लमजुङका कोरोना संक्रमितको पोखरामा मृत्यु भएको छ।
बिरामी भएपछि दुई दिनअघि पोखरा ल्याएका लमजुङको मध्यनेपाल नगरपालिका करापुटारका ५२ वर्षीय पुरूषको मृत्यु भएको हो।
कोरोना संक्रमणका साथै उच्च रक्तचाप, मधुमेह लगायतका समस्या देखिएपछि उनलाई पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा शुक्रबार भर्ना गरिएको थियो।
शुक्रबार नै उनको मृत्यु भएको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले बताए।
योसहित उक्त अस्पतालमा कोरोनाका कारण ६ जनाको मृत्यु भइसकेको आचार्यले जानकारी दिए।
लमजुङबाट बिरामी भएर पोखरा आएका उनको कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो। कोरोना संक्रमण पुष्टि भएपछि उनको मृत्यु भएको आफन्तले जनाएका छन्।
गण्डकी प्रदेशमा कोरोनाका कारण योसहित १० जनाको ज्यान गएको छ भने कोरोना संक्रमितको संख्या २ हजार ३६ जना पुगेको छ। जसमध्ये शुक्रबारमात्रै ३० जना नयाँ संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशक डा. बिनोदबिन्दु शर्माले बताए।