कैलालीको घोडाघोडी नगरपालिका-७ कीर्तिपुरकी निर्मला चौधरीको परिवार ३२ जनाको थियो।
उनका बुवा संयुक्त परिवारका जेठा छोरा।परिवार चलाउने जिम्मा उनकै काँधमा थियो।
८ वर्षकी हुँदा निर्मला स्कुल जान थालिन्। उनी स्कुल जान थालेको ३ वर्षपछि बुवा बिते। बुवा बितेपछि जम्बो परिवारको जिम्मा निर्मलाका जेठा दाइका काँधमा सर्यो। निर्मलाका ६ जना भाइबहिनी थिए। अरू काका-काकी अनि तिनका छोराछोरी। यी सबैको जिम्मेवारी बहन गर्न बुवाले जस्तो निर्मलाका दाइले सकेनन्।
दुई वर्षपछि अंशवण्डा भयो। त्यतिखेर निर्मला ५ कक्षामा पढ्थिन्।
अंशवण्डापछि उनीहरू पुरानो घरको वरपर नयाँ नयाँ घर बनाएर बसे। माहौल पहिलेभन्दा फरक भयो। नयाँ घरमा पनि दाइले नै घरमूलीको काम सम्हाले। निर्मलालाई भने पढ्न समस्या हुन थाल्यो।
'खानलाई जग्गा थियो, गाह्रो थिएन। अन्नपात बेचेर वर्षमा एक-दुई जोर लुगा किन्न पनि पुग्थ्यो,' उनले सम्झिइन्, 'स्कुलको खर्च भने धान्न गाह्रो हुन्थ्यो।'
एकदिन निर्मला र साइँली दिदीलाई दाइले भने- अबदेखि स्कुल नजाऊ, घरमै बस।
दाइको कुरा काट्न नसकेको दुबै बहिनी घर बसे।
'दाइले छोरी मान्छै धेरै पढेर के गर्छौ। मैले पनि पढाउन सक्दैन भन्नुभएको थियो,' उनले सेतोपाटीसँग भनिन्, 'हामीले चुपचाप मान्यौं।'
स्कुल छोडेपछि उनीहरूले बाख्रा चराउने, घाँस काट्ने र खेतीको काम गरे। पैसा चाहिए दैनिक ज्याला पाउने गरी मजदुरी गर्न पनि जान्थे। मजदुरी गरी आएको पैसाले आफूलाई मन परेको सामान किन्थे।
अर्को वर्ष फेरि स्कुल सुरू हुन थाल्यो। सँगैका साथीहरूसँगै स्कुल जान निर्मलालाई निकै मन हुन्थ्यो। यो कुरा दाइलाई सुनाउन भने डर लाग्थ्यो।
उनको रहर यति धेरै बलियो भयो कि एकदिन डरलाई पनि पछार्यो। हिम्मत गरेर भनिन्- दाइ, म स्कुल जान्छु।
दाइले जवाफ दिएनन्। दाइको चुप्पीसँग डराएर साइँली दिदीले स्कुल जाने मन नै त्यागिदिइन्। निर्मलालाई भने कुन्नि कसरी बल मिल्यो।
एकदिन उनी स्कुलका सरलाई भेट्न गइन्। दाइले पढाउन नसक्ने तर आफूलाई पढ्न मन भएको कुरा सुनाइन्।
'मलाई पढ्न मन छ स्कुलमा मेरो नाम लेखिदिनुपर्यो सर भनेँ। म पढाइमा राम्रै थिएँ,' उनले भनिन्।
सरले पनि नाम लेखिदिए। उनले फेरि पाँच कक्षादेखि पढ्न थालिन्।
उनको अंकलको एक जना छोरा माथिल्लो कक्षामा थिए। उनैका किताब र कापी माग्दै निर्मला पढ्न थालिन्।
स्कुल जान थालेपछि दाइ भने रिसाए। निर्मलाले घरको काम गर्नुपर्छ भन्ने उनको अडान थियो।
‘पैसा दिनुभएन। स्कुलबाट आएर मजदुरी जान्थें,’ उनले भनिन्।
बिहान साढे ९ बजे स्कुल जाने उनी बेलुका ४ बजे फर्केर मजदुरी जान्थिन्।
‘स्कुलबाट फर्केर दैनिक २ घन्टा नजिकै केरा बारीमा मल हाल्ने काम गर्थें,' उनले भनिन्, ‘त्यहीँबाट आएको पैसा जम्मा गरेर १० सम्म पढें।’
