सरकारी स्वास्थ्य सेवाको तल्लो निकाय हो- स्वास्थ्य चौकी। सर्वसाधारणसँग सिधा सम्पर्कमा रहेर स्वास्थ्य सेवा दिने स्वास्थ्यचौकीले कोरोना भाइरसविरूद्धको अभियानमा पनि अन्य स्वास्थ्य अभियानमा जस्तै खटिएर काम गरेका छन्।
पोखरा महानगरपालिका- २५ हेम्जाको स्वास्थ्य चौकीले नियमित सेवा सँगसँगै कोरोना रोकथामका लागि पनि बलबुताले भ्याएसम्म लागि परेको छ। स्वास्थ्यचौकीका इन्चार्ज कुस्मराज सुवेदी कोरोनाभाइरस रोकथामका लागि भएको लकडाउन यता एक दिन पनि स्वास्थ्य चौकी बन्द नगरेको बताउँछन्।
चैत ११ गते लकडाउन भएपछि स्वास्थ्यचौकीले महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरेर आफ्नो कार्यक्षेत्रभित्र विदेशबाट फर्किएकाको घरदैलो कार्यक्रम गरेको थियो।
‘लकडाउनअघि विदेशबाट आउनेलाई क्वारेन्टिनमा राख्ने व्यवस्था थिएन,’ सुवेदीले भने, 'घरघरै गएर होम क्वारेन्टिनमा बस्न सुझाव दियौं।’
हेम्जा क्षेत्रमा चैतको पहिलो साता विदेशबाट आएका ३० जनाको घरमा पुगेर सुझाव दिएको उनले बताए। विदेशबाट फर्किएका नागरिकको घरमै पुगेर ज्वरो नाप्ने र निरन्तर फलो गर्ने काम पनि त्यतिबेला गरेको सुवेदीले बताए।
कोरोनाभाइरस रोकथामका लागि लकडाउन भएपछि टोलटोलमा जनचेतना फैलाउन स्वयंसेविका परिचालन गरेको उनले बताए। स्वास्थ्य चौकीले दिनुपर्ने नियमित सेवा त छँदै थियो।
लकडाउन भएपछि पोखराका प्राय: सबै अस्पतालको ओपिडी सेवा बन्द थियो। कोरोनाको सन्त्रासले विदेशबाट फर्किएका कतिपयलाई छिमेकीले देख्न पनि रुचाएका थिएनन्। प्रहरी नै लिएर जानु परेको उनले सम्झिए।
सरकारले विदेशबाट फर्किएका नागरिकलाई क्वारेन्टिनमा राख्ने कार्यविधि ल्याएपछि पोखरामा पनि क्वारेन्टिन बन्न थाले। स्वास्थ्यचौकी इन्चार्ज सुवेदीले पोखराकै सिमलचौर क्वारेन्टिन व्यवस्थापन गर्ने जिम्मा पाए। यसका अलवा अन्य स्थानको क्वारेन्टिन अनुगमन र व्यवस्थापनको पनि जिम्मेवारी लिएका थिए।
क्वारेन्टिनमै बस्ने, त्यहीँ खाने। उनले विदेशबाट फर्केर क्वारेन्टिनमा बस्नेहरूलाई बिहान, बेलुका व्यायाम गर्न लगाए। कोरोना संक्रमण भए पनि निको हुन्छ भन्ने आत्मविश्वास जगाए।
उनको कार्यक्षेत्रमा मात्रै लकडाउन यता बाहिरबाट ६५ जना बढी मानिस आएका छन्। तीमध्ये ३ जना कोरोना संक्रमित थिए। जसमा एक जना कतारबाट र २ जना मधेशबाट आएका कामदार थिए। अहिले उनीहरू निको भएर आफ्नो काममा लागिसकेका छन्।
लकडाउनपश्चात स्वास्थ्य चौकीले हेम्जाको व्यापारिक केन्द्र मिलनचोकमा ‘हेल्थ डेस्क’ राखेर जनचेतना फैलाउने र स्वास्थ्य परिक्षण गर्ने काम गरेको थियो। ४१ दिनसम्म हेल्थ डेस्क राखिएको सुवेदीले बताए।
पोखरा महानगरमा कोरोना भाइरसको संक्रमण दिनदिनै बढिरहेको छ। हेम्जामा भने तीन जना संक्रमित निको भएपछि अरू संक्रमित नदेखिएको सुवेदीले बताए।
कोरोना नियन्त्रणसँगै हेम्जा स्वास्थ्य चौकीले नियमित सेवालाई निरन्तर जारी राखेको छ।
