ढोरपाटन- ९ सुकुरदुङका केशवलाल पुन बुधबार राति रेडियो सुन्दै थिए।
रातको नौ बज्दै थियो, अचानक बत्ती गयो।
३६ किलोवाट क्षमताको स्थानीय भुजीखोला चौंथो लघु जलविद्युत आयोजनाबाट निकालिएको बिजुलीबाट गाउँ उज्यालो थियो।
बत्ती गएपछि केशवलालले एउटा अनौठो आवाज सुने। आवाज झन् झन् ठुलो हुँदै गयो। पानी परिरहेको थियो, गाउँभन्दा माथि लेकमा ठूलो पानी परेको रहेछ। लेकमा पहिरो गएछ।
खोलामा पहिरो आएको थाहा पाएर लघु जलविद्युत आयोजनाका अपरेटर बिजुली बन्द गरेर भागेका रहेछन्।
बाहिर निस्केर सुन्दा झनै ठूलो आवाज आयो, केही बगेजस्तो। घरदेखि झन्डै ३ सय मिटर तल बहेको भुजीखोलाको गडगडाहट चर्कैदै गयो। गाउँमा पहिरो आएको राति नै उनले थाहा पाए। गाउँमा रहेका युवाहरू बाहिर निस्के। पहिरोबाट जोगिन घरबाहिर निस्कन उनले छिमेकीलाई आग्रह गरे।
पहिरो आउँदाआउँदै कोही भागेर ज्यान जोगाए। कोही घरको समेत नाम निसानै नरहने गरी खोलामा पहिरोसँगै बगे। सुकुरदुङको दुवाल, घट्टेचौर, सुप्राङ, भुसुण्डे, घट्टबोट, दुनेपँधेरा, लाकुरीबोट, होकटमा पहिरोले धेरै क्षति पुर्याएको स्थानीय पदम पुनले बताए। पहाडको फेदमा रहेको यो गाउँ आफैं उच्च स्थानमा छ। हिउँदमा हिँउ पर्ने गर्छ।
सुकुरदुङका मानिसले बर्खामा पशु चौपाया लैजाने लेक थियो, मुलछरी। पछिल्लो समय लेकमा चौपाय लैजाने चलन हराउँदै गयो। भुजीखोलाको मुहान पनि त्यही लेकमा पर्छ। गाउँबाट नदेखिने त्यो मुलछरीबाटै राती पहिरो झरेको रहेछ। झन्डै डेढ घन्टासम्म पहिरोले तहसनहस पारेपछि बल्ल खोलाको आवाज घट्दै गएको केशवलालले बताए।
‘मुलछरी हाम्रो लेक हो, वन पनि हाम्रै हो,’ केशललालले भने, ‘त्यहींबाट पहिरो आएर गाउँ नै सखाप पारिदियो।’
अहिले गाउँ नै पुरै बगर बनेको छ। यता हेरे पनि ढुङ्गा, उता पनि ढुङ्गा। ढुङ्गा माटोले कतिपय पुरेको छ भने धेरै बगााएको छ। कतिको अहिलेसम्म लास पनि भेटिएको छैन।
यसरी शव नभेटिएका मध्ये स्थानीय करिब ५२ वर्षीया कौशिला पुनको परिवार पनि एउटा हो। कौशिला र २३ वर्षीय छोरा हिक्मत घरमै थिए। राती पहिरो आयो, कौशिलाको आमा छोरासहित घर बगाइदियो। अहिले घरको नाम निशाना केही बाँकी नरहेको केशवलालले बताए।
‘यही ठाउँमा घर हो भन्ने पनि कुनै चिनो छोडेन,' उनले भने, ‘बगरबाहेक केही देखिँदैन।’
केशवलालका अनुसार, हिक्मतकी श्रीमतीलाई यसअघि त्यही भुजीखोलामा बगाएको थियो।
दुई वर्षअघि विदेशबाट फर्किएपछि हिक्मतले विवाह गरेका थिए। विवाह गरेको ६-७ महिनामात्र भएको थियो। खोला तर्न स्थानीयले काठको पुल हालेका थिए। असोजको महिनामा मकै टिपेर फर्कँदा उनी पुलबाट चिप्लिइन्। त्यही खोलामा बगेर ज्यान गुमाइन्।
गएरातिको पहिरोले स्थानीय देवेन्द्रकुमार घर्ती मगरको पनि घरको नाम निशाना देखिँदैन। तर उनका परिवार भने जोगिएका छन्। पहिरो आउँदै गर्दा रातारात भागेर उनीहरूले ज्यान जोगाए।