मम्मीले समेत उनको पढाइबारे दाइलाई केही भन्न/सम्झाउन सकिनन्।
काम र पढाइ सबै आफैं गर्ने उनलाई चिन्ता बढी हुने भयो।
‘रूने, चिन्ता लिने गरेपछि म कहिलेकाहीँ बेहोस पनि हुन थालें,’ उनले भनिन्।
उनका दिदीहरूले चाहिँ ट्युसन पढ्न पैसा हालिदिन्थे। पाँच वर्ष जसोतसो बित्यो।
२०६६ मा उनले सेकेन्ड डिभिजनमा एसएलसी पास गरिन्। एसएलसी पास भएपछि अझै पढ्न चाहन्छु भनेर दाइलाई सुनाइन्।
उनलाई म्यानेजमेन्ट पढ्न मन थियो ।
‘कहाँ जाउँ पढ्न भनेर दाइलाई सोधें। उहाँले जता जा मलाई मतलब छैन भनेपछि म रोएँ,' उनले भनिन्।
दाइले पनि पढ्न सहयोग नगर्ने, आमा पनि दाइकै कुरा मान्ने। जति कक्षा उकालो लाग्यो त्यति नै पढाइ कडा हुन्थ्यो। यता समस्या पनि उनीसँगै ठूला हुँदै गए। उनले निकै सोचिन्। फेरि पनि उनलाई आफ्नै हिम्मतले साथ दियो।
स्कुलका सरलाई उनको पढ्ने चाहना र समस्या दुबै थाहा थियो। सरसँग केही काम भए मेरो लागि भनिदिनु भनेर उनले अनुरोध गरिन्।
उनी पढ्ने स्कुलमै पुस्तकालय हेर्ने मान्छे चाहिएको थियो। सरले त्यहीँ आवेदन देऊ भने। उनले आवेदन दिइन्। काम गर्न पनि पाइने, पढ्न पनि पाइने सम्झेरै उनी निकै खुसी भइन्। तर उनी हरिनगरको त्यो दरख माध्यमिक विद्यालयमा लाइब्ररियन हुन पाइनन्।
‘एसएलसी पास प्रमाणपत्र नआइसकेकाले मेरो छनौट भएन,’ उनले भनिन्।
अर्का सरले सामुदायिक अध्ययन केन्द्र सुखडमा साक्षारोत्तर कार्यक्रम आएको जानकारी गराए। त्यसमा गृहणीहरूलाई प्रौढ कक्षा दिनुपर्थ्यो त्यसमा उनको नाम निस्क्यो।
तीन दिनको तालिम लिइन्। अनि महिलाको समूह बनाएर पढाउन थालिन्। ६ महिना काम गरिन्। महिनाको तीन हजार तलब थियो।
उनले कक्षा ११ पढ्न थालिन्। पढाएको १८ हजार जम्मा गरेर फी बुझाउन सकिन्। त्यसै वर्ष उनी १० सम्म पढेको स्कुल प्लस टु भएकाले पढ्न सजिलो पनि भयो।
उनलाई विद्यालयले ५० प्रतिशत छुटमा भर्ना गराएको थियो।
उनले स्कुल छोडर भए पनि कतिपय दिन घरको काम गर्नुपर्थ्यो। नभए झगडा हुन्थ्यो। छोरी मान्छेले सबै सहनु पर्छ भन्ने उनकी आमालाई लाग्थ्यो। दाइले नपढ भनेपछि किन पढेको भनेर सम्झाइरहन्थिन्।
‘मैले पढ्न चाहन्छु भनेर आमासँग पनि जिद्दी गरिरहें,’ उनले भनिन्।
उनले प्लस टु पढ्दा साइँली दिदीको बिहे भयो। त्यसपछि दिदी महिला स्वयंसेविका भइन्। गाउँ टोलमा हिँड्न थालेपछि दिदीलाई धेरै कुरा थाहा हुन थाल्यो। पिएसआई भन्ने संस्थामा मान्छे चाहिएको खबर पनि साइँली दिदीले नै उनलाई दिएकी थिइन्।
निर्मला संस्थामा काम गर्न थालिन्। जन्मान्तर कायम राख्न महिलाले प्रयोग गर्ने अस्थायी साधन र तिनका फाइदा/बेफाइदाबारे बताउनु पर्ने काम थियो।
‘त्यही क्रममा यताउता गाउँमा हुने कार्यक्रममा जान, केही कुरा राख्न/ भन्न थालें, उनले सम्झिइन्।
