पाटन पिम्बहालबाट पुल्चोक लबिम मलतर्फको बाटोमा छ छाबहाः। पुरानो शैलीको प्रवेशद्वार छेउमै एउटा हिति (ढुंगेधारा) छ, जुन बहाःकै नामबाट छाबहाः हिति भनेर चिनिन्छ।
यो पाटनको एउटै मात्र हिति होला, जहाँ वर्षभरि पानी आउँछ। अन्य धेरै सुकिसकेका छन् भने कुनैमा बर्खा महिनामा मात्र पानी आउँछ। यसमा भने बर्खाबाहेकको समयमा सानो भए पनि पानी आएकै हुन्छ।
केही दिनअघि त्यही अपेक्षासाथ हेर्न पुग्दा हिति त 'पोखरी' मा परिणत भइसकेको रहेछ। पानी निकास नभएपछि त्यहीँ जम्मा भएछ। त्यहाँ कसैले माछा पनि पाल्न थालेछ।
मसँगै पाका उमेरका एक व्यक्ति हिति नियालिरहेका थिए। श्याम महर्जन नाम गरेका उनको हितिअगाडि किराना पसल रहेछ। माछा पाल्ने पनि उनै रहेछन्।
'यी झिँगे माछा हुन्। ठूला–ठूला हुन्छन्। करिब दुई–तीन हप्ता भयो पालेको,' उनले भने।
बेच्नु पनि हुन्छ?
'बेच्नलाई पालेको होइन नि,' उनले भने, 'यी माछाले कतै निकास थुनिएको रहेछ भने खोलिदेलान् भनेर।'
माछा पाल्नुको नियत पक्का भएकाले उनले सरोकारवाला निकाय, नगरपालिका कतैबाट स्वीकृति नलिएको बताए।
जावलाखेलको हितिमा पनि निकासको समस्या भएपछि त्यहाँका स्थानीयले माटो हालेर त्यसको तह बढाउन खोजेका थिए। अघिल्लो महिनातिर यसको विरोध पनि भएको थियो।
पाटनकै जस्तो समस्या छ, काठमाडौंको यंग हितिमा। यंगाल भन्ने ठाउँमा रहेको यो हिति लिच्छविकालीन हो जहाँ १३८० वर्ष पुरानो शिलालेख भेटिएको छ। भीमसेन थापा प्रधानमन्त्री हुँदा यो ठाउँसहित अन्य ठाउँका मान्छे हटाएर घर र शिलखाना दरबारहरू खडा गरिए। लामो समय राणाको अतिक्रमणमा परेको हितिको जिर्णोद्धार २०६५ सालतिर भएको यंगाल क्लबका रघुराज भण्डारीले बताए।
उनका अनुसार त्यो बेला वरिपरिका पर्खाल भत्किएका थिए। माटोले पुरिएर अस्तित्व नै हराउने अवस्थामा पुगिसकेको थियो। करिब ६ आना क्षेत्रफलमा फैलिएको हिति पुरेर भवन बनाउने चलखेल पनि भयो। तै स्थानीयले जोगाए।
त्यसपछि केही वर्ष फेरि बेवास्तामा परेको यो हितिलाई रघुराजकै नेतृत्वमा संरक्षणका काम भए। वरिपरिका झारहरू सफा गरियो। मेसिन लगाएर पानी फालियो। अहिले बर्खा समयमा हितिमा पानी आउँछ।
त्यसका साथै वरिपरिका पानी जम्मा हुने र जमिन पनि रसाउने कारण यो हिति छाबहाःझैं पोखरीमा परिणत भएको छ।
पछिल्लो समय यंगाल क्लबले यहाँ पानीको फोहोरा राखेको छ। सामाजिक सञ्जालमा फोहोराको भिडिओ सार्वजनिक भएयता परम्परागत हितिमा 'किन तमासा गरेको? परम्परागत सम्पदाको मूल्य-मान्यता नबुझेको' भन्दै आलोचना पनि भइरहेको छ। रघुराज याे अस्थायी रहेकाे बताउँछन्।
'पानी जमेकाले फोहोर भयो। फोहोराको चालले सफा हुन्छ भनेर राखिएको हो,' उनले भने, 'केही समयपछि हामी यसलाई निकाल्छौं।'
हामीले यी ढुंगेधाराको निकास समस्याको विषयमा ऐतिहासिक ढुंगेधारा-पोखरी संरक्षण संघका अध्यक्ष सुशील श्रेष्ठसँग कुराकानी गर्यौं।
श्रेष्ठका अनुसार केही वर्षअघि काठमाडौं, भक्तपुर र ललितपुरमा गरी करिब ४२५ हिति थिए। हाल उत्खनन् भइरहेकाले हिति भेटिने क्रम बढेको छ। त्यसैले यसको संख्या ५ सयभन्दा बढी पुगेको छ। ललितपुरमा मात्र करिब ६२ वटा छन्।
