सोमबार बिहान उठ्नेबित्तिकै अर्को अप्रिय समाचार थपियो– वीरगन्ज महानगर प्रमुखका पिताको मृत्यु।
वीरगन्जलाई बाहिरबाट चिन्नेहरूका निम्ति यो समाचारको शीर्षक स्वाभाविकै होला। तर, वीरगन्जका रैथानेहरूका निम्ति होइन।
उनीहरूका लागि त केही वर्षयता मात्र सार्वजनिक रूपले चिनिएका महानगर प्रमुख विजय सरावगीको उल्लेखभन्दा सम्पूर्ण जीवन वीरगन्जको सामाजिक क्षेत्रमा बिताएका ७८ वर्षीय चिरन्जीवी सरावगीको निधनले गम्भीर चासो र चिन्ता राख्थ्यो।
कुनै समय यस्तो पनि थियो, वीरगन्जमा जुनसुकै प्रयोजनका लागि जेसुकै संस्था खोलियो भने पनि सकभर चिरन्जीवीलाल सरावगीलाई सचिवमा राख्न खोजिन्थ्यो। उनी त्यति सक्रिय थिए।
वीरगन्ज उद्योग वाणिज्य संघको भव्य भवन उनी अध्यक्ष भएकै बेला निर्माण गराएका थिए। सहरका अन्य धेरै भौतिक संरचना निर्माणदेखि धर्मशालाहरूको सञ्चालनमा उनको योगदान छ।
उनी उद्योग वाणिज्य संघदेखि लायन्स, रोटरी, जेसिज, रेडक्रसजस्ता संस्थाहरूमा अभिन्न रूपले गाँसिएका थिए। मठ-मन्दिर निर्माणदेखि शंकराचार्यको स्वागत हुँदै निकैअघि प्रथम विश्व हिन्दू सम्मेलन वीरगन्जमा आयोजना गराउने मामलामा पनि उनको सक्रियता थियो। बाढी, आगलागीजस्ता ठूला घटना भएका छन् भने सहयोग संकलनमा उनकै अग्रता देखिन्थ्यो।
उनी स्पष्ट नेपाली बोल्थे। त्यसभन्दा पनि अझ बढी स्थानीयतामा रमाएका उनको भोजपुरी भाषामा उत्तिकै पकड थियो, जुन अधिकांश मारवाडीहरूमा देखिँदैन।
सहरको सामाजिक क्षेत्रमा लागेका सबैजसो चिनिएका मानिसहरूसँग उनको हिमचिम रहन्थ्यो। म र मजस्ता धेरै वीरगन्जीया चिरन्जीवी सरावगीलाई पारिवारिक हिसाबले नै चिन्थ्यौं। मारवाडी भइकन पनि रुपैयाँ पैसाभन्दा सामाजिक काममा बढी चासो राख्ने सरावगीलाई सार्वजनिक थलोहरूमा देख्दा नेताकै झल्को मिल्थ्यो।
पञ्चायतताकै एकपटक प्रधानपञ्चमा खडा भएका उनको लालटिन छापका मक्किँदै गरेका पोष्टरहरू हामी स्कुल-कलेज पढ्ने बेलासम्म बाटातिर कुनाकाप्चामा टाँसिएकै देख्थ्यौं। त्यति बेला तेस्रो बढी मत ल्याएर पराजित सरावगीको नगरप्रमुख सपनालाई उनका छोराले यतिबेला पूरा गरिरहेका छन्।
वर्तमान मेयर विजय सरावगी वीरगन्जमा कोरोनाको प्रभाव फैलिन सुरू भएदेखि नै सक्रियतासाथ मैदानमा खटेका थिए। उनलाई गत साउन २० गते एउटा बैठक निम्ति काठमाडौं आएका बेला कोरोना संक्रमण पुष्टि भएको थियो।