उनले पिएसआइमा ८ महिना काम गरिन् ।
आफ्नै दाइले भनेको नमानेर स्कुल जान थालेकी उनी काम गरेको पैसाले आफू र परिवारको समेत केही खर्च चलाउन थालिन्। घरको खर्च धान्नेमात्र हैन प्लस टुमा पनि उनी पहिलो भएर पास भइन्। त्यतिन्जेल उनको जागिर छुटिसकेको थियो।
क्याम्पस पनि गाउँमा थिएन। सुखडको क्याम्पस पुग्न साइकलमा एक घन्टा लाग्थ्यो। उनीसँग साइकल थिएन । घरमा एउटा साइकल त थियो तर दाइले चलाउँथे।
नजाने बेलाबेला उनलाई दाइसँग केको आश लाग्थ्यो। ‘फेरि मैले ब्याचलर पढ्न दाइसँग मद्दत मागें,' उनले भनिन्।
मद्दत नपाइने पक्का थियो । उनको एक वर्ष पढाई छुट्यो। फेरि उनी मजदुरी गर्न थालिन्।
मजदुरी गरेर आएको पैसा जोगाएर राखिन्। किनभने उनलाई साइकल किन्नु थियो। उनका भिनाजुले एउटा पुरानो साइकल खोजिदिए। त्यसलाई २४ सय पर्यो।
अर्को वर्ष स्नातक पढ्न सुखडको क्याम्पसमा भर्ना भइन्। क्याम्पस पढ्दा अतिरिक्त क्रियाकलापमा उनले भाग लिन पाउन्नथिन्। तिनमा खर्च लाग्थ्यो।
उनले पढाइका बीच पनि हरबखत काम कहाँ पाइन्छ भनेर खोजिरहन्थिन्। एकपटक मर्सिकोरको सर्वेक्षणको एक कार्यक्रममा १५ दिन काम गरेर उनले ८ हजार पारिश्रमिक पाइन्।
त्यसपछि फाया नेपालको खाद्य तथा सुशासन परियोजनामा तत्कालीन गाविसको कार्यक्रममा स्वयंसेवकको रूपमा जोडिइन्।
‘त्यसपछि गाउँतिर अझै जाने र समूहहरूसँग कुरा गर्ने काम गर्थें,’ उनले भनिन् ।
त्यही काम गर्दागर्दै वडा नागरिक मञ्चको उप–संयोजक पनि भइन्। आफ्नो पढ्ने इच्छाका लागि काम खोज्दाखोज्दै उनी सामाजिक काममा जोडिइसकेकी थिइन्।
‘म गाविस र संघसंस्थामा नजिकिदै गएँ। गाउँका केही मुद्दामा अगुवाइ गर्न थालें,' उनले भनिन्।
उनलाई विस्तारै लाग्न थाल्यो कि छोरीमान्छे बोल्नु पर्दो रहेछ। उनको मनमा आफूले जस्तो अरूले भोग्नु नपरोस् जस्तो पनि लाग्थ्यो।
काम गर्दै जाँदा उनी ओरेक नेपालको महिला मानव अधिकार रक्षक सञ्जालमा जोडिइन्। महिलाहरूलाई नेतृत्व विकास गर्ने उनीहरू समस्यामा परे सम्बन्धित निकायसम्म पुर्याउने काम गर्न थालिन्।
‘गाउँतिरका छोरीहरू जसरी घरभित्र बसेका छन् त्यसरी म बसिनँ। म सामाजिक विषयमा बोल्न थालें,’ उनले भनिन्।
२०६९ सालमा उनी स्नातक पास भइन्।
त्यसपछि आइडी नेपालमा काम गर्न थालिन्। विभिन्न कार्यक्रममा सहभागी भइरहन्थिन्। त्यहाँ महिलाको पोषण र सशक्तिकरणका सवालमा काम गर्नुपर्थ्यो। तीन वर्ष उनी त्यसैमा रहेर काम गरिन्। त्यसको काम सकिएपछि सेवक नेपालमा गइन्।
यता उनको पढाइ स्नातकोत्तरमा उक्लिसकेको थियो।
‘कलेज गएर पढ्न भने सकिनँ। स्वअध्ययन गरेँ,' निर्मलाले भनिन्, 'दिउँसो फिल्डको काम गर्थें। साँझ घर आएर पढ्थें।’
उनले पैसा कमाउन थालेपछि दाइले घर खर्च दिनुपर्छ भन्न थाले। उनले महिनामा तीन/चार हजार जति सक्यो बचाएर घरमा दिनैपर्थ्यो।
