेक ३ जना कर्मचारीले पनि काम गर्छन्।
यतिका मान्छेले काममा सघाउँदा पनि धनबहादुर चुप लागेर बस्दैनन्। बेलाबखत चुल्होमा गएर खीर हेर्न भ्याउँछन्। नसके आफ्नो छेउमा हुक्का राखेर पाहुनाहरूको स्वागतमा लागेकै हुन्छन्।