सरावगीका अनुसार अघिल्लो दिन मात्र वीरगन्जमा 'एक घर एक परिक्षण' उद्घाटन गर्दा उनी संक्रमित भएका थिए। त्यसपछि 'कन्ट्याक्ट ट्रेसिङ' सुरू भयो। नभन्दै दुई दिनमै मेयर सरावगीका बुवा, आमा, श्रीमती, छोरा, छोरी लगायत परिवारका आठ जनामा संक्रमण फेला परेको थियो।
परिवारका बाँकी सबै कोरोनामुक्त भइसके पनि उनका छोरा अहिले पनि 'पोजिटिभ' अवस्थामै संघर्ष गर्दैछन्।
मानिसलाई कहिलेकाहीँ एकैपटक चौतर्फी संकट आइलाग्छ। मेयर सरावगीले पिता गुमाएकै दिन उता नेपालगन्जबाट उनका ससुराको पनि निधनको खबर सुन्नुपरेको थियो।
चिरन्जीवी सरावगीमा कोरोना संक्रमण भदौ २ गते नै निको भइसके पनि लामो समयदेखि मुटु र मिर्गौलाको समस्याले काठमाडौंस्थित अस्पतालको सघन कक्षमै उनको निधन भएको हो। उनको सोमबारै आर्यघाटमा अन्त्येष्टी गरियो।
त्यसो त कोरोना संक्रमणले हालसम्म नेपालमा अढाइ सयभन्दा कमको निधन देखाउँछ। तर, वीरगन्जवासीका निम्ति कोरोनासँग जोडिएका समाचारहरूले संख्याभन्दा कयौं गुणा बढी मानवीय संवेदना हल्लाइरहेको छ।
सरावगी परिवारको भन्दा अझ कहालीलाग्दो अवस्था वीरगन्जकै अर्को प्रसिद्ध 'हिमाञ्चल केबिन' परिवारको छ।
वीरगन्जमा झन्डै ७० वर्षअघि पहिलोपटक काठमाडौंका मिठाइहरूको स्वाद भित्र्याउने राजकर्णिकार परिवारले चलाएको सहरकै सुप्रसिद्ध 'हिमाञ्चल केबिन' यतिबेला अपूर्व संकट सामना गरिरहेको छ।
परिवारको जेठो सन्तान दिवंगत ओमकृष्ण राजकर्णिकारको भागमा परेको हिमाञ्चल केबिनलाई पछिल्लो समय उनकी छोरी ममता र कान्छो छोरा विजयले निरन्तरता दिँदै आएका थिए। यतिबेला विजयले कोरोनाकै कारण ४५ वर्षको उमेरमा ज्यान गुमाइसकेका छन्। विजयकी दिदी ममता र आमा केदारनानी झन्डै महिना दिनदेखि कोरोनाकै कारण आइसियुमा संघर्ष गरिरहेका छन्। विजयकी श्रीमती र दुई छोरी भने पछिल्लो समय कोरोनामुक्त भएको समाचार छ।
अहिले वीरगन्जवासीहरूबीच हुने चर्चा-परिचर्चामा सबभन्दा बढी भाग 'हिमाञ्चल केबिन परिवार' प्रति चासो र चिन्तामै केन्द्रित हुने गरेको छ। यस्तै अवस्थाबीच आइसियुमा उपचार गराइरहेका आमा र छोरीमा झन्डै ४५ लाख रुपैयाँ खर्च भइसकेपछि अब थप खर्च जुटाउन हिमाञ्चल केबिनका भान्जाभान्जीहरूले सार्वजनिक रूपमै सहयोग आह्वान गरेका छन्।
वीरगन्जमा आर्थिक हिसाबले राम्रै मानिने त्यो परिवारलाई समेत यसरी संकट पार्न सक्ने यो महामारीले जुनसुकै हैसियतका मानिसलाई पनि अब चैनले बाँच्न दिने छैन भन्ने पुष्टि यो घटनाले गरिरहेको छ।