घरको काम पनि गर्नै पर्थ्यो। फिल्डबाट आएर आफ्नो काम, पढाइ पनि गर्नैपर्थ्यो।
चौतर्फी समस्या कसरी सम्हालेँ होला त्यो बेला भन्ने उनलाई अहिले लागिरहन्छ।
२०७४ सालमा घरबाट उनलाई निकै समस्या पर्यो।
सहन नसकेर उनी घर छोडेर काठमाडौं हिँडिन्।
काठमाडौंमा पतञ्जली भन्ने संस्थाको बच्चा स्याहार्ने ठाउँमा पढाउन थालिन्। एक वर्षपछि आमाको कारणले निर्मला घर फर्किइन्।
घरमा दाइले फेरि झगडा गर्न थाले। उनको दाइसँग विवाद भइरहन्थ्यो।
‘दाइले जिद्दी गरेर पढिस् मलाई के दिइस् भन्न थाले,’ उनले सुनाइन्।
झगडा बढेपछि उनले एकदिन दाइसँग आफ्नो अंश मागिन्। महिला अधिकारबारे काम गर्ने संघसंस्थामा आवद्ध हुँदा अब छोरीले पनि पैतृक सम्पत्तिको अंश पाउने थाहा पाएकी थिइन्।
दाइको पुरूष अहम् पनि सानो थिएन। सक्ने भए अंश लिएर देखा भनेर चुनौती दिए। दिउँसो केही नबोल्ने दाइ साँझ जाँड खाएर 'तँ केटी मान्छेले के गर्न सक्छस् गर' भनेर धम्काउन थाले।
महिना दिन त त्यही विवाद चलिरह्यो। अब भने उनको मनले थाम्न सकेन। यतिखेर पनि उनको हिम्मतले उनलाई भन्यो- मैले अंश नलिएर यो घरबाट जान्न।
दाइले चुनौती दिएपछि उनी भल्मन्सा (थारू समुदायमा भलमन्सा भनेको गाउँको मुखिया हो) को घर गएर आफ्ना कुरा राखिन्। भलमन्साले मद्दत गर्न नसक्ने बताए।
‘छोरी मान्छेलाई अंश दिने हाम्रो चलन नै नभएकाले अंश दिन दाइलाई भन्न नजाने बताए,’ उनले भनिन्।
गाउँका अरू केहीलाई पनि उनले मद्दत मागिन्। उनीहरूले पनि त्यस्तै भने।
‘त्यसपछि म वडा अध्यक्ष कहाँ गएँ,’ उनले भनिन्।
निर्मलाले वडा अध्यक्षलाई सबै कुरा सम्झाइन्। छोरी मान्छेले पनि अंश पाउनु पर्नेमा उनी सहमत भए।
अर्को दिन अध्यक्ष निर्मलाको घरमा आए। एक-दुई जना अरूलाई पनि डाकेर निर्मलाले अंशका विषयमा छलफल गरिन्। दाइ भने मान्छे आएपछि भागिहाल्ने गर्न थाले।
‘दाइ मान्छे आउँदा भागिहाल्ने अनि साँझ दारू खाएर टर्चर गर्थे,’ उनले भनिन्।
२०७५ को जेठको १ गते दिदीहरू पनि आएका थिए।
‘दाइले त्यो दिन पहिले तँ केही गर्न सक्दैनस्, गाउँलेले पनि तँलाई सहयोग गर्दैनन् भने। त्यसपछि म माथि हातपात नै गर्न आए,' निर्मलाले भनिन् ।
दाइले घाँटी समातेपछि उनले दाइको नाकमा हानिदिइन्।
भोलिपल्ट बिहान दाइ अंश दिन तयार भए। पछि सबै गाउँका मान्छे भेला भएर भाइको अनुपस्थिीतिमा अंशवण्डा भयो।
‘मैले एकएकको भाग लगाउन लगाएँ,’ उनले भनिन्, 'तिर्नुपर्ने ऋण, जग्गा, अरू सामान सबको भाग लाग्यो।' उनका दिदीहरूले पनि भाग पाए ।
अंश लिएपछि उनीसँग समाजका मान्छे भने बोल्नै छोडे।
‘मसँग बोलेपछि दाइसँग झगडा हुन्छ भनेर कोही बोलेनन्,’ उनले भनिन्।
त्यसबेला उनी निकै आत्तिएकी थिइन्। सानै उमेरदेखि आफ्नै मान्छेहरूसँग दिनहुँ लड्दालड्दा उनी थाकिसकेकी थिइन्।
