कर्णाली प्रदेशमा कोरोना परीक्षणको दायरा बढाएपनि स्वाव संकलन भने हुन सकेको छैन।
मेसिनको क्षमता अनुसार स्वाव नपाएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक डा. मंगल रावलले बताए।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेश अस्पतालमा गरी दुईवटा ‘अटोमेटिक आरएनए एक्स्ट्रयाक्सन सिस्टम/मेसिन’ जडान गर्ने योजना अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यो मेसिन जडान गरिसकिएको छ। एक साता अघिदेखि संघीय सरकारले दिएको एक्स्ट्रयाक्सन मेसिन प्रतिष्ठानले आफ्नो खर्चमा सञ्चालन गरिरहेको छ।
एक्स्ट्रयाक्सन मेसिनको क्षमता दैनिक १ हजार स्वाब परीक्षण गर्ने हो ।
‘मेसिन जडान भईसकेको छ, हामीले सञ्चालन पनि गरिसकेका छौं,’ डा. रावलले भने, ‘अहिले मेसिनको क्षमता अनुसारको स्वाव भने आएको छैन, दैनिक दुई/ढाई सय जति आउँछ। त्यसैलाई परीक्षण गरी पठाउने गरेका छौं।'
कर्णाली प्रदेश सरकारले परीक्षणको दायरा बढाउन भनेर आफैँले ‘एक्सट्रयाक्सन मेसिन’ खरिद गरेको छ। प्रदेश अस्पतालमा प्रदेश सरकारले खरिद गरेको मेसिन जडान गर्ने तयारी गरिएको छ। हाल प्रदेश अस्पतालमा प्रयोगशालाका लागि केही आवश्यक संरचना बनाउनुपर्ने भएकाले उक्त मेसिन सञ्चालनमा भने ल्याईएको छैन।
‘अहिले हामीले मेसिन राख्नका लागि अन्य संरचना पनि बनाउनु छ, यसका लागि बजेट पुगेको छैन,’ प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काले भने, ‘हामीले प्रदेशलाई पनि बजेटको लागि आग्रह गरेका छौं, एक्स्ट्रयाक्सन मेसिन सञ्चालनका लागि अन्य केही सामग्री खरिद र संरचना बनाउने काम सकियो भने सञ्चालनमा ल्याउछौं।’
प्रदेश अस्पतालमा पनि अटोमेटिक एक्स्ट्रयाक्सन मेनिस जडान गरेसँगै अहिलेको करिब पाँच गुणा बढी स्वाब परीक्षण गर्न सक्ने क्षमता कर्णाली प्रदेशको हुन्छ। तर अहिले नै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको एक्स्ट्रयाक्सन मेसिनलाई स्वाब पुर्याउन सकिएको छैन ।
अहिले कन्ट्याक्ट ट्रेसिङमा परेका र क्वारेन्टिनमा रहेकाहरुको मात्र स्वाव संकलन गर्ने काम भएकाले मेसिनको क्षमता अनुसार स्वाव प्राप्त हुन नसकेको हो।
सामाजिक विकास मन्त्री दल रावल अब परीक्षणको दायरा बढेसँगै स्वाव संकलनको कामलाई पनि वृद्धि गर्नुपर्ने बताउँछन्। यसका लागि सरकारले तयारी गरिरहेको उनले बताए।
‘अहिले समुदायमा पनि ट्रेसिङमा परेका मानिसहरूको स्वाव संकलन गर्ने काम भईरहेको छ,’ मन्त्री रावलले भने, ‘लक्षण देखिएका र ट्रेसिङमा परेका मानिसको स्वाव ल्याउनै पर्ने भएकाले जनशक्ति त्यता केन्द्रित छ। अब सबै व्यवस्थापन गरेर स्वाव संकलनको काम बढाउँछौं।’
जुम्लामा सञ्चालन गरिएको एक्स्ट्रयाक्सन मेसिन सञ्चालन भएसँगै कर्णाली प्रदेशभरीको परीक्षण क्षमता दैनिक १ हजार ४८० पुगेको छ। जुम्लामा रहेको एक्स्ट्र्याक्सन सिस्टमबाहेक रूकुम पश्चिमको चौरजहारी नगरपालिका, दैलेख अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठानले सञ्चालन गरेको १/१ वटा तथा प्रदेश अस्पतालको प्रयोगशालामा सञ्चालनमा रहेका २ वटा पिसीआर मेसिनबाट परीक्षण भईरहेको छ।
हाल सञ्चालनार्थ पिसीआर मेसिनको क्षमता २४ घण्टामा ९६ वटा स्वाब परीक्षण गर्न सक्ने हो। यसरी दैनिक पाँचवटा मेसिनबाट बढीमा ४८० वटा स्वाब परीक्षण गर्न सकिन्छ। अटोमेटिक आरएनए एक्स्ट्रयाक्सन सिस्टमले पिसीआर मेसिनले ६ घण्टामा गर्न सक्ने काम ३५ मिनेटमा गर्न सक्छ। एक्स्ट्रयाक्सन सिस्टमको क्षमता २४ घण्टामा एक हजार स्वाव परीक्षण गर्न सक्ने हुन्छ।
प्रदेश अस्पतालमा पनि एक्स्ट्रयाक्सन मेसिन जडान भएपछि कर्णालीमा दैनिक २ हजार ४८० स्वाब कम्तिमा परीक्षण गर्न सकिन्छ।