लकडाउन भएपछि पनि चैत महिनामा हेम्जा स्वास्थ्य चौकीले नियमित सेवा सँगसँगै खोपका कार्यक्रम रोकेन। कोरोनाको सन्त्रास बढेपछि वैशाख महिनामा भने खोप लगाउने कार्यक्रम स्थगित गरेर जेठदेखि सुचारू गरेको स्वास्थ्यचौकीकी नर्सिङ अधिकृत अन्नपूर्ण घिमिरेले बताइन्।
उनका अनुसार अहिले हेम्जा स्वास्थ्य चौकीमा नियमित खोप लगाउने बालबालिका २ सय जना छन्। स्वास्थ्यचौकी मातहत ३ वटा खोप केन्द्रबाट महिला स्वास्थ्य स्वयंसेविकाको समन्वयमा खोप लगाउने काम भइरहेको उनले बताइन्।
नेपालमा साउनदेखि सुरू भएको नयाँ ‘रोटा भाइरस’ खोप लगाउने कार्यक्रम स्वास्थ्यचौकीले सकेको छ। जन्मिएको ६ हप्ता र १० हप्ताका बालबालिकालाई खुवाउनु पर्ने यो खोपले झाडापखाला लाग्न नदिने विश्वास स्वास्थ्यकर्मीहरूले लिएका छन्।
खाना खानुभन्दा अघिका बालबालिकालाई खोप लगाउन निकै कठिन हुने भएकाले धेरै समय लाग्ने र शिशुको स्वास्थ्यप्रति अधिक सतर्कता अपनाउनु पर्ने घिमिरेले बताइन्। यही भदौ ६ गते मात्रै ६० जना शिशुलाई रोटा भाइरसको खोप लगाएको उनले जानकारी दिइन्।
स्वास्थ्यचौकीले गर्भवती महिलाको नियमित स्वास्थ्य परिक्षण र स्वास्थ्यचौकीबाट हुने उपचार र सल्लाह सुझाव दिँदै आएको छ।
पछिल्लो समय स्वास्थ्यचौकीमा उपचार गर्न आउने सेवाग्राहीको संख्या ह्वात्तै घटेको छ। सामान्य दुर्घटना, मौसमी रोग, ग्याष्ट्रिक, टाउको दुख्नेजस्ता समस्या लिएर बिरामी स्वास्थ्यचौकी आउने गरेका छन्। अहिले दैनिक १० जनासम्म बिरामी आएको रेकर्ड छ। लकडाउन अघि दैनिक एक सय जनासम्म बिरामी स्वास्थ्यचौकी आउँथे।
लकडाउन भएपछि दुर्घटनाजन्य बिरामीको संख्या घटेको सुवेदीले बताए। यस्तै, लकडाउन र कोरोना महामारीको त्रासले कतिपय बिरामी स्वास्थ्य संस्था आउन डराएको पनि हुन सक्ने उनको भनाइ छ।
लकडाउन यता ग्याष्ट्रिक र टाउको दुख्यो भनेर आउने बिरामीको संख्या बढेको छ। स्वास्थ्य चौकीका इन्चार्ज सुवेदीले लकडाउनको निराशाले यस्तो समस्या बढेको हुन सक्ने बताए।
स्वास्थ्य चौकीले दिने नियमित सेवा स्वास्थ्य स्वयंसेविकामार्फत पनि दिइरहेको छ। हेम्जाकी स्वयंसेविका शर्मिला सापकोटाले गर्भवती महिलालाई खुवाउनु पर्ने आइरन चक्की आफैंले स्वास्थ्यचौकीबाट लगेर घरमै पुर्याइ दिएको बताइन्।
‘लकडाउनमा गर्भवती स्वास्थ्यचौकी पुग्न नसक्लान् भनेर आफैंले लगिदिएको हुँ,’ उनले भनिन्, ‘अरू बेला पनि धेरैजसोलाई मैले नै आइरन चक्की बाँड्छु।’
कोरोना महामारी फैलिन नदिन साबुन पानीले हात धुन, मास्कको अनिवार्य प्रयोग गर्न, भीडभाड नगर्न र नजान टोलबासीलाई भन्दै हिँडेको उनले बताइन्।
नियमित सेवाका साथै कोरोना रोकथामका लागि सक्दो प्रयास गरेको स्वास्थ्यचौकीका इन्चार्ज सुवेदीले बताए। क्वारेन्टिन व्यवस्थापन, जनचेतना फैलाउने, संक्रमितको कन्ट्याक टेसिङमा पनि स्वास्थ्यचौकीका स्वास्थ्यकर्मी खटिएको उनले बताए।
हेम्जा स्वास्थ्य चौकीमा ८ जना स्वास्थ्यकर्मीको दरबन्दी छ। स्वास्थ्य चौकीमा आउने बिरामी प्रायजसो निम्न वर्गका हुन्छ्न्। बिरामीको सेवा गर्दा उच्च सतर्कता अपनाएको उनले बताए। स्वास्थ्यचौकीबाट अहिले नि:शुल्क ३६ थरी औषधी, प्राथमिक उपचार सेवा र स्वास्थ्य सल्लाह पाइन्छ।