म यी हरफहरू लेखिरहँदा दिवंगत मित्र विजय राजकर्णिकारलाई सम्झिरहेको छु। म र मेरा भाइका अभिन्न साथी विजय सम्पूर्ण वीरगन्जवासीबीच उत्तिकै प्रिय नाम थियो। वीरगन्ज पुगेका बेला मुख्य सडक भएर गुज्रिरहँदा हामी सबैजसो वीरगन्जीयाको नजरले एकपटक हिमाञ्चल केबिन नियाल्थ्यो।
त्यस भव्य अनि पुरानो मिठाइ एवं खाजा पसलले हामी सबैको अतितलाई आफूसँग जोडेको छ। त्यो ताका वीरगन्जमा यति फराकिलो अनि उज्यालो पसल, जसका सिसै सिसाका घर्राभित्र लोभलाग्दा मिठाइहरू देखिने अर्को कुनै मिष्ठान्न भण्डार थिएन। त्यसैले हिमाञ्चल केबिनमा जानु भनेको एउटा पारिवारिक उत्सव मानिन्थ्यो।
त्यही पुराना सम्झना झक्झक्याउँदै पसलमा एक नजर लगाइसकेपछि हाम्रा आँखाले समवयी विजयलाई खोज्थे।
'बस न,' हालखबर सोधिसकेपछि प्रिय मुस्कानका साथ विजय भन्थ्यो, 'एक कप कफी भए पनि पिएर जाऊ।'
अब फेरि त्यो वीरगन्ज पुगेका बेला हिमाञ्चल केबिनतिर हेर्न पनि मुश्किल हुने पारिदिएको छ, बैरी कोरोनाले।
विजयको अन्त्येष्टीसमेत सैनिकले अज्ञात स्थानमा लगेर गरिदिएको सम्झँदा त्यो परिवारको कहालीलाग्दो अवस्थाले मुटु कोक्याउँछ। त्योभन्दा नमिठो लागिरहेको छ ममता दिदी र आन्टीको स्थितिले।
वीरगन्जका साथीभाइसँग टेलिफोनमा कुराकानी हुँदा यो घटनाले अब हिमाञ्चल केबिनको निरन्तरतालाई पो प्रभाव पार्ला कि भन्ने चिन्तासमेत प्रकट हुन थालेको छ। फगत 'पसल' मात्र नभएर हिमाञ्चल केबिन वीरगन्जसँग जोडिएको एउटा 'आइकन' थियो। यो एक हिसाबले सहरको पहिचानसँगै जोडिएको नाम बनिसकेको थियो।
त्यसमाथि विजय!!!
विजयका पिता ओमकृष्ण मिलनसार व्यापारी थिए। तर, सामाजिकतामा विजयले काका ओमहरिका गुण पनि पछ्याएका थिए। त्यसैले त दिवंगत ओमहरि राजकर्णिकारपछि उनी नै त्यो परिवारबाट वीरगन्ज जेसिजका अध्यक्ष बने। वीरगन्जमा कसैले पनि गतिलो काम गरिरहेको छ भने त्यसमा सघाउन विजय जहिले पनि उत्प्रेरित हुन्थे।
विजयको मृत्युपछि त्यहीँ पढेका ज्ञानज्योति स्कुलका एक विद्यार्थीले गरेको चर्चा यतिबेला उल्लेखनीय छ। स्कुलका तमाम पुराना विद्यार्थीको वीरगन्जमा भेला 'रियुनियन' गर्ने योजना उनीहरूले बुनेका रहेछन्। त्यतिबेलै विजयले 'त्यस्तो भेला आयोजना भएछ भने खानपिनको जति खर्च लाग्छ त्यसको सम्पूर्ण जिम्मेवारी म बेहोरिदिन्छु' भनेका रहेछन्।
यस्ता मनकारी थिए विजय।
अब उनले छाडेर गएका सम्झनाहरूको भारी पछिसम्मै यो सहरले बोकिरहनेछ।
थाहा नपाउने मानिसका लागि प्रायः मृत्युहरू संख्या बनेर आइरहेको हुन्छ। जस्तो, हिजो कति संख्यामा कोरोनाबाट मानिसको निधन भयो? आज कति संख्यामा निधन भयो? यो बढ्दो क्रममा छ कि घट्दो क्रममा?
