काठमाडौंका भूषण शिल्पकारले तीन साताअघि कोरोना भाइरसका कारण आफ्नो मामा गुमाए। मामाकै परिवारका अन्य सदस्य पनि कोरोना संक्रमित छन्, जसलाई उनी गुमाउन चाहन्नन्।
उनको मामाघर वीरगन्ज हो। ४५ वर्षीय मामालाई वीरगन्जमा लक्षण मात्र देखिएको थियो। डाक्टरले घरमै आइसोलेसन बस्न सुझाए।
उनी पाँच दिन घरैमा बसे, तर झन् झन् थला पर्दै गए। ज्वरो आयो, छाती दुख्न थाल्यो, सास फेर्न गाह्रो भयो, अक्सिजन दिनुपर्यो। झाडापखाला पनि चल्यो। त्यसमाथि उनी मुटु, मधुमेह र रक्तचापका बिरामी।
'हामीले एम्बुलेन्समा हालेर अस्पताल लग्यौं। उपचार गर्दागर्दै उहाँ बित्नुभयो,' भूषणले भने।
काठमाडौं ल्याएर स्टार हस्पिटलमा परीक्षण गराउँदा मामालाई कोभिड पोजेटिभ आएकाे थियाे। भुषण आफैं पनि पिपिई लगाएर उनको रेखदेख गर्न बसेका थिए। संक्रमितको सम्पर्कमा आएकाले उनी १४ दिन घरमै आइसोलेसन बसे र परीक्षण गराए।
मामाघरका बाँकी परिवारका सदस्य पनि छुट्टै एम्बुलेन्समा काठमाडौं आएका थिए। उनीहरूमा लक्षण देखिन थालेको थिएन। तर, दुई जनाको वीरगन्जमै पिसिआर गरिएको थियो।
आउँदा आउँदै उनकी सानीआमालाई कोभिड पोजेटिभ भएको खबर आयो। यहाँ आउनेबित्तिकै उनलाई घरभित्र छुट्टै आइसोलेसनमा राखियो।
आइसोलेसनमा बस्दाबस्दै भूषणकी सानीआमाको स्वास्थ्य बिग्रन थाल्यो। उनलाई अस्पताल लगियो। 'बिरामी लिन आएको एम्बुलेन्समा अक्सिजनसमेत थिएन,' उनी दिक्दारी पोख्छन्, 'हाम्रोमा सिस्टमै छैन भन्या!'
त्यसपछि बाँकी परिवारको पनि काठमाडौं पुग्नेबित्तिकै पिसिआर परीक्षण गराइयो। सबैको नेगेटिभ आएको थियो, तर केही दिनपछि हजुरआमाको स्वास्थ्य बिग्रिँदै गयो।
त्यति बेला अस्पताल लग्दाको सकस भूषण अझै सम्झन्छन्।
हजुरआमाको स्वास्थ्य बिग्रिएपछि उनीहरूले सुरूमा टिचिङ अस्पताल लगेका थिए। रातको १२ बजेको थियो। एक घन्टाजति उनीहरू एम्बुलेन्समै कुरेर बसे, तर बेड पाएनन्।
टिचिङमा नभएपछि उनीहरूले हतारहतार नजिकै ह्याम्स अस्पतालमा भर्ना गराए। निजी अस्पताल महँगो हुन्छ भन्ने थाहा हुँदाहुँदै उनीहरूसँग विकल्प थिएन। एक जना परिवार पहिल्यै गुमाइसकेका उनीहरू जोखिम लिन चाहन्थेनन्। त्यसमाथि यताउता गर्दागर्दै समय धेरै घर्किसकेको थियो।
अहिले हजुरआमा ह्याम्स र सानीआमा ग्रान्डीमा उपचारत छन्। ५५ वर्षीया सानीआमालाई कोरोना भएपछि सिधै फोक्सोमा असर भएर निमोनिया भयो, उनी भेन्टिलेटरमा छिन्। ७९ वर्षीया हजुरआमा भने निमोनियासँगै मुटु र ब्लड प्रेसरका बिरामी।
'डाक्टरले कति सफल उपचार भएका बिरामीहरू पनि छन् भनेका छन्। हामीले यस्तो अवस्थामा हार त मान्ने कुरै भएन,' उनले भने।
उपचार क्रममा दुई-तीन सातामा ३५ लाखभन्दा बढी खर्च भइसकेको उनी बताउँछन्। अझै अस्पतालमै रहेकाले त्यो खर्च दिनानुदिन बढ्ने पक्का छ। परिवारलाई थप आर्थिक समस्या नहोस् भनेर उनीहरूले सामाजिक सञ्जालमार्फत् चन्दा उठाइरहेका छन्।
यसरी चन्दा उठाउँदा परिवारका केही सदस्य खुसी छैनन्। तर अनिश्चित रोग र बढ्दै गएको खर्चका कारण उनी यसमा लाज भन्दा परिवारको ज्यान बचाउन महत्वपूर्ण ठान्छन्।
भूषण एक महिना लामो दौडधुपको अन्त्य पर्खिरहेका छन्। त्यो अन्त्य आफ्नो मामाको जस्तो नहोस् भनेर हरसम्भव प्रयासमा जुटेका छन्।
अहिले सानीआमाको कोरोना रिपोर्ट नेगेटिभ आइसकेको छ। तर, उनी अझै भेन्टिलेटरमा उपचाररत छिन्। हजुरआमाको पछिल्लो पिसिआर रिपोर्ट अझै पोजिटिभ छ ।
उनका अनुसार दोस्रो परीक्षणमा माइजू र बहिनीलाई पनि कोभिड पोजिटिभ देखिएको थियो। उनीहरूलाई स्वाद र बासना थाहा नहुने लक्षण मात्र थियो। अहिले घरमै आइसोलेसन बसेका माइजू र बहिनीको रिपोर्ट पनि नेगेटिभ आइसक्यो।
अस्पतालको दौडधुप त छँदै छ, समाजमा कोरोना पोजेटिभलाई गर्ने व्यवहारदेखि पनि भूषण आजित सुनिन्छन्।
'वीरगन्जदेखि आएका बिरामी राखेको छ रे। कहीँ हाम्रो घर-टोलमा पनि कोरोना फैलाउने हो कि भन्ने व्यवहार गरेका छन्,' उनले भने, 'उपचार भन्दा पनि समाजलाई बुझाउन पो गाह्रो भयो। कोरोना बिरामीलाई अपराधीजस्तो व्यवहार नगरे उनीहरूको मानसिक स्वास्थ्य पनि राम्रो हुने थियो।'
नेगेटिभ रिपोर्ट आइसकेका माइजू र बहिनी अहिले थप एक साता आइसोलेसनमा छन्। परिवारका थप सदस्यमा पनि सर्न सक्ने जोखिम लिन चाहन्नन्। एक हप्तापछि फेरि परीक्षण गरेर नेगेटिभ आएपछि बल्ल बाँकी परिवारसँग बस्ने सोचमा छन्।
'हामीले त मामा बित्दा अंगालो हालेर रुन पनि पाएका छैनौं। उहाँहरूभित्र आइसोलेसनमा रुनुभयो, हामी बाहिर,' भूषणले भने, 'सबैलाई सन्चो भएपछि बल्ल हामीले मन खोलेर एकअर्कालाई सम्हाल्न पाउँछौं।'
(सबिना श्रेष्ठका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्)