पहिरोले स्थानीयको घरबार मात्र हैन, विद्यालय, पुल, लघुजलविद्युत आयोजनाहरूको पावर हाउस पनि बगाएको केशवलालले बताए।
लेकको ठाउँ, आलु, जौ र मकैमात्र त्यहाँ खेती हुन्थ्यो। खोला वारिपारि स्थानीयले रोपेको मकै पनि सखाप पारिदिएको छ।
बिहान हेर्दा हरियाली गाउँ सबै उजाड देखिएको केशलालले बताए। बिहानैदेखि पानी पर्न बन्द भएको छ। पहिरो झर्न पनि रोकिएको छ। खोला स्वाठ्ठै घटेको छ। यसअघि भन्दा ३-४ मिटर गहिरिएर खोला बगेको केशवलालले बताए।
बिहान साढे ९ बजेतिर मात्र नेपाल प्रहरी र नेपाली सेनाको टोली घटनास्थलमा पुगेका थिए। उनीहरूले हराइरहेकाको खोजतलास जारी राखेका छन्।
यसअघि नियमित बस चल्ने गाउँमा लकडाउन यता कहिलेकाहीँ जीप मात्र जान्थ्यो। अब त पहिरोले बाटो पनि बगाएको छ। करिब ६ घन्टा पैदल हिँड्नुपर्ने अवस्था आएको स्थानीय बताउँछन्।
पहिरोले ढोरपाटन-८ मा पनि उस्तै क्षति गरेको छ। उक्त वडामा रहेको ८४ किलोवाट क्षमताको भुजेखोला पाँचौं जलविद्युत आयोजनाको पावर हाउस बगाएको छ। स्थानीयको घर, पुललगायत बगाएको वडा अध्यक्ष नन्दे सुनारले बताए।
घटनास्थलको निरीक्षण गर्न गृहमन्त्री रामबहादुर थापा ‘बादल’ बिहीबार दिउँसो हेलिकप्टरमार्फत् जाँदै थिए। मौसम खराब भएकाले घटनास्थलमा हेलिकप्टर बस्न सकेन। उनी त्यतिकै फर्किए। ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली भने हेलिकप्टरबाटै घटनास्थल पुगेर फर्किएका छन्।
मेयर नेपालीसँगै हेलिकप्टरमा घटनास्थल पुगेर फर्किएका बाग्लुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले पहिरोमा परेर ४१ जना हराएको बताए। जसमा ३ जना सकुशल फेला परेका छन्। उनीहरू पहिरो आउँदा भागेर बेपत्ता भएका थिए। अहिले भने सम्पर्कमा आइसकेका छन्।
बेपत्ता भएका बाँकी ३८ जना मध्ये १३ जनाको शव फेला परेका छन्। अझै २५ जना बेपत्ता भएको सिडिओ न्यौपानेले बताए। उनीहरूको खोजी कार्य स्थानीय, प्रहरी र सेनाले गरिरहेका छन्।
पहिरोले ३१ वटा घर पूर्ण रूपमा क्षति भएको छ। घर क्षति हुने संख्या अझै बढ्न सक्ने सिडिओ न्यौपानेले बताए। अहिलेसम्म संकलन गरिएको विवरण अनुसार, पहिरोले ढोरपाटन नगरपालिकाको वडा नं. ६, ७, ८ र ९ मा ठूलो क्षति गरेको छ।
पहिरोले ३ वटा लघुजलविद्युत आयोजना, विद्यालय, स्वास्थ्य चौकी, निजी सवारी साधन पनि बगाएको छ।
पहिरो पीडितका लागि रेडक्रस बाग्लुङमार्फत त्रिपाल र केही राहत सामग्री लगिएको छ। गृहमन्त्री बादल चढेको हेलिकप्टरमा पहिरो पीडितलाई तत्काल राहत दिन त्रिपाल लगायतका सामाग्री रहे पनि घटनास्थल पुर्याउन नसकेको सिडिओ न्यौपानेले बताए।
‘भोलि पनि उहाँ आउनुहुन्छ भन्ने अनौपचारिक सूचना पाएका छौं,' उनले सेतोपाटीलाई भने, ‘पहिरोले घरबारविहीन बनेकालाई तत्काल राहत पुर्याउन हामीले पनि सक्दो प्रयास गरेकै छौं ।’