काठमाडौं महानगरपालिका वडा नम्बर १६ बालाजुमा रहेको जनमैत्री अस्पताल सोमबारदेखि पुन: सञ्चालनमा आउने भएको छ।
बन्द भएको चार वर्षपछि उक्त अस्पताल पुन: सञ्चालनमा ल्याउन लागेको हो। सरकारले कोरोनाका बिरामीलाई उपचार गर्न जनमैत्री अस्पताल सञ्चालनमा ल्याउने निर्णय गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दिएको जानकारीअनुसार केन्द्र सरकार मातहत रहने गरी काठमाडौंका जनमैत्री र कान्तिपुर अस्पताललाई कोरोना अस्पतालमा सूचीकृत गरिएको छ।
उपत्यकामा यसअघि टेकु, पाटन र सशस्त्र प्रहरी अस्पताललाई कोरोनाका बिरामी उपचार गर्ने अस्पतालका रूपमा तोकिएको थियो। कोरोना संक्रमित बिरामी दिनहुँ थपिँदै गएपछि जनमैत्री र कान्तिपुरलाई पनि कोरोना अस्पतालका रूपमा सञ्चालन गर्न लागिएको मन्त्रालयले जनाएको छ।
२०७२ सालमा गएको भूकम्पपछि जनमैत्री अस्पताल बन्द थियो।
जनमैत्री ट्रष्टका नाममा रहेको अस्पताल किन बन्द भयो खुलेको छैन। तीन सय शैय्या क्षमताको अस्पताल कोरोना महामारीका बेला सञ्चालनमा ल्याउन काठमाडौं महानगर १६ ले पहल थालेपछि सरकारले निर्णय गरेको हो।
‘जनमैत्री अस्पताल सोमबारदेखि सञ्चालनमा आउँछ,’ वडाध्यक्ष मुकुन्द रिजालले सेतोपाटीसँग भने, ‘अहिले त्यहाँ व्यवस्थापनका काम भइरहेका छन्।’
उनले जनमैत्री पुन: सञ्चालनमा ल्याउने अभियानसमेत सफल भएको बताए।
‘अस्पताल केन्द्र सरकार मातहत सञ्चालनमा आउन लागेको हो। तीन सय शैय्या क्षमता हो तर स्वास्थ्य मन्त्रालयले अहिलेका लागि एक सय ५० शैय्याको स्वीकृति दिएको छ,’ अध्यक्ष रिजालले भने, ‘डाक्टर तथा कर्मचारीलगायत स्वास्थ्यकर्मी सबै केन्द्र सरकारले व्यवस्थापन गर्छ।’
जनमैत्री अस्पतालको व्यवस्थापन हेर्ने काम उमेश पाण्डेले गरिरहेका छन्।
‘अस्पताल ट्रष्टकै नाममा छ। जसको नाममा भए पनि कोरोना संक्रमण भएका बिरामीलाई उपचार गर्ने व्यवस्था अब हुन्छ,’ उनले भने, ‘हाम्रै वडाभित्र एक सय ५ जनाभन्दा बढी कोरोना संक्रमित भइसकेका छन्।’
वडाभित्रका मात्र नभई नेपालभरका कोरोना संक्रमितलाई जनमैत्रीमा राखिने उनले बताए।
‘काठमाडौं उपत्यकाभित्र कोरोना बढ्दो क्रममा छ। आइसोलेसन बनाउने ठाउँ पाइएको थिएन। कसैले विद्यालय कसैले पशुपतिको धर्मशालामा आइसोलेसन बनाउन भनेका थिए,’ उनले भने, ‘बन्द रहेको जनमैत्री सञ्चालन गरेर यहाँ बिरामी राख्न वडाले निरन्तर पहल गरिरहेको थियो।’
जनमैत्री अस्पताल काठमाडौं महानगरले सञ्चालन गर्ने तयारी गरे पनि सञ्चालनमा आएको थिएन।
‘महानगरी अस्पताल बनाउने भन्ने पहल भइरहेको थियो। तर सफल भएन,’ उनले भने, ‘ढिलै भए पनि सरकारले जनमैत्री चलाउने निर्णय गर्यो खुसीको कुरा यही हो।’
जनमैत्री अस्पताल भवन निर्माणको नक्सापास नभएको, दर्ता नवीकरण नभएको भन्ने आलोचना पनि छ। सुरूमा एपोलो अस्पतालको शाखाको रूपमा चलाउने भनिएको सिद्धार्थ एपोलो अस्पतालमा खुलेको यो अस्पताल पछि जनमैत्री नामाकरण गरिएको थियो।
‘व्यवस्थापन, नीति नियमका कुरा एकातर्फ छँदैछ। विस्तारै मिल्दै जान्छ,’ उनले भने, ‘कोरोना लागेका मानिस अब घरमै बस्न नपर्ने भयो केही संख्याका संक्रमित जनमैत्रीमा उपचारका लागि बस्न पाउने भए यो नै अहिलेका लागि राम्रो पक्ष हो,’ उनले भने।