कोरोना भाइरस संक्रमणका कारण पोखरामा ३२ वर्षीय महिलाको मृत्यु भएको छ।
कोरोना संक्रमण देखिएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तर्गत कोभिड– १९ उपचार केन्द्रको आइसियुमा भदौ ७ गते भर्ना भएकी महिलाको बिहीबार बिहान मृत्यु भएको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले बताए।
उनलाई निमोनियाको समस्या रहेको अस्पतालले जनाएको छ।
यसअघि कास्की सेवा अस्पतालमा उपचार गरिरहेकी उनलाई कोरोना भाइरसको संक्रमण देखिएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको थियो। पोखरा महानगर वडा नं. १२ चापापानी घर भएकी मृतकलाई कास्की सेवा अस्पतालबाटै कारोना सरेको जनाएको छ।
उक्त अस्पतालमा उपचाररत तनहुँको ब्यास १ का ५० वर्षीय वृद्धको भदौ १ गते निधन भएको थियो। उक्त वृद्धको निधन भइसकेपछि कोरोना पोजेटिभ भएको रिपोर्ट आएको थियो।
त्यही उपचाररत रहेकी महिलालाई कोरोना देखिएपछि भदौ ७ गते पश्चिमाञ्चल क्षेत्रीय अस्पताल सारिएको थियो।
तनहुँ घर भएकी उक्त महिलाको १ छोरा र १ छोरी रहेको पोखरा १२ का वडा अध्यक्ष रामबहादुर कार्कीले बताए। उनको शव व्यवस्थापनका लागि तयारी थालिएको उनले जानकारी दिए।
यो सहित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ पुगेको छ।