मंगलबार वीर अस्पतालका नर्ससहित १३ जना कर्मचारीलाई कोरोना भाइरसको पुष्टि भयो। त्योसँगै अस्पतालमा संक्रमित संख्या ७१ पुग्यो।
ठूलो संख्यामा संक्रमित देखिएपछि अस्पतालले दुई दिनका लागि ओपिडी सेवा बन्द गरेको छ। बुधबार थप दुई कर्मचारीमा कोरोना संक्रमण देखिएपछि संख्या १५ पुगेको अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले जानकारी दिए।
उपत्यकाका अन्य अस्पतालको तुलनामा वीरमा नर्स र कर्मचारीमा संक्रमण धेरै छ। यस्तो हुनुमा केही कर्मचारीले अस्पतालकै लापरबाही भएको बताएका छन्।
एक नर्सले त सामाजिक सञ्जालमार्फतै अस्पताललाई गुनासो पोखेकी थिइन्। हामीले उनलाई पछ्याएका थियौं। नाम उल्लेख नगर्ने सर्तमा उनी हामीसँग कुरा गर्न तयार भइन्।
उनका अनुसार अस्पतालले आवश्यक पन्जा, फेस सिल्डहरू पर्याप्त मात्रामा दिइरहेको छैन। एउटाले पहिल्यै प्रयोग गरिसकेकालाई नै धोएर वा निर्मलीकरण गरेर प्रयोग गरिरहेका छन्। त्यसैले संक्रमणको डरैडरमा उनीहरूले काम गरिरहेका छन्।
'कोभिड वार्डमा काम गर्नु भनेको त आगोमा हात हाल्नु बराबर भएको छ,' उनले भनिन्, 'सबैलाई कोरोना नभएसम्म हाम्रो अस्पतालको व्यवस्थापन यस्तै हुने हो कि? मैले त केही बुझ्नै सकेको छैन।'
उनका अनुसार सुरूमा अस्पतालले कार्डियाक आइसोलेसन वार्डलाई कोभिड वार्ड बनायो। बिरामी संख्या बढ्दै गएपछि ग्यास्ट्रो, जाइका भवन लगायत पनि कोभिड वार्ड बनाइयो। बिहीबार त सरकारले वीरलाई कोभिड अस्पतालै बनाउने भन्यो।
तर यहाँका केही कर्मचारी भने अस्पतालको लापरबाहीकै कारण संक्रमित संख्या एकदमै बढेको बताउँछन्।
ती नर्सले भनिन्, 'कार्डियाक वार्डमा जम्मा १५ बेड थिए। पछि २० वटा बनाउने भन्यो। हामीले बिरामी बीच खाली भाग हुँदैन भनेर मानेनौं। तर माथिबाट कोरोना पोजेटिभ-पोजेटिभ राख्दा केही हुँदैन पो भने। हामीले १५ बाट २० बनाउन नदिए पनि एउटा जबरजस्ती राखिदियो।'
अस्पतालमा एक समूहले १४ दिन लगातार काम गर्छन्। त्यसपछि उनीहरूको पिसिआर जाँच हुन्छ। कहिलेकाहीँ समूहको एकलाई पोजेटिभ देखिँदा अन्यलाई पनि शंकामा क्वारेन्टाइनमा राख्नुपर्ने हो। तर कर्मचारी अभाव भन्दै पोजेटिभ रिपोर्ट नआइजेल उनीहरूलाई पनि काममा खटाइरहेको उनले बताइन्।
कहिलेकाहीँ चाहिएको बेला डाक्टर नभेटिनु र फोनबार्ट औषधि भन्नुले पनि समस्या आइरहेको उनी बताउँछिन्।
कोरोना पोजेटिभ देखिएकी अर्की नर्स अहिले चौथो दिन 'होम आइसोलेसन' मा छिन्। उनी कोरोना वार्डकी होइनन्, सर्जिकल वार्ड कि हुन्। उनलाई कोरोना पोजेटिभ देखिएको दिन अस्पताल प्रशासनबाट फोन आएको रहेछ। उनी आफूलाई पोजेटिभ देखिएकाले त्रासमा थिइन्।
त्यस समयमा अस्पतालले सम्झाउनुपर्ने ठाउँमा उल्टै गाली गर्यो रे, 'तपाईंको हेलचेक्र्याइँले हो। ख्याल राख्नुपर्दैन?' उनी अवाक भइन्।
उनी पनि अस्पतालको व्यवस्थापन एकदमै फितलो भएको बताउँछिन्। १७ जना स्टाफ भएको सर्जिकल वार्डमा जम्मा दुई पिपिई दिइएको बताउँदै भनिन्, '४ वटा डिस्पोजेबल मास्कले एक हप्ता चलाउनुपर्छ। ग्लोब्स हुन्न। कति समय खाली हातै काम गर्नुपर्छ। हामीले जति पटक भन्दा पनि प्रशासनले सुन्दै नसुन्ने भयो। हामीले बिरामीलाई हेर्दिनँ भन्न पनि मिलेन।'
कोरोनाका कारण उनको घाँटी दुखेको छ र पखालाले सताएको छ। चिनेजानेका डाक्टरको सल्लाहमा उनले औषधि खाइरहेकी छन्। अस्पतालले यस्तो अवस्थामा पनि कहाँ, कसरी बसेको छ भनेर नसोधेको र स्वास्थ्य अवस्था पनि बुझ्न नचाहेकामा उनी गुनासो गर्छिन्।
'मेरो त आफ्नै घर भएकाले आइसोलेनमा बस्न सजिलै भयो। एउटा दिदी त बेड नभएर कीर्तिपुर अस्पताल गएर बस्नुभएको छ। हाम्रो बारेमा अस्पताल जिम्मेवार हुनुपर्छ कि पर्दैन?' उनी प्रश्न गर्छिन्।
अस्पताल निर्देशक डा. सेन्चुरी भने लापरबाहीभन्दा अस्पतालमा कोभिड र कोभिड बाहेकका बिरामी एकै ठाउँ रहनुले यस्तो अवस्था आएको बताउँछन्।
'अहिले यस्तो अवस्था छ कि कसलाई कोरोना छ भन्ने थाहा हुँदैन। त्यसमाथि बिरामीको उपचारमा खटिरहँदा उनीहरूलाई रोग फैलिएको हो,' उनले भने, 'बाहिर देशमा त डाक्टर–नर्समा कोरोना देखिएको छ भने हाम्रोमा देखिनुलाई कसरी लापरबाही भन्नु?'
अस्पतालका स्टाफबाटै गुनासो आएको कुरामा उनले भने, 'त्यो उहाँहरूले नबुझ्नु भएको हो। हामीले प्रयोग गर्ने सबै डिस्पोजेबल सामग्री हुँदैन। त्यसमा पुनः प्रयोग गर्न मिल्ने पनि हुन्छ। त्यसैलाई स्यानिटाइज गरेर प्रयोग गर्ने हो।'
मापदण्डअनुसार नै जोखिमपूर्ण वार्डमा छुट्टै र सामान्यमा बेग्लै सामग्री वितरण गरिएको उनले दावी गरे।
'कुनै ठाउँमा पिपिई नै चाहिन्न, मास्क र स्यानिटाइजर मात्रै भए पुग्छ। एउटा पिपिईकै ४-५ हजार पर्छ। सबैलाई दिएर सम्भव पनि छैन।'
जोखिम भने कोरोना वार्डमा मात्रै नभई अन्य वार्डमा पनि छ। र अस्पतालबारे गुनासो अन्य वार्डका मात्रैले नभई कोरोना वार्डले पनि गरिरहेका छन्।
डा. सेन्चुरी भने आफ्नो कुरामा अडिग छन्, 'हामीले लापरबाही गरेको होइन। अस्पतालमा कोरोना भएका र नभएका दुवै बिरामी भएकाले यस्तो भएको हो।'
हाल अस्पतालमा कोभिडका लागि भनेर करिब ६५ बेड छन्। थप्ने प्रयास भइरहेको सेन्चुरी बताउँछन्।