भदौरे भेलले बूढीगंगा नदी उर्लेको छ।
बिजुलीको तारमा झुण्डिएर दिनहुँ मानिसहरू जोखिम मोलेर बूढीगंगा वारपार गरिरहेका छन्। यो दृश्य बाजुरा बडिमालिका नगरपालिका ४ र ६ जोड्ने बूढीगंगा नदीमा दैनिक देखिन्छ।
साउन २५ गते आएको बाढीले यहाँको बेलिब्रिज र झोलुंगे पुल बगायो। मानिसहरू सदरमुकाम आउजाउ गर्न पाएनन्।
त्यसपछि १५ जना स्थानीय मिलेर बिजुलीको तारमा काठको फ्लेकबाट बनाइएको बाक्सा झुण्डाएर तुइन बनाए। भदौ १ देखि मानिसहरू त्यही तुइनबाट बूढीगंगा वारपार गरिरहेका छन्।
तुइन रहेको वडा बडिमालिका ६ की वडाध्यक्ष कला बडुवालका अनुसार दिनमा ७० जनासम्म मान्छे तुइनबाट नदी वारपार गर्छन्।
‘बूढीगंगा, त्रिवेणीका मानिस तुइनबाटै नदी वारपार गर्छन्,’ उनले सेतोपाटीसँग भनिन्, ‘जोखिम त छ नै, तैपनि सदरमुकाम आउजाउ गर्नैपर्यो।’
बाढीले मोटर चल्ने बेलिबृज पुल र झोलुंगे पुलसमेत बगाएकोले स्थानीय बासिन्दाले तुइन हालेको उनले बताइन्।
‘तुइन नचढ्ने हो भने अलि तल एउटा झोलुंगे पुलसम्म जानुपर्छ,’ उनले भनिन्, ‘तर मानिसलाई हतार हुन्छ लामो बाटो हिँड्दैनन्, जोखिम मोलेरै तुइनबाट वारपार गरिरहेका छन्।’
करिब आधा घन्टा दूरीमा रहेको झोलुंगे पुल पनि जीर्ण छ।
‘पुलसम्म पुग्ने बाटो नै भत्किएको छ। जतासुकै बाढीले कटान गरेको छ। पहिरोले बाटो भत्काएको छ,’ उनले भनिन्।
बेलिब्रिज र झोलुंगे पुल बगेपछि स्थानीय बासिन्दाले नगरपालिकासँग पुल बनाउन पहल गर्न आग्रह पनि गरेका थिए। बडिमालिकाका मेयर पदम बडुवालले पुल निर्माणमा सहयोग गर्न केन्द्र र प्रदेश सरकारसँग पटक-पटक पहल गरेको बताए।
‘यहाँ गृहमन्त्री पनि आउनुभएको थियो। पुल निर्माणमा पहल गरिदिनु भनेको छु,’ उनले भने, ‘केन्द्र र प्रदेश सरकारसँग पटक-पटक पुलका लागि कुरा गरेको हुँ। तर मेरो पहलले अझै काम गरेको छैन।’
आफू पनि तुइनको अवस्था बुझ्न गएको उनले बताए।
‘त्यहाँ जोखिमयुक्त तुइन चलाएका छन् भन्ने सुनेपछि म फिल्डमै पुगेर यस्तो तुइन नचलाउनुस् भनेको हुँ,’ उनले भने, ‘हामीले भन्दा स्थानीय बासिन्दाले विरोध गर्यो भन्नेजस्तो ठानेका छन्। जोखिमयुक्त तुइन सञ्चालनमा प्रशासनले के हेरेर बसेको छ? जोखिम हो भने प्रहरी लगाएर पनि हटाउनुपर्यो त।’
तुइनको विकल्पमा आधा घन्टा दूरीमा झोलुंगे पुल रहे पनि मानिसहरू त्यो पुलको प्रयोग गर्न छाडेर तुइनबाटै नदी वारपार गरिरहेको उनले बताए।
‘मान्छेको बानी कस्तो हुने रहेछ भने छिटो बाटो पार गर्न खोज्दो रहेछ,’ उनले भने, ‘वडा नम्बर ५ मा एउटा पुल बचेको छ। त्यो पुलबाट खाद्यान्न बोकेका खच्चड पनि हिँड्छन्। त्यो पुलमा नगई जोखिमयुक्त तुइन चढेका छन्।’
तुइनबाट बूढीगंगा पार गर्न प्रतिव्यक्ति ५० रुपैयाँ तिर्नुपर्छ।
‘सदरमुकाम आउजाउ गर्ने मानिसले यो तुइन चढेका हुन्,’ उनले थपे, ‘एक जनासँग ५० रूपैयाँ पनि लिँदा रहेछन्।’
तुइन जोखिमयुक्त छ भन्ने जानकारी नगरपालिकाले स्थानीय प्रशासनलाई दिइसकेको पनि उनले बताए।
‘सबै काम स्थानीय तहले गर्ने हो भने सिडिओ के काम?’ उनले प्रश्न गरे, ‘पुलिस लगाएर भए पनि त्यो हटाए भइगो।’
बूढीगंगामा आएको बाढीले साँफे मार्तडी सडकखण्ड छियाछिया पारेको पनि बताए।
‘तुइनदेखि माथि १२ र तल १६ किमी बाटो छियाछिया छ,’ उनले भने, ‘तुइन भएको ठाउँमा स्थानीय सरकारले पुल हाल्न सक्ने कुरा भएन। प्रदेश र केन्द्रलाई भनेको छु।’
साउन २५ को बाढीले एक पक्की पुल, पाँच वटा झोलुंगे पुल र १० भन्दा बढी काठे पुल बगाएकोले नदी वारपारमा समस्या भइरहेको उनले जानकारी दिए।
म पनि तुइनबाटै वारपार गर्छु: सिडिओ
बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले बाहिर हल्ला गरेजस्तो तुइन जोखिमयुक्त नरहेको दाबी गरे।
सेतोपाटीसँग कुराकानी गर्दै प्रजिअ गैह्रेले आफू आज पनि उक्त तुइनबाटै नदी पार गर्न लागेको जानकारी दिए।
‘तुइन अलिअलि जोखिम त भइहाल्छ। तर बाहिर जुन खालको हल्ला छ त्यस्तो जोखिम छैन। म त्यही तुइनबाट तरेर आएको हुँ,’ उनले भने, ‘यसो कतै डोनर खोजेर लाइफ ज्याकेट व्यवस्था गर्न सकियो भने तुइन चढ्ने मानिस सुरक्षित हुन्थ्यो।’
उनले तुइनमा राखिएको बाकस (ट्रली) अलि व्यवस्थित बनाउन सकिए नदी वारपार गर्नेलाई सहज हुने पनि बताए।
‘तुइनको लठ्ठा बलियो छ। २० मिटर लामो होला,’ उनले भने, ‘बडिमालीका र जरंगा जोड्ने हो। त्यस्तो असुरक्षित छैन। हिजो म, नेपाल प्रहरी, सशस्त्र प्रहरीका डिएसपीहरू पुगेर हेरेर आएको हो। त्यही तुइन चढेर आज पनि जानु छ।’