‘मनमा त आत्मविश्वास थियो तर शारिरिक र मानसिक रूपमा थकान भयो,’ उनले भनिन्।
त्यसबेला दुई महिना उनी घरभित्रै बसिन्।
त्यसपछि विस्तारै केही कार्यक्रममा उनी जान थालिन्। माहोल परिवर्तन हुँदै गयो।
‘पहिलेदेखि सामाजिक काम गरिरहेको हुनाले फेरि मान्छेहरू मेरो नजिक हुन थाले,’ उनले भनिन्।
त्यसपछि उनी बेस भन्ने संस्थामा काम गर्न थालिन्। त्यहाँ महिलाहरूलाई आत्मरक्षाको तालिम दिन थालिन्।
दर्जनौं संस्थामा काम गरेकी उनलाई सामाजिक सेवा गर्ने इच्छा बढ्यो। त्यसका लागि समय हुनुपर्छ भनेर संस्थाको जागिर छोडेर आफ्नै व्यवसाय गर्ने सोच उनले बनाइन्।
‘दिदीबहिनीसँग सल्लाह लिएर डेरी चलाउने सोच बनाएँ,’ उनले भनिन्।
एक वित्तीय संस्थाबाट ऋण लिएर आफुसँग भएको ७५ हजार थपिन्।
१ वर्षअघि दुई फ्रिज किनेर सुखड बजारमा उनले डेरी सञ्चालनमा ल्याइन्।
'चिनेका आफन्तले अहिले समस्या होला पछि नाफामा गएपछि भाडा दिनुहोला भन्दै सटर दिएपछि सहज भयो,' उनले भनिन्।
घरमा दाजुसँग भने बोलचालै बन्द थियो। चिनजानका अग्रहजहरूसँग सल्लाह लिन्थिन्। २० लिटर दूधबाट सुरू गरेर बिस्तारै ५०, ६०, ८० लिटर दूध बेच्न थालिन्।
काम गर्ने उनी एक्लै छिन् ।
‘बेच्नेदेखि भाँडा माझ्ने काम आफैं गर्छु,’ उनले भनिन्।
उनी बिहान उठेर सरसफाइ गर्छिन्। दूध थोरै गल्तीले पनि बिग्रिने हुँदा समयमै काम गर्नुपर्छ।
बिहान दही बढी बिक्री हुन्छ। मोही बनाउने, पनिर बनाउने काम पनि बिहानै हुन्छ।
पसलको काम गर्दै राति ११ बज्छ । भाँडा धोएर, आफैंले खाना बनाएर खान कहिलेकाहीँ त राति १२ सम्म बज्छ।
अहिले भने उनका दाइ पनि बोल्न आउँछन्।
‘अहिले दाइ पनि बोल्न आउनुहुन्छ। पैसा पनि माग्नुहुन्छ,’ उनले भनिन्।
दाइको छोरीलाई आफूसँगै राखेर उनी कम्प्युटर सिकाउँदै छन्।
‘दाइको राम्रो नहोस् जस्तो लाग्दैन तर आफ्नो भविष्य बिग्रने गरी दाइभाइको सेवामा लाग्नुपर्छ भन्ने मलाई लाग्दैन,’ उनले भनिन्।
पहिले घरमै बस्ने दाइ पनि अहिले घर बनाउने काम गर्न थालेका छन्।
जग्गाको लालपुर्जा भने उनले अलग्गै लिइसकेकी छैनन्। दुई महिना अघि छुट्टै लालजपुर्जा चाहियो भनेर दाइलाई भनेकी थिइन्। यसपालि भने दाइले उनलाई मद्दत गरे। अलग लालपुर्जा दिन समस्या भएकाले सिंगो लालपुर्जाले काम चलाउ भनेर दिएका छन्।
यसै महिना आमाको नामको लालपुर्जा धितो राखेर उनले बैंकबाट ५ लाख ऋण लिएकी छन्।
जारी निषेधाज्ञाले भने उनलाई समस्या भएको छ।
‘आफूले किनेको दूध नै खपत हुँदैन। किसानको दूध पनि रोककी छु। उनीहरूलाई पनि समस्या छ,’ उनले भनिन्।
फर्केर हेर्दा निर्मलाको यात्रा नागबेली देखिन्छ। अब उनको उद्देश्य आफूजस्तै समस्यामा गुज्रेको एक जनालाई भए पनि भविष्य बनाउन मद्दत गर्ने छ।