छाबहाःझैं 'आउटलेट' को समस्या भएको अर्को हो नदवाः हिति। लबिम मल नजिकैको यो हिति र छाबहाःको एकै ठाउँ 'आउटलेट' रहेको श्रेष्ठ बताउँछन्।
'यहाँको पानी पाटनढोका आएर निस्किनुपर्ने हो। अहिले बसपार्क भएको ठाउँमा पहिले पोखरी थियो। त्यो पोखरी बिगारेर आधुनिक भवनहरू बनेपछि यी हितिमा समस्या आउन थाल्यो,' उनले भने।
अन्य हितिमा 'एक्वीफर' को समस्या छ। एक्वीफर भनेको भूमिगत तहको पानी हो। नाग बहाः, सिन्चा, नुग हिति लगायतका एक्वीफर पाटन औद्यौगिक क्षेत्रपछाडि छ। पहिले त्यो जलाधार क्षेत्र थियो। औद्योगिक क्षेत्र र अरू भवन बनेपछि पानीको तह घट्न थाल्यो र बहाव टुटेको छ।
जावलाखेलमा भने बस्ती विकास भएपछि मान्छेहरूले घरबाट निस्कने पानी पनि हितिका आउटलेटमै मिसाइदिन थालेछन्। सबै पानी त्यहीँ मिसाउँदा समस्या हुने नै भयो।
अहिले माटो थपेर जमिनै बढाएर समस्या सामाधान गर्न खोजिएको छ। यो मूल समस्याको समाधानै होइन। त्यसका लागि निकासै पत्ता लगाउन पर्छ।
पाटनका करिब ९० प्रतिशत हितिमा बर्खा समयमा पानी आउने श्रेष्ठ बताउँछन्। पछिल्लो समय उनको संघले आलको हिति, सुन्धारा हिति लगायत जीर्णोद्धारमा काम गरेको छ।
उनी काठमाडौंको यंग हिति निरीक्षणमा पनि पुगेका छन्। त्यसलाई उत्खनन् गरेर मिलाउन सकिएला भन्ने उनलाई लागेको छ। त्यो मिलेमा पानीको निकास समस्या सुल्झिनेमा आशावादी छन्।
उपत्यकाका तीन सहरमध्ये उनी ललितपुरका हितिको स्थिति राम्रो मान्छन्। यसको डिजाइनदेखि पानीको प्रणाली राम्रो भएको उनी बताउँछन्।
'काठमाडौंका हितिमा थोरै पानी जम्मा गरेर खसालिएको छ भने कुनैमा बगेको पानी मात्रै जम्मा छ। यहाँ करिब ४३ प्रतिशत हितिमा पानी आउँछन्,' उनले भने, 'भक्तपुरमा कुवाजस्तोबाट पानी खसालिएकाले धेरैजसो हिति अहिले खत्तम भइसके। अहिले १०-१५ प्रतिशतमा मात्रै पानी आउँछ। ललितपुरमा भने पानी जम्मा गरेकाले राम्रो अवस्थामा छन्।'
अहिले धेरैले डिप बोरिङ गरेर पानी निकाल्नुले पनि हितिमा समस्या आएको छ। डिप बोरिङ गर्दा हामी दुई–तीन सय मिटर तल पुगेर पानी निकाल्छौं। बोरिङले हितिलाई चाहिने माथिल्लो तहको पानी पुग्दैन। त्यसमाथि हितिहरूको महत्व मान्छेलाई हुन छाडेको उनी बताउँछन्।
सरकारले घरघरमा पानी व्यवस्था नगरेसम्म डिप बोरिङ गरेर जमिनमुनिको पानी निकाल्ने समस्या हट्ने अवस्था छैन। नभए एक्वीफर पत्ता लगाएर, बिग्रेको मर्मत गरे हितिहरू पुरानै अवस्थामा आउन सक्ने श्रेष्ठ बताउँछन्।
'बाहिरी रूपबाट मात्रै हिति बनाउने भए समस्या भएन। तर ढुंगेधाराको मर्म भनेकै पानी आउनु हो। त्यसैले यो भएपछि मात्रै पूर्ण रूप लिन्छ,' उनले भने, 'मेरो उद्देश्य नै भित्री रूपसहितको हिति बनाउनु हो।'
आउटलेट–इनलेटको समस्या अहिले धेरै हितिमा छन्। त्यो समस्या पनि समाधान हुन सक्ने बताउँदै उनी भन्छन्, 'एक्वीफर सुरक्षित हुनुपर्यो र त्यहाँ पानी हुनुपर्यो। पानीको च्यानल त जताबाट घुमाएर ल्याए पनि हुन्छ। तह मिलेपछि पानी आइहाल्छ। आउटलेट पनि पुरानो वा बिग्रिसकेको छ भने नयाँ बनाउनुपर्छ।'
सरकारी निकायले स्थानीयलाई साथमा लिएर काम गर्ने हो भने यो समस्या चाँडै सुल्झिने उनी बताउँछन्।
(सबिना श्रेष्ठका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्)