कोरोना संक्रमणबाट पोखरामा बिहीबार साँझ एक जनाको मृत्यु भएको छ।
पोखरा ६ लेकसाइडमा फ्रेस हाउस चलाउने ३७ वर्षीय पुरुषको मृत्यु भएको पोखरा महानगरका स्वास्थ्य अधिकृत हरिलाल अचार्यले बताए।
कोरोना संक्रमणको आशंकामा ती युवा आफै स्वाब दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रयोगशाला पुगेका थिए।
उनको स्वाब परीक्षण गर्दा भदौ १५ गते रिपोर्ट पोजेटिभ आएपछि लेखनाथस्थित सरुवा तथा संक्रामक रोग अस्पतालको आइसोलेसनमा लगिएको थियो।
श्वास–प्रश्वासमा समस्या देखिएपछि उनलाई बिहीबार बिहानै पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड–१९ उपचार केन्द्रको आइसियूमा ल्याएर राखिएको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले बताए।
कोरोना संक्रमण बाहेक उनमा अरु कुनै गम्भीर रोगको समस्या नदेखिएको उनले बताए।
यो सहित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ जना छ। गण्डकी प्रदेशमा भने १८ जनाले ज्यान गुमाइसकेको प्रदेश स्वास्थ्य निर्देशक डा. बिनोदबिन्दु शर्माले बताए।
गण्डकी प्रदेशमा हालसम्म २ हजार ३ सय १२ जना संक्रमित रहेकोमा १ हजार ७ सय ६६ जना निको भएर घर फर्किसकेका छन्।
अझै गण्डकीमा ५ सय ३० जना कोरोना संक्रमित छन्। गण्डकीका विभिन्न जिल्लामा रहेका क्वारेन्टिनमा अझै ५ सय ९४ जना रहेको निर्देशक शर्माले बताए।