यसरी मृत्यु संख्यात्मक बन्दै गइरहेका बेला वीरगन्जमा भने चिरन्जीवी सरावगी र विजय राजकर्णिकार मात्र होइन, थुप्रै थुप्रै चिने–जानेकाहरूको निधनको धमाधम खबर आइरहेकै छन्। हरेक दिन दोहोरो अंकमै संक्रमितहरू थपिएकै छन्।
सहरकै प्रसिद्ध फुटबल प्रशिक्षक हरि दाइ (हरि श्रेष्ठ) का तन्नेरी छोराको लक्षण देखिएपछि उपचार गराउँदा गराउँदै मृत्यु भयो। उनमा कोरोना पुष्टि भइसकेको थिएन। नगरपालिकाका हाकिम सुमन दाइ (सुमन श्रेष्ठ) का पिताको पनि कोरोनाले ज्यान लियो। वीरगन्जका सांसद प्रदीप यादवका तन्नेरी भाइको पनि यसै साता कोरोनाकै कारण निधन भएको छ। यी मृतक नामहरू चिनेजानेकाहरूका निम्ति कति भारी बनेको होला, अनुमान लगाउन सकिन्छ।
हिजोआज वीरगन्जबाट आउने प्रत्येकजसो फोनले कुनै न कुनै अशुभ समाचार दिन थालेको भोग्दै आएपछि भारी मनले फोन उठाउनुपर्ने स्थिति भइसकेको छ।
'यस्तो कहिलेसम्म चल्छ?' फोन गर्नेहरूले सायद मसँग पो कुनै जवाफ होला कि भन्ने आश गर्दै सोध्छन्, 'यो बर्बादी रोकिन्छ कि रोकिँदैन?'
संसारका ठूला वैज्ञानिकहरूसँग पनि नभएको उत्तर मैले कताबाट ल्याउने? सतर्कता अपनाउने उपायहरूबारे बढी जोड दिँदै नआत्तिनू भनेर सम्झाउनुको अर्को कुनै विकल्प छैन।
बीचमा लकडाउन खुकुलो पारिएका बेला भारतसँगको सीमालाई पूर्णतः बेवास्ता गरिएकै कारण वीरगन्जमा यो भयावह अवस्था उत्पन्न भएको स्वयं नगरप्रमुख सरावगीले बताइसकेका छन्।
त्यतिबेला व्यापक मात्रामा मानिसको खुला ओहोरदोहोर मात्र नभई, कतिपयले त भारततर्फबाट आएका मानिससँग पैसा लिएर काठमाडौंसम्मै लगिदिने 'व्यवसाय' समेत चलाए। जसको परिणाम अहिलेको भयावह अवस्था बन्न पुगेको छ।
कहिलेकाहीँ वीरगन्जको अवस्था सम्झेर उदेक लाग्छ। जुनसुकै कहरलाई पनि अग्रपंक्तिमा बसेर बेहोर्नुपर्ने दुर्भाग्य यसै सहरले बोक्नु परिरहेको छ।
मुलुककै आर्थिक राजधानी भनिने यस्तो गतिशिल सहरले पाँच वर्षअघि मात्रै झन्डै छ महिना लगातार बन्द बेहोर्नुपरेको थियो। पूरै ठप्प। त्यतिबेला मधेस आन्दोलनको चपेटामा सबभन्दा बढी यही सहर चेपिएको थियो। यद्यपि यस्ता आन्दोलनले वीरगन्जको हित कहिल्यै गरेको देखिएन। वीरगन्जले केवल दिने काम गर्यो, पाउने यसको भाग्यमै लेखिएन।
त्यही मधेस आन्दोलनका उपलब्धिले यतिबेला अन्यत्र फलिफाप भइरहेको देखिन्छ भने त्यो आन्दोलनकै बेला वीरगन्जबाट सरेर भैरहवातिर गएको महत्वपूर्ण कारोबारहरू आजसम्म यो सहरमा फर्किएको छैन। 'ड्राइपोर्ट' र 'आइसिपी' (एकीकृत चेकपोष्ट) ले भविष्यमा वीरगन्जलाई फाइदा गर्छ भनिन्छ। तर, प्रत्येकपटक यो सहर पुग्दा उपलब्धिको नयाँ दृश्य केही देखिनु त परै जाओस्, भएका पुराना गौरव पनि नासिँदै गएको हेर्नु परिरहेको छ।
यस्तै संकटबीच पछिल्लो समय कोरोना थपिएको छ।
'जे आइलाग्दा पनि सबभन्दा पीडित हाम्रै सहर बनिरहेको देख्दा कहिलेकाहीँ दिक्क लाग्छ,' वीरगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष एवं लेखक गणेश लाठ सोमबार भन्दै थिए, 'राजनीतिक, प्राकृतिक, धार्मिक, औलोको मच्छरदेखि अब आएर यो महामारीको दुर्दान्त पनि वीरगन्जले नै भोग्नुपरिरहेको छ।'
नयाँ बसोबास गर्ने वा बाहिरियाका लागि वीरगन्ज ठूलै 'महानगर' भइसके पनि हाम्रा निम्ति यो त्यही चिनारू र आफन्तहरूले भरिएको समाज हो।जस्तो, पछिल्लो समय कोरोनाका प्रत्येक समाचारहरूमा प्रवक्ता डा. अतुलेश चौरसियाको नाम उल्लेख गरिएको हुन्छ। मेरो घरसँगै जोडिएका छिमेकी अतुलेश र म केटाकेटीदेखि सँगै खेलेर हुर्किएका हौं।
अतुलेशका अनुसार वीरगन्जमा कोरोना सामुदायिक स्तरमै फैलिसकेको छ। त्यसमाथि उक्त भेगकै केन्द्र हुनुका कारण उपचारको भार यसै सहरले वहन गर्नुपरिरहेको छ। छिमेकी बारा र रौतहट मात्र होइन, यदाकदा सर्लाही जिल्लाका संक्रमितहरू पनि वीरगन्जमै उपचार खोज्दै आइरहेका छन्।
'एक त आफ्नै निम्ति सीमित साधन र स्रोत छ,' उनी भन्छन्, 'त्यसमाथि छिमेकी जिल्लाका संक्रमितहरू पनि यतै आइदिँदा वीरगन्जले थप भार बोक्नुपरिरहेको छ।'
वीरगन्जमा कोरोना निम्ति छुट्याइएका दुवै अस्पतालसँग गरेर कुल १५० वटा बेड छन्। त्यसबाहेक केही आइसोलेसन बेड पनि चलिरहेका छन्। दुवै अस्पतालसँग ५० वटा आइसियु र झन्डै २० वटा भेन्टिलेटर छन्।
आइसियु र भेन्टिलेटरभन्दा सामान्य अवस्थाका बिरामीहरूलाई राख्ने बेडकै समस्या बढी रहेको डा. अतुलेश सुनाउँछन्। उनका अनुसार उपलब्ध बेडभन्दा निकै बढी संख्यामा संक्रमितहरू भएपछि यतिबेला घर-घरमै 'होम आइसोलेसन' गराइएको छ।
र, यही प्रबन्धबीच अनेक अप्रिय समाचारहरू दिनदिनैजसो वीरगन्जबाट आइरहेकै छन्।
अनि यस्तै बेला चिरन्जीवी सरावगीसँग त्रिजुद्ध स्कुलमा एउटै कक्षामा सँगै पढेका सहपाठी अनि परिचित साहित्यकार ध्रुवचन्द्र गौतमको 'वीरगन्ज' कविताको यो अंश सम्झना हुन्छ–
तिमी आफू कति जीवित छौ
र, कति हाम्रो लागि स्वच्छ स्वास हौ
यो हेर्नु छ, यही डर छ
जस्तो एउटा बिरामी आफन्तलाई हेर्दा हुन्छ
कतै एकदिन म पुगूँ
र वीरगन्जमा वीरगन्जलाई नदेखूँ
वीरगन्ज, मेरो वीरगन्ज
के तिमी अनुमति दिन्छौ
म तिमी जीवित भएको
एउटा कविता लेखूँ?