विश्व स्वास्थ्य संगठनले अफ्रिकाबाट पोलियो उन्मूलन भएको घोषणा गरेको छ। सिएनएनका अनुसार संगठनले मंगलबार अफ्रिकामा पोलियो निर्मूल भएको घोषणा गरेको हो।
'अफ्रिकामा पोलियो निर्मूलसँगै हामीले एक ऐतिहासिक सार्वजनिक स्वास्थ्य सफलता प्राप्त गरेका छौं। पोलियो भाइरस उन्मूलनको प्रमाणीकरणसँगै यति बेला हामी भेला भएका हौं,' मंगलबार भएको एक भर्चुल कार्यक्रममा संगठनका महानिर्देशक ट्रेडोस अडानोम गेब्रेससले भनेका छन्, 'पोलियोको अन्त्य हुनु निकै खुसीको कुरा हो। अफ्रिकाको सफलता संसारको सफलता हो। यो हामी कसैले एक्लै गर्न सक्दैनौं।'
ट्रेडोस पोलियो निरीक्षण बोर्डका अध्यक्ष समेत हुन्।
पोलियो भाइरसको असर बालबालिकाहरूमा देखिन्छ। यसले विशेषगरी उनीहरूको स्नायू र मांसपेशी कमजोर बनाउँछ। साथै पक्षघात समेत हुने सम्भावना बढाउँछ। अहिलेसम्म यसको कुनै उपचार वा औषधि बनेको छैन। तर पोलियोको खोप लगाएर यसको नियन्त्रण गर्ने गरिएको छ।
सिएनएनका अनुसार अफ्रिकी सरकार तथा गैरनाफामूलक संस्थाहरू सन् १९९६ देखि खोप कार्यक्रमसँगै यसलाई नियन्त्रण तथा निर्मूल गर्न लागि परेका थिए। ट्रेडोसका अनुसार अफ्रिकी मुलुकमा करिब ९ अर्ब पोलियो खोप पुर्याइ सकिएको छ।
सन् १९९६ देखि पोलियो भाइरस नियन्त्रणका लागि गरिएको विभिन्न कार्यक्रमले १८ लाख बालबालिकालाई पक्षघात हुनबाट रोकेको छ भने १ लाख ८० हजारको ज्यान जोगाएको सिएनएनले उल्लेख गरेको छ।
अफ्रिकामा पोलियो निर्मूल राष्ट्र घोषणा गर्नुअघि अधिकारीहरूले ४ वर्ष परीक्षण र निरीक्षण गरेका थिए। संगठनका अनुसार अफ्रिकी मुलुकमध्ये पछिल्लो समय नाइजेरियामा सन् २०१६ मा पोलियो भाइरस देखिएको थियो।
पोलयो भाइरस अमेरिका, युरोप र अधिकतर अष्ट्रेलियाले निर्मूल घोषणा गरिसकेको छ। यसको निर्मूल घोषणा गर्ने अन्तिम क्षेत्र दक्षिण पूर्व एसिया थियो। अहिले पोलियो, दुई देश अफगानिस्तान र पाकिस्तानमा बढी फैलिएको देखिन्छ।
डब्लुएचओका अनुसार सन् १९८८ का तुलनामा पोलियो ९९ प्रतिशत कम भएको छ। सन् १९८८ ताका १२५ देशमा ३ लाख ५० हजार संक्रमित गणना गरिएको थियो भने सन् २०१९ मा जम्मा १७५ पोलियो भएको रेकर्ड थियो।