गण्डकी प्रदेश सभाअन्तर्गत विधायन समितिका सभापति मोहन रेग्मीलाई कोरोना संक्रमण देखिएको छ। कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिङका क्रममा उनको स्वाब परीक्षण गर्दा बिहीबार रिपोर्ट पोजेटिभ आएको हो। रेग्मी अहिले पोखरामा होम आइसोलेसनमा बसेका छन्।
स्याङ्जाबाट निर्वाचित नेकपा सांसद रेग्मीले १३ दिनअघि बुटबलबाट आएका साथीलाई भेटेका थिए। प्रदेश प्रहरी कार्यालय पोखरामा एसएसपीसहित भएको उक्त भेटमा बुटबलका ती व्यक्तिलाई कोरोना संक्रमण देखिएपछि ४ दिनअघि रेग्मीले स्वाब परीक्षण गर्न दिएका थिए।
कोरोना संक्रमण देखिए पनि आफूलाई कुनै लक्षण नरहेको रेग्मीले बताए।
‘मलाई केही भएकै छैन, रिपोर्ट पोजेटिभ आएछ’, उनले भने ‘पोखरामै आइसोलेसनमा बस्दैछु।’
कोरोना संक्रमण देखिएका रेग्मी बुधबार मुख्यमन्त्री कार्यालयमा गएका थिए। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङसँग भेट नभएपछि उनले सामाजिक विकास मन्त्री नरदेवी पुनसँग भेटेका थिए। रेग्मीसँग भेट भएका सबैको कन्ट्याक्ट ट्रेसिङ थालिएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले बताए।
बिहीबार मात्र गण्डकी प्रदेशमा ३८ जना कोरोना संक्रमित थपिएका छन्। जसमा पोखरामा मात्रै ३० जना, तनहुँमा २ जना र नवलपुरमा ६ जना संक्